ad ad

खेल


नेपाल ९ वर्षपछि टी-२० विश्वकपमा छनोट

नेपाल ९ वर्षपछि टी-२० विश्वकपमा छनोट

फोटो : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक १७, २०८० शुक्रबार १४:६, काठमाडौँ

घरेलु मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ।

यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनाेट भएको हो।

यो सँगै नेपालले ९ वर्षपछि विश्वकपमा छनोट भएको हो। नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो।

यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी र विनोद भण्डारी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन्।

आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई सहजै पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो। एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

नेपालका ओपनर आशिफ शेखको अर्धशतकमा नेपालले विजयी लक्ष्य सहजै भेट्टाएको हो।

युएईले दिएको १ सय ३५ रनको मध्यम लक्ष्य नेपालले १७ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।

ओपनर आशिफ ६३ र कप्तान रोहित पौडेल ३५ रनमा नटआउट रहे। आशिफले ५१ बलमा ६ चौका र २ छक्का हाने। २० बलको सामना गरेका रोहितले ३ चौका र १ छक्का हाने।
नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो ओभरको अन्तिम बलमा ११ रन बनाउँदा गुमाएको थियो। ८ बलमा २ चौका हानेका कुशल निलंश केशवानीको बलमा मुहम्मद वसिमको बलमा क्याच आउट भए।

गुल्सन झा २२ रनमा बोल्ड आउट भए। २४ बलमा ३ चौका हानेका गुल्सन बसिल हमिदको बलमा बोल्ड भए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल मल्ल एक्लैले तिन विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो। सोमपाल कामी र रोहित पौडेलको नाममा एक विकेट रह्यो।
कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे।

युएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने।
आयन अफ्जल खान १ रनमा क्याच आउट भए।

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे।

तिव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै युएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए।

सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए।

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे। सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए।

नेपालले अब विश्वकप छनोट एसिया छनोट फाइनलको उपाधिका लागि ओमानसँग खेल्नेछ।

आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .