ad ad

खेल


थाइल्यान्डविरुद्ध नेपालको सानदार जित

एक खेलअगावै सेमिफाइनलमा
थाइल्यान्डविरुद्ध नेपालको सानदार जित

नेपालखबर
असार १३, २०८० बुधबार ११:२४, काठमाडौँ

मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डविरुद्ध २ सय २५ रनको सानदार जित दर्ता गरेको छ। 

नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो। 

थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालको घातक बलिङसामु थाइल्यान्डका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

थाइल्यान्डलाई कम स्कोरमा रोक्न सन्तोष यादवले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ५ विकेट झारे।

अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिए। अविशेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिए। 

त्यसअघि मलेसियाको बांगीमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो। 

पहिलो विकेटका लागि ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १ सय १० रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको थियो। 

सुर्यांशु ५५ बलमा ३ चौका मद्दतमा ४० रनमा जित सदाको बलमा बोल्ड आउट भए। ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका निरज कुमार यादव ७४ रन बनाउँदा क्याच आउट भए। इसान बानेजीको बलमा जित सदाको हातबाट निरज क्याच आउट भए। 

चौथो विकेटका लागि नरेन भट्ट र सन्तोष यादवले ७१ रनको साझेदारी गरे। नरेन ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे। सन्तोष ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा बोल्ड आउट भए। 

कप्तान अभिषेक तिवारी १४, आशिष लुहार १३, दिपुकुमार ६ र अशोक धामी ५ रनमा आउट भए।

थाइल्यान्डका निटपाखन मनुवुन, फनुवत देसुङनोएन र इशान बानेर्जीले समान २ विकेट लिए। जित सादा र पियावत नोद्रीले समान एक/एक विकेट लिए।

थाइल्यान्डविरुद्ध जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।

नेपाल रहेको समूह एमा थाइल्यान्ड र मलेसिया छन्। समूह एबाट नेपाल र मलेसिया अन्तिम चारमा पुगेका छन्। 

समूहको पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ। 

समूह बीमा सिंगापुर, हङकङ, इन्डोनेसिया र मालदिभ्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .