ad ad

खेल


बढुवा प्रक्रिया रोकेपछि आन्दोलनमा खेलकुदका कर्मचारी

बढुवा प्रक्रिया रोकेपछि आन्दोलनमा खेलकुदका कर्मचारी

नेपालखबर
साउन २६, २०८० शुक्रबार १९:४५, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा रहेका विभिन्न खेलका प्रशिक्षकसहित उपत्यकाको तीन जिल्लाका कर्मचारीले आफूहरूको बढुवा प्रक्रिया रोकिएको भन्दै शुक्रवारदेखि आन्दोलन शुरु गरेका छन्।

तीन जिल्लाका कर्मचारीहरूले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार कोणसभा आयोजना गर्दै आन्दोलन सुरु गरेका हुन्। देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिव आठ सयभन्दा बढी कर्मचारीहरू नेपाली खेलकुदमा कार्यरत छन्।

तीमध्ये करिब चार सय जनाको पछिल्ला समय बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। यद्यपि, बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्‍याइरहेको राखेपका कर्मचारीको आरोप छ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीवार पत्रकार सम्मेलन गर्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। सोही आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार राखेपका तीन जिल्लामा रहेका प्राविधिक र प्रशासनीक कर्मचारीले कोणसभा आयोजना गर्दै पहिलो चरणको आन्दोलन गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको नेतृत्वमा शुक्रबारदेखि आन्दोलन सुरु भएको हो। राखेपमा करिव तीन दशकसम्म कर्मचारीको बढुवा हुन सकेको छैन। केही खेलका प्रशिक्षकले पनि दुई दशकदेखि एउटै पदमा रहेर काम गरिरहेका छन्।

यद्यपि, राखेपको नेतृत्वमा पछिल्ला समय उनीहरूको बढुवा प्रक्रिया अगाडि बढीरहेको थियो। 

जसअन्तर्गत तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको कर्मचारीले आरोप लगाउँदै आएका छन्। कर्मचारीहरूले आफूहरूको माग सुनुवाई नभएमा थप कडा आन्दोलन गर्दै जाने चेतावनी दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ति समितिले करिब चार सय कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाएका थिए।

तर, समितिमा रहेका पाँच सदस्यमध्ये मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया रोकेको राखेपका कर्मचारीको आरोप छ। शुक्रवार भएको कोणसभा कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट र तेक्वान्दोका प्रशिक्षक नोर्बु लामाले १९ वर्षसम्म पनि सहायक प्रशिक्षक भएर काम गर्नु पीडादायी स्थिति रहेको बताएका थिए।

राखेपका प्रचारप्रसार शाखाका प्रमुख खुसराज दाहालले दुई दशकभन्दा बढी समय एउटै पदमा काम गरिरहेका कर्मचारीको हुन लागेको बढुवा प्रक्रियामा अवरोध पुर्‍याउने कामले सम्पूर्ण कर्मचारी निरुत्साहित भइरहेको धारणा राखे।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत तीन दिनसम्म कालो पट्टी बाँधेर काम गर्ने कर्मचारी संघले जनाएको छ। आफूहरूको माग सुनुवाई नभए प्रशिक्षकहरू प्रशिक्षण कार्यक्रम नै नगर्ने र प्रशासनिक कर्मचारीले कलम बन्द गर्ने लगायत कठोर आन्दोलन गर्ने चेतावनी कर्मचारी संघले दिएको छ।

यसो भएमा १९ औं एशियाली खेलकुद खेल्ने खेलाडीको तयारीमा पनि अवरोध हुन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .