आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हात पारेको दिन चन्द्रागिरि न्यु डायमण्ड भलिबल क्लबले विजयी सुरुवात गरेको छ।
एपीएफले लगातार दोस्रो हार व्यहोरेको दिन आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
सोमबार भएको खेलमा महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्डले विभागीय नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पाखा लगाएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पहिलो सेट १७–२५ ले गुमाएको न्यु डायमण्डले त्यसपछिका सेटमा लगातार जित निकालेको हो।
न्यु डायमण्डले २५–१७, १५–२५, २५–२३ ले लगातार जित निकाल्दै पहिलो जित निकालेको हो।
आजै भएको महिलातर्फको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ। आर्मी भने पहिलो खेलमा नै पराजित हुन पुग्यो।
तीन भारतीय सम्मलित एभरेष्टले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो।
च्याम्पियनसिपमा पुरुषतर्फ आजमा पनि ४ खेल हुनेछन्। लिगमा आज टिप टप हेल्प नेपाल क्लब र ढोरपाटन क्लब, सुदूरपश्चिम प्रदेश र एपिएफ, गण्डकी र न्युटन तथा मणीमुकुन्द र आर्मी भिड्नेछन्।
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोली सहभागी छन्। प्रतियोगितामा दुबैतर्फका विजेताले समान ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares

प्रतिक्रिया