ad ad

खेल


भारतीय लिग खेलेर उत्साहित हुँदै फर्किए महिला फुटबलर

भारतीय लिग खेलेर उत्साहित हुँदै फर्किए महिला फुटबलर

लक्ष्मी जि.सी
जेठ १२, २०८० शुक्रबार १८:२६, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीका स्टारहरु भारतीय लिग सकेर उत्साहित हुँदै स्वदेश फर्केका छन्। यसपटकको भारतीय लिगमा ६ नेपाली खेलाडीले ५ वटा अलग क्लबबाट खेल्ने अवसर पाएका थिए।

राष्ट्रिय टोलीकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सेथु, फरवार्ड सावित्रा भण्डारी साम्बाले गोकुलम केरेला एफसी, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटेले किकस्टार्ट एफसी, मिफडफिल्डर अनिता बस्नेले लर्डस् एफसी र फरवार्ड रेखा पौडेलले स्पोर्टस उडिसाबाट खेलेका थिए।

साम्बा र अनिताबाहेकका लागि भारतीय लिगमा पहिलो पटक खेल्ने अवसर पाए। साम्बा र अनिता चार वर्षअघि नै सेथुबाट लिग च्याम्पियन बेनेका थिए।

गोकुलमबाट खेल्नै साम्बा यसपटक पनि च्याम्पियन बनेर फर्केकी छिन्। गोकुलमले उपाधिमा ह्याट्रिक गर्दा साम्बा दुई सिजन टोलीको सर्वाधिक गोलकर्ता रहिन्। गोकुलमबाट पहिलो सिजन १६ गोल गरेकी साम्बाले यसपटक २९ गोल गरिन्। दुवै पटक उनी सर्वाधिक गोलकर्ता बनिन् ।

चोटका कारण साम्बाले अघिल्लो सिजन गुमाइन्। यसपटक सम्बाको टोलीले फाइनलमा सरु र रेनुका आबद्ध टोली किकस्टार्टलाई फाइनलमा ५–० ले हराएको थियो। जसमा साम्बाले पहिलो गोल गरेकी थिइन्।

साम्बाले यसअघि भन्दा दबाबका बीच आफूले खेलेका बताइन्। मेरो लागि यो पटक गोल गर्ने भन्दा पनि पहिलो प्राथमिकता टोलीको पहिलो रोजाईमा कसरी पर्ने भन्ने थियो।

स्वदेश फर्केपछि उनले भनिन्, ‘विदेशी खेलाडीको ३ जनाको मात्र कोटा थियो। अन्य देशका खेलाडी पनि उत्कृष्ट भएकाले पहिला त पहिलो रोजाईमा पर्न संघर्ष गर्नुपर्थ्यो।’

चोटमुक्त भएर फर्केपछि पहिलो उपाधि चुम्दा भने निकै खुसी लागेको उनले सुनाइन्।

नेपाली लिग दुई चरणमा हुने भनिएपनि एक चरणमा नै सकियो। पहिलो चरणकै अंकका आधारमा एपिएफलाई च्याम्पियन घोषणा गरिएको थियो। त्यसै कारण उनले चोटका पूनरागमनपछि भारतीय लिग उपाधिलाई उनले आफ्नो पहिलो उपाधि मानेकी छिन्।

उनको अनुभवमा यसपटक भारतीय लिग पहिला भन्दा प्रतिस्पर्धात्मक थियो। उनले आफ्नो टोलीको रक्षापंक्ति कमजोर भएका कारण हरेक खेलमा दबाबमा खेल्नु परेको सुनाइन्।
पहिलो सहभागितामा टोलीलाई फाइनल पुर्याउन सकेकोमा सरु र रेनुका खुसी छन्।

‘हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गर्यौं। टोली पनि फाइनल पुग्यो खुसी लाग्यो’ सरुले भनिन्, ‘तर उपाधि जित्न नसक्दा केही दुःख भने लाग्यो।’

एन्जिला आबद्ध सेथुलाई हराउँदै किकस्टार्ट फाइनल पुगेको थियो। लिगमा रेखा आबद्ध टोली क्वार्टरफाइनल पुग्दा अनिता सम्मिलित टोली भने समूह चरणबाट बाहिरिएको थियो।

नेपाली खेलाडी प्रदर्शनका कारण भारतीय लिगको चर्चाको केन्द्रमा रहेको रेनुकाले आफ्नो अनुभव सुनाइन्।

‘हाम्रा खेलाडीले लिगमा उच्च प्रदर्शन गरे। जसले गर्दा हाम्रो निकै चर्चा भयो’ उनले भनिन्, ‘यसले गर्दा भविष्यमा अन्य खेलाडीका लागि पनि मौका मिल्न सक्छ।’

भारतीय लिग र नेपालको लिगको तुलना गर्न नमिल्ने रेनुकाको बुझाई छ। उनले महिला खेलाडीले लिगमा मौका पाउँदा राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरिन्।

भिडिओ :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .