ad ad

खेल


खेल्न नथाल्दै अमेरिकी फुटबलमा देखिन थाल्यो मेस्सीको प्रभाव

टिकट मूल्यमा हजार प्रतिशत वृद्धि
खेल्न नथाल्दै अमेरिकी फुटबलमा देखिन थाल्यो मेस्सीको प्रभाव

नेपालखबर
जेठ ३१, २०८० बुधबार १७:१५,

लियोनल मेस्सीले इन्टर मायामीबाट खेल्ने सम्झौतालाई अन्तिम रुप दिनै बाँकी छ। तर, मेजर लिग सकर (एमएलएस) मा उनको प्रभाव देखिन थालिसकेको छ।

यसअघि पनि अमेरिकाको फुटबलले ठुल्ठूला नामहरुलाई स्वागत गरेकै थियो। डेविड बेक्ह्याम, ज्लाटन इब्राहिमोभिक, वायन रुनी र पेलेसम्मले अमेरिकामा खेलिसकेका छन्।

तथापि, अमेरिकामा यी सबैको भन्दा ठूलो प्रभाव मेस्सीले पार्ने सम्भावना ज्यादा छ।

फिलाडेल्फिया युनियनका प्रमुख प्रशिक्षक जिम कर्टिन भन्छन्, ‘यो एमएलएसको इतिहासमा सायद सबैभन्दा ठूलो दिन हो।’

मेस्सी आउने भएपछि सामाजिक सञ्जालमा फलोअर्सको संख्या ह्वात्तै बढ्दा इन्टर मायामीलाई फाइदा भइसकेको छ। त्यसपछि लिगभरिकै खेलहरुको टिकट मूल्य बढिरहेको छ। किनभने उनीहरु मेस्सीको खेल हेर्ने प्रतीक्षामा छन्।

यद्यपि, टिकटको बढेको मूल्य सधैँ नटिक्न सक्छ। 

‘एमएलएसमा मेस्सीको पहिलो मैले हेरेको थिएँ’ भन्न चाहने मानिसहरुका कारण आपूर्तिभन्दा ज्यादा माग हुनेछ। तर, मेस्सीले प्रत्येक साता प्रत्येक मैदानमा त खेल्ने छैनन्। त्यसैले यसले ठूलो असर पार्ने छैन,’ द प्राइस अफ फुटबल पुस्तकका लेखक किरन मग्वायर भन्छन्, ‘मलाई लाग्छ, सुरुमा टिकटको मूल्य ह्वात्तै बढ्छ। त्यसपछि विस्तारै सामान्य अवस्थामै फर्किन्छ। खासगरी मेस्सीले ठूलो परिवर्तन ल्याउन सकेनन् भने।’

मेस्सी अमेरिका आउँदैछन् भन्ने खबर फैलिएको केही मिनेटमै इन्टर मायामीका खेलहरुको टिकट मूल्य १००० प्रतिशतभन्दा ज्यादा बढ्यो।

त्यसअघि मायामीको २१ जुनमा हुने क्रुज अजुलविरुद्धको पहिलो लिग कप खेल (सम्भवतः मेस्सीको पहिलो खेल पनि बन्न सक्छ) को सबैभन्दा सस्तो मूल्य २९ डलर थियो।

तर, मेस्सी आउने खबर फैलिएको २४ घण्टामा सबैभन्दा सस्तो मूल्य १०३४ प्रतिशत बढेर ३२९ डलर पुगेको थियो।

सबैभन्दा उच्च मूल्यवृद्धि भने न्युयोर्क रेड बुल्सविरुद्ध मायामीको खेलमा भयो। अगस्टमा हुने सो खेलका लागि टिकट मूल्यमा १२३६ प्रतिशतको वृद्धि भएको छ।

यसबाट एमएलएसका अन्य टोलीलाई पनि ठूलो फाइदा भएको छ। लस एन्जलस एफसीको मैदानमा हुने मायामीसँगको खेल सिजनकै सबैभन्दा धेरै टिकट बिक्री हुने खेल बन्दैछ।

मायामीको विश्वभरको पहुँच पनि ह्वात्तै बढेको छ। मेस्सी आउने खबर बाहिरिनुअघि क्लबको इन्स्टाग्राममा करिब १० लाख फलोअर्स थिए। तर, १३ जुनसम्ममा त्यो ८० लाख पुग्न लागेको छ। जुन अन्य क्लबभन्दा ज्यादा हो।

‘यसले प्रायोजकहरुसँग सम्झौता गर्न सजिलो हुन्छ। अब तपाईं भन्न सक्नुहुन्छ– १० लाखको सट्टा अब तपाईंको उत्पादन ८० लाखले हेर्नेछन्,’ मग्वायर भन्छन्, ‘यसले दुई तरिकाले फाइदा गर्छ। एक, मायामीले व्यावसायिक साझेदारहरुसँग ज्यादा रकम लिन सक्छ। दुई, त्यस्ता साझेदारहरुको संख्या बढ्छ किनकि सबै आफ्नो उत्पादन मेस्सीसँग जोडियोस् भन्ने चाहन्छन्।’

मायामीमा मेस्सीको प्रभावको एउटा हिस्सा एमएलएसमा र फुटबलमा अमेरिकीहरुको चासो बढाउनु पनि हो। १९७५ मा न्युयोर्क कसमसमा पेलेले खेलेदेखि नै ठूला स्टारहरुको यही भूमिका रहँदै आएको छ।

तर, मेस्सीले २००७ मा बेक्ह्याम अमेरिका आउँदाजस्तो सुरुवात गर्नुपर्ने छैन। किनभने त्यसयता यो खेल अमेरिकामा निकै हुर्किसकेको छ। तथापि, अन्य खेलको तुलनामा फुटबल निकै पछाडि छ। 

एक रिपोर्टअनुसार २०२२ मा अमेरिकाका प्रमुख चार लिग एनएफएल, एनबीए, एनएचएल र एमएलबीभन्दा एमएलएस लोकप्रियतामा पछाडि छ।

अमेरिकामा मेस्सीको लक्ष्य यो खेलको वृद्धिलाई जारी राख्नु भएको मग्वायर बताउँछन्। तर, फुटबल अमेरिकाको खेलकुदको केन्द्रमा कहिल्यै नपुग्ने उनको भनाइ छ।

‘एनएफएल र एनबीए अमेरिकाको संस्कृति बनिसकेका छन्। फुटबलले तीसँग प्रतिस्पर्धा गर्न कहिल्यै सक्दैन,’ उनी भन्छन्।

मेस्सीलाई मायामीले प्रस्ताव गरेको तलब साउदी अरबका क्लबहरुले गरेको प्रस्तावभन्दा निकै कम हो। तथापि, सम्झौताअनुसार मेस्सीले आधारभूत तलबभन्दा ज्यादा रकम अन्य अवसरबाट कमाउन सक्छन्।

मेस्सीको सम्झौतामा क्लबको केही हिस्साको स्वामित्व, एप्पल टीभीको स्ट्रिमिङ सेवाका नयाँ सब्स्क्राइबरले तिरेको रकमको एउटा हिस्सा पनि उनले पाउने उल्लेख छ।

यस्तो सम्झौताको बाबजुद मेस्सीका लागि साउदीको प्रस्ताव नै निकै लाभदायक हुने मग्वायरको भनाइ छ।

‘त्यहाँ उनलाई नौ अंकको तलब प्रस्ताव गरिएको थियो। अमेरिकामा मेस्सीले कसैगरी दसौँ करोड डलर कमाउने छैनन्।’

सम्झौतामा जे उल्लेख भए पनि मेस्सीले सान्दर्भिक रहन मैदानमा राम्रो प्रदर्शन गर्नुपर्नेछ। यसै पनि मायामी एमएलएसको इस्टर्न कन्फ्रेन्सको अंक तालिकामा पुछारमा छ।

तर, यदि कुनै एक खेलाडी मायामी र एमएलएसकै भाग्य बदल्न सक्छ भने त्यो खेलाडी मेस्सी नै हुन्। सीएनएनबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .