कारोबार


चितवनमा धान रोप्नेदेखि काट्नेसम्म मधेश र भारतका श्रमिक

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म मधेश र भारतका श्रमिक

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १४:५, चितवन

यतिबेला चितवनका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ। जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन्। 

धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ।  यहाँ धान रोप्ने र काट्ने याममा मधेस प्रदेश र भारतका श्रमिक आउने गरेका छन् । उनीहरु सामूहिक रुपमा आएर यहाँ धान काट्ने, झार्ने र घरको भकारीसम्म पु¥याइदिने काम गर्छन्। 
    

काम गर्ने युवा विदेश पलायन र स्थानीय कामदार महँगा भएका कारण बाहिरी जिल्लाबाट कामदार ल्याउनुपरेको किसानहरुको भनाई छ। 

पश्चिम चितवनको चनौलीका किसान रामकृष्ण अधिकारीले प्रत्येक वर्ष तराई मधेशबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताए। 

‘यहाँ भएका कामदारले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसञ्चो हुन्छ। यस वर्ष पनि धान रोप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएका छौँ,’ उनले भने, ‘गाउँमा अधिकांश ४०÷५० कटेका मान्छेमात्र छन्। काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडी मुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएनन्।’

रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो याममा धान काट्न चितवन जाने गरेका छन्। उनी यसरी नियमित आउन थालेको दस वर्ष भयो । धान काट्नमात्र होइन, धान रोप्न र गोड्नसमेत पटेल चितवन आउने गरेका छन्। 

रौतहटका दिनेश पटेलले पनि भाडामा जग्गा लिएर भरतपुर महानगरपालिका–६ स्थित गीतानगरमा पाँच बिघा क्षेत्रफलमा धान खेती गरेका छन्। धान भित्र्याउन यहाँका कामदार खोज्दा नपाएपछि रौतहत र बारा जिल्लाबाट कामदार ल्याएर धान भित्र्याएको उनले बताए।   

चितवनका कामदार लगाएर खेती गर्दा लागत पनि नउठ्ने किसानको भनाई छ। चितवनमा मधेसबाट काम खोज्न आउने कामदारको सङ्ख्या बढी छ।

रौतहटका हरिस यादव प्रत्येक वर्ष यो याममा धान काट्न चितवन आएका छन्। उनी नियमित आउन थालेको चार वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्नसमेत उनी यता आउँछन्। 

बाराबाट १५ जनाको टोलीसहित आएका झापट चौधरीले चितवनमा धान काट्न थालेको एक दशक बढी भयो । परिवार पाल्नका लागि खेतमा आली लगाउनेदेखि काट्नसम्म आउने गरेको उनको भनाई छ। 

चितवनको अधिकांश जनशक्ति विदेश छ । एक दशक अघिसम्म अर्मपर्व चल्दथ्यो । अहिले हराउँदै गएकाकारण बाहिरी जिल्लाबाट कामदार ल्याएर काम गराउनु परेको भरतपुर–१५ शरणपुरका शिव उप्रेती बताए। 

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत सुरुचि त्रिपाठी जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म तराई मूलका श्रमिकमा भर पर्नुपर्ने अवस्था रहेको बताउछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .