स्पेनिस डिफेन्डर जोर्डी अल्बा इन्टर मियामिमा आबद्ध भएका छन्। पूर्व सहकर्मी लियोनल मेस्सी र सजिर्यो बुस्केट्स आबद्ध भएको कही दिनपछि अल्बाले मियामीसँग सम्झौता गरेका हुन्।
दुई सिजनअघिसम्म मेस्सी, बुस्केट्स र अल्बा बार्सिलोनाबाट लामो समय सँगै खेलेका थिए। मेस्सी बार्सिलोना छाड्दै पीएसजीमा आबद्ध भएसँगै उनीहरु छुटेका थिए। मेस्सीले पीएसजीमा दुई सिजन बिताए।
दुई सिजनपछि उनीहरु पुनः अमेरिकन क्लबबाट सँगै खेल्ने भएका हुन्। यसअघि बार्सिलोनामा हुँदा उनीहरुले सँगै च्याम्पियन्स लिग र ला लिगा जितेका थिए।
मेस्सी र बुस्केट्सले दुई सिजनका लागि मियामीसँग सम्झौता गरेका छन्। ३४ वर्षीय अल्बाले २०२४ सिजन भरका लागि सम्झौता गरेका छन्। तर क्लबले २०२५ को सिजनसम्म सम्झौता लम्ब्याउने विकल्प खुल्ला राखेको छ।
अल्बासँगको सम्झौतापछि इन्टर मियामीका खेलकुद निर्देशक क्रिस हेन्डरसनले भने, ‘हामीलाई थाहा छ कि उनले इन्टर मियामीलाई यस सिजन र त्यसपछि पनि क्लबको उदेश्य पूरा गर्न मद्दत गर्नेछन्।’
अल्बाले बार्सिलोनामा ६ ला लिगा र २०१५ मा च्याम्पियन्स लिग जित्दा मद्दत गरे। स्पेनको राष्ट्रिय टोलीबाट युरो २०१२ र २०२३ मा नेसन्स लिग जिते।
अल्बाले ११ वर्षपछि बार्सिलो छाडेका हुन्। २०१२ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट बार्सिलोनामा आबद्ध भएका अल्बाको बार्सिलोनामा अर्को सिजनसम्मको सम्झौता थियो। तर उनीहरुले सहमतीमा सम्झौताको अन्त्ये गरे।
बार्सिलोनाका लागि ४५९ र स्पेनका लागि ९३ खेल खेलेका अल्बा आगामी मंगलबार एट्लान्टा युनाइटेडसँगको खेलमा उपलब्ध हुनेछन्। तर आइतबार नै क्लवले सार्वजनिक गरेका मेस्सी र बुस्केट्स भने शनिबार बिहान हुने खेलमा हुनेछन्। उनीहरुले यसअघिबाट नै मियामिमा प्रशिक्षण थालिसकेका छन्।
बार्सिलोनाकै पूर्व उरुग्वेका स्ट्राइकर लुइस सुवारेजको नाम पनि मियामीसँग जोडिएको छ। ब्राजिलियन क्लबमा आबद्ध ३६ वर्षीय सुवारेजलाई पनि भित्र्याउने प्रयास गरिरहेको चर्चा छ। तर हालसम्म उक्त सम्झौता टुंगिसकेको छैन।
लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएपछि सुवारेजले मेस्सी, बुस्केट्स र अल्बासँग २०१४ देखि २०२० सम्म ६ सिजन नोउ क्याम्पमा बिताएका थिए।
त्यसपछि स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा आबद्ध भए पनि त्यहाँ लामो समय रहेनन्। ब्राजिलियन क्लब पुगेका उनी पुनः पूर्व सहकर्मीहरुसँगै फर्किने सम्भावना देखिएको छ।
Shares
प्रतिक्रिया