ad ad

खेल


एसिया कप खेलेको क्रिकेट टोलीले एसियाडमा दिलाउला पदक?

टी-२० विश्वकप तयारीलाई राम्रो बनाउने योजना

लक्ष्मी जि.सी
भदौ ३१ , काठमाडौँ

एसिया कपमा विश्व क्रिकेटका बादशाह पाकिस्तान र भारतसँग खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली अबको केही दिनमै एसियन गेम्समा सहभागी हुँदैछ।

लामो समय एक दिवसीय खेलमा अभ्यस्त नेपाली टोलीले छोटो समयमै टी–२० फर्म्याटमा एसियन गेम्स खेल्नेछ। 

नेपालले असोज १० गते मंगोलियासँग खेल्दै एसियन गेम्सको सुरुवात गर्नेछ। १४ गते मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गर्नसके भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये टिमले ‘ए’ टोलीसँग खेल्नेछ। 

एसियाडका लागि लामो समय टोली बाहिर रहेका तीन खेलाडीलाई समेट्दै मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। 

एसियाडपछि नेपाली टोलीले घरेलु मैदानमा टी–२० विश्वकप छनोट खेल्नेछ। एसियाडलाई नेपाली टोलीले विश्वकप छनोटको तयारी मानेको छ।

एसियाड खेल्ने टोलीमा विकेटकिपिङ ब्याट्सम्यान विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन्। 

नेपाली टोली ओडीआईमा व्यस्त हुँदा नेपाल क्रिकेट संघ (क्यान) ले विनोद भण्डारी, विवेक यादव, कमलसिंह ऐरी, सागर ढकाल र लोकेश बमलाई एक महिने अभ्यासका लागि भारत पठाएको थियो। 

भारतमा गरेको प्रशिक्षणले एसियाडका लागि सजिलो भएको भण्डारी सुनाउँछन्। ‘यहाँ बसेको भए वर्षाका कारण केही गर्न मिल्ने थिएन।

तर दिल्लीमा हरेक दिन खेल्ने अवसर थियो, त्यसल सजिलो भयो’, विनोदले भने, ‘अभ्यासमा हामीसँग कोच पनि हुनुहुन्थ्यो। टी २० को दिनमा दुई खेल खेलेका थियौँ। भारतको अभ्यासले धेरै सहज भएको छ।’ 

लामो समय टोली बाहिर रहेका विनोदले खेल्दा आफूलाई जहिले पनि सहज लाग्ने बताए। ‘टोलीको आवश्यकताअनुसार छनोट हुने हो, खाली समय पनि अभ्यास गरिरहेको थिएँ।’

विनोद सन् २०२२ को जुलाईमा स्कटल्यान्ड भ्रमणपछि टोली बाहिर छन्। उनले यसअघि पनि एसियाड खेलिसकेका छन्। 

‘कोरियामा एक खेलका कारण हामी पछि परेका थियौँ। त्यस्तो गाह्रो हुन्छ जस्तो लाग्दैन’, उनले भने, ‘एसियाडको पहिलो चरण हाम्रा लागि गाह्रो हुँदैन। तर दोस्रो चरण केही कठिन हुन सक्छ।’ 

तीव्र गतिका बलर अविनाश बोहोरा टोलीमा नहुँदा पनि नियमित अभ्यास गरिरहेका हुन्थे। प्रशिक्षक मोन्टी देसाईले अविनाशलाई टोलीमा राखेरै सिकाइरहेका हुन्थ्ये। त्यसैले घरेलु मैदानमा ओडीआई खेल हुँदा नै प्रशिक्षकको सल्लाहबाट आफूलाई टी २० का लागि तयार पारिहेको अविनाश सुनाउँछन्। 

टी–२० मा अभ्यस्त अविनाश टोलीमा फर्किँदा खुसी छन्। खेल नहुँदा पनि उनलाई ओडीआईको अभ्यासका बेला प्रशिक्षक देसाईले एक्लो महसुस नहोस् भनेर प्रशिक्षणमा बोलाउने गर्थे। 

प्रशिक्षक देसाईले अविनाशलाई योर्करीमा अभ्यास गर्न दिएको सुझावलाई उनले माने। एसियाडमा पदक जित्न पाए खुसी हुने उनले बताए। विश्कप छनोटअघि एसियाडले आफूहरुलाई धेरै सहयोग पुग्ने विश्वास अविनाशको छ। 

लामो समय वान डेमा अभ्यास गरिरहेको नेपाली टोली छोटो समयमै टी–२० फर्म्याटमा फर्केको हो। टोली वान डेमा अभ्यास गरिरहँदा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा ग्लोबल टी–२० खेलेका थिए।

टोलीमा सबै व्यवसायिक खेलाडी भएकाले छोटो फर्म्याटमा फर्कन अफ्ट्यारो नहुने लेगस्पिनर लामिछाने बताउँछन्। एसिया कपको प्रर्दशनले पनि सहयोग पुग्ने उनले बताए। अहिले टोलीका खेलाडी पहिला टोलीमा नभए पनि सबै जना एकअर्कासँग घुलमिल भइरहेकाले त्यति गाह्रो नहुने उनी बताउँछन्। 

‘एसियन गेम्स हाम्रा लागि ठूलो अवसर हो, विश्वकप छनोटका लागि राम्रो तयारी पनि हो, समूह चरणमा सजिलो टोली भए पनि सेमिफाइनल र फाइनल पुग्यौँ भने हाम्रा लागि ठूलो अवसर हुनेछ’, उनले भने, ‘हामीले कसरी पदक जित्न सक्छौँ, त्यसमा ध्यान दिएका छौँ। देशलाई दिने भनेको पदक नै हो। त्यसैले यसमा सबैले सक्दो प्रयास गर्नेछौँ।’ 

नेपालले गत अगष्टमा केन्यासँग ५ खेलको सिरिजपछि टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन। घरेलु क्रिकेटमा खेलाडीले टी–२० नखेलेको लामो समय भएको छ। 

जनवरीमा विवादास्पद नेपाल टी–२० लिग भएयता नेपाली खेलाडीले खेल्न पाएका छैनन्। चोटका कारण लामो समय टोलीबाहिर रहेका अलराउन्डर विवेककुमार यादव पनि टोलीमा फर्किएका छन्। घरेलु टोलीबाट उत्कृष्ट प्रर्दशन गरेका विवेक एसियन गेम्सलाई अवसरका रुपमा लिन्छन्।

पछिल्लो १ वर्ष संर्घषमा बिताएका विवेक चोटका कारण टोलीबाट बाहिरिने र भित्रिने भइरहेको छ। प्रशिक्षकले आफूलाई टी–२० का लागि भनेका कारण त्यसकै तयारीमा व्यस्त रहेकाले केही सहज हुने उनले सुनाए। विश्वकप छनोटअघि एसियाडले मनोबल बढाउन सहयोग पुग्ने भएकाले राम्रो प्रर्दशन गर्न सक्नेमा उनी आशावादी छन्। 

एसियन गेम्समा क्रिकेटका खेलहरु असोज १० देखि २० गतेसम्म हुनेछ। सन् २०१० मा चीनमा नै भएको एसियन गेम्समा नेपाली टोलीले पहिलो पटक सहभागिता जनाएको थियो। 

एसियन गेम्सपछि नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि एसिया छनोट खेल्नेछ। एसियाली छनोट अक्टोबर ३० देखि ९ नोभेम्बरसम्म कीर्तिपुर र मूलपानी मैदानमा हुदैछ। 

एसियाली खेलकुदपछि नेपालले घरेलु मैदानमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ। फाइनलमा स्थान बनाउन सके नेपालले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछ। 

त्यसैले विश्वकप छनोटअघि चीनमा हुन लागेको एसियाडलाई नेपाली टोलीले तयारीका रुपमा लिएर उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। 

भिडिओ/फोटो : सरोज नेपाल

भदौ ३१, २०८० आइतबार १५:२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .