एएफसी कपको छनोट चरणमा मछिन्द्र फुटबल क्लबले ८ खेलाडीलाई टोलीमा आवद्ध गरेको छ। मछिन्द्र एफसीले राष्ट्रिय टोलीका ५ युवा खेलाडीसहित ८ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको हो।
मछिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै क्लबमा एएफसी कपका लागि नयाँ खेलाडी अनुबन्ध गरेको जानकारी दिएको हो।
मच्छिन्द्रले एएफसी कपको छनोटका लागि लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा अनुबन्ध गरेको छ।
यस्तै रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा र रोहित सुब्बालाई पनि टोलीमा राखेको छ।
यो बाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मछिन्द्रमा अनुबन्ध भएका छन्।
उनीहरूलाई एएफसी कप छनोटसम्मका लागि टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव तथा टिम व्यवस्थापक अनिल श्रेष्ठले बताए।
मछिन्द्रमा कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठ, र प्रदिप भण्डारी छन्। फरवार्ड विमल घर्ती मगर, अफिज ओलावाले, सौरभ लिम्बु, अभिषेक गुरुङ र विजय भुजेल टोलीमा नियमीत छन्।
यस्तै मिडफिल्डर आन्द्रेस निया, दिपेश घले र उत्सव राई, डिफेन्डरमा ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक टोलीमा छन्।
एएफसी कपका लागि मछिन्द्रले वरिष्ठ प्रशिक्षकमा किशोर केसीलाई नै निरन्तरता दिएको छ। ए डिभिजन लिगमा उपविजेता बनेसँगै केसी र मछिन्द्रको सम्झौता सकिएको थियो।
एएफसी कपका लागि मछिन्द्रले माउन्ट एभरेस्ट स्पोट्र्सलाई टिकेटिङ पार्टनर बनाएको छ। खेलका लागि साधारणतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट मुल्य तोकिएको छ।
मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा भुटानको पारो एफसीसँग खेल्दैछ।
आगामी साउन २३ गते हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। सो खेल मछिन्द्रले जितेमा साउन ३१ गते भारतको मोहन बगान सुपर जायन्टसँग खेल्नेछ।
दुई खेल जिते मछिन्द्रले २२ अगष्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ।
लिगमा दोस्रो स्थान बनाएको मछिन्द्रले चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएका काण दोस्रो स्थानमा रहँदै एएफसी कप खेल्न पाएको हो।
मछिन्द्रको टोलीः
गोलरक्षकः विशाल श्रेष्ठ, प्रदिप भण्डारी
डिफेन्डरः सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डरः आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्डः विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, रेजिन सुब्बा र विजय भुजेल।
Shares

प्रतिक्रिया