आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो ।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ। अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिररहेका छन्।
विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फर्किएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाउका थिए। कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाए। अहिलेसम्मको खेलमा नेपालको ओपनिङ कमजोर देखिएको छ। नेपाल ओमानसितको खेलमा उक्त कमजोरी सुधार्ने प्रयासमा छ।
अमेरिकासितको खेलमा नेपालले ४९ रनको स्कोर छँदा पाँच विकेट गुमाएको थियो। कुशल मल्ल र विनोद भण्डारीले नै खेलमा जितको आधार बनाएका थिए। कुशलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने विश्व कीर्तिमानसमेत बनाए। विनोदले ५९ रन बनाए।
यसअघि पहिलो खेलमा ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो। नेपालले ओमानलाई दबाबमा राख्नका लागि २५० रनको स्कोर बनाउनुपर्ने छ। अनि मात्र आजको खेलमा ओमानलाई हराउन सकिने छ।
नेपाल ब्याटिङका लागि ओपनर सुवास र ज्ञानेन्द्रका साथै पारस खड्का, विनोद भण्डारी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको भर पर्नेछ। ६ वटै खेलाडीले नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याउन सके ओमानलाई हराउन त्यति असहज हुनेछैन। यसका साथै नेपालको बलियो पक्ष बलिङ नै हो।
ओमानसितको पहिलो खेलमा अन्तिम १० ओभरमा फितलो बलिङका कारण नेपाल हारेको थियो। अमेरिकासितको खेलमा भने नेपालले उत्कृष्ट बलिङ ग¥यो। अमेरिकाले स्कोर २९ रन छँदा पाँच विकेट गुमाएको थियो। करन केसीले चार विकेट लिए। यस्तै सुशन भारीले तीन, सन्दीप लामिछाने दुई तथा कुशल मल्लले एक विकेट लिए।
ओमानसितको आजको खेलमा पनि अमेरिकासितको शनिबारको खेलमा जस्तै उत्कृष्ट बलिङ गर्न सके नेपालका लागि जित टाढा हुनेछैन। ओमानले हालसम्म आठ खेल खेलेको छ। उसले छ खेलमा जित तथा दुई खेलमा हारका साथ १२ अंक जोडेको छ। ओमान लिगको दोस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका रहेको छ। नेपालले भने हालसम्म खेलेको दुई खेलमा एकमा हार तथा एकमा जित निकाल्दै दुई अंक जोडेको छ। नेपाल लिगको छैटौँ स्थानमा छ।
आईसीसी विश्वकप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो। लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन्। उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो। लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन्। बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन्। उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ। विश्वकप छनोटमा सुपरलिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। रासस

प्रतिक्रिया