ad ad

खेल


विश्व टेनिस महासंघको वरीयतामा अटाएका अभिषेक

ग्रान्डस्लामको लक्ष्यसहित जाँदै छन् स्पेन

लक्ष्मी जि.सी
बैशाख ३० , काठमाडौँ

पोखराका अभिषेक बास्तोला ८ वर्षको उमेरमा र्याकेट समातेर टेनिस कोर्टमा रमाउँथे।

परिवारका बुबा, काका र ठूलो बुबाको हात समात्दै टेनिस कोर्टमा पुग्ने उनलाई कतिबेला यसको नशा लाग्यो आफैँलाई थाहा छैन। 

उनै अभिषेक अहिले विदेशमा गएर प्रशिक्षण दिइरहेका छन्, आफैँ पनि खेलिरहेका छन्। अभिषेक आफैँ प्रशिक्षण गर्छन्, युट्युब हेर्छन्, अन्य प्रशिक्षकलाई भिडिओ पठाउँछन् र सिक्छन्। 

सानै उमेरमा टेनिसमा बसेको लत र अनि निरन्तरको मिहिनेतले अहिले उनी विश्व टेनिस महासंघको विश्व वरीयतामा पहिलोपटक अटाएका छन्। 

टेनिसको विश्व वरीयतामा स्थान बनाउने अभिषेक पहिलो नेपाली खेलाडी हुन्। परिवारको सहयोग र आफ्नो परिश्रमकै उपज यो सबै सम्भव भएको उनको भनाइ छ। 

‘परिवारले कहिल्यै मलाई रोकेन, त्यही कारण पनि मलाई यसमा लागिरहन मन लाग्यो’, उनले नेपालखबरसँग भने।  

त्यसो त उनी सानोमा फुटबल, क्रिकेट र एथलेटिक्स खेल्थे। तर अन्य खेलभन्दा टेनिसमा नै आफूलाई अगाडि बढाउन चाहे। आफैँले छात्रवृत्तिमा ‘अप्लाई’ गरेर थाइल्यान्ड पढ्न गए। 

त्यसअघि उनी १४/१५ वर्षको उमेरमै नेपाल च्याम्पियन बनिसकेका थिए। 

थाइल्याण्ड पुगेपछि उनी खेल्दै आफ्नो पढाइलाई निरन्तरता दिए। अनि अमेरिका लागे। अमेरिकाको क्यालिफोर्नियाको सेन्ट मेरिज कलेजबाट स्नातक गरे। पढाइसँगै प्रतियोगिताहरु खेल्न थाले। 

अमेरिकामा कलेजस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो एनसीएएको डिभिजन १ मा सहभागी भई माथिल्लोस्तरका टेनिस प्रतियोगिताका लागि छनोट पनि भए। यसलाई उनी आफ्नो ठूलो उपलब्धि मान्छन्।

सन् २०१४ मा कोरियाको इन्चोनमा भएको १७औँ एसियन गेम्समा सहभागिता जनाए। चीनको नान्जिङमा दोस्रो युथ गेम्स खेले अनि इन्डोनेसियामा आयोजित १८औँ एसियन गेम्समा नेपालका लागि खेले। 

उनको यो खेल मोहलाई परिवारले पूरा साथ दियो। उनको सपनालाई अभिषेकका बुबा अनुज बास्तोला र आमाले उडान दिए। 

नेपालखबरको कार्यालयमा आउँदा अभिषेकसँगै उनका बुबा अनुज पनि साथमै थिए। अनुज छोरालाई सिकाउनुभन्दा पनि आफैँले सिक्दै जानेमा ढुक्क छन्। 

अभिषेकको अबको लक्ष्य ओलम्पिक र ग्रान्ड स्लाम खेल्ने हो। उनले भने, ‘टेनिसमा मेरो अन्तिम लक्ष्य भनेको ग्रान्ड स्लाम खेल्ने हो। त्योअघि वरीयता सुधार गर्ने हो।’ 

त्यसका लागि स्पेनमा पुगेर प्रशिक्षण गर्ने उनको योजना छ। 

‘ओलम्पिकमा वाइल्ड कार्ड पाउन योग्य हुने गरेर वरीयता सुधार गर्ने हो। अनि खेल्ने हो’, उनले प्रस्ट्याए।

बैशाख २१, २०८० बिहिबार १४:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .