कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारदेखि नवौँ चरणका खेल सुरु हुँदै छ। नवौ चरणको दोस्रो खेलमा स्टार खेलाडीले भरिएको मच्छिन्द्र र थ्री स्टारबीचको खेल हुँदै छ।
दुई बलिया टोलीबीचको नतिजाले लिगको उपाधि समीकरणसमेत प्रभावित बन्नेछ। मच्छिन्द्रले यो खेलमा जित हात पारे शीर्षस्थानमा पुनरागमन गर्नेछ। पराजित भएको अवस्थामा भने उपाधि यात्रामा धक्का लाग्नेछ। बराबरीले पनि उपाधि सम्भावना झिनो बन्ने छ।
अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन्।
यता, औसतको टोली बनाएर लिग खेल्दै औसतकै प्रदर्शन गरिरहेको थ्री स्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै उपाधि यात्रामा अघि बढ्न चाहन्छ।
मच्छिन्द्रलाई पराजित गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ। मच्छिन्द्रले उपाधि दौडलाई थप मजबुत बनाउने वा थ्री स्टारले शीर्ष टोलीलाई दबाब दिने अर्थमा रोमाञ्चक हुनेछ। भारतीय लालरमाभिया, सञ्जोक राई र निशान खड्काको आगमनसँगै थ्री स्टार केही बलियो देखिएको छ। बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, रुपेश केसी र प्रिसोको साथ पनि थ्री स्टारलाई हुनेछ।
लिगको आठौँ चरणको खेल सकिँदा मच्छिन्द्र ८ खेलबाट ५ जित, १ हार र २ बराबरीसँगै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। थ्री स्टार ४ जित, दुई हार र दुई बराबरीसँगै १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
सोमबारकै पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।
एपीएफलाई भने रेलिगेसन क्षेत्रबाट माथि उठ्ने लागि मौका हुनेछ। पुलिस एपीएफलाई पराजित गर्दै शीर्ष टोलीलाई दबाब दिने लक्ष्यमा हुनेछ।
पुलिसलाई लिगमा चार गोल गरिसकेका सुमन लामा, अजित भण्डारी, रवि पासवान, प्रवेश कुँवर, भोलानाथ सिलवाल र सौजन राईजस्ता खेलाडीको साथ छ। यता, एपीएफ पुलिसलाई पराजित गर्दै रेलिगेसन जोनभन्दा माथि उठ्ने लक्ष्यमा हुनेछ। एपीएफसँग लिगमा पाँच गोल गरिसकेका आशीष लामा, नवीन लामा र रमेश दंगालको साथ छ।
Shares

प्रतिक्रिया