खेल


मनमोहन मेमोरियल क्रिकेट : आर्मीको शानदार सुरुवात, एपीएफ पराजित

मनमोहन मेमोरियल क्रिकेट : आर्मीको शानदार सुरुवात, एपीएफ पराजित

नेपालखबर
पुस २०, २०७६ आइतबार ११:१८,

कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै सय रन लिएपछि त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

समूह एको पहिलो खेलमा विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपीएफलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले शानदार सुरुवात गरेको हो।

आर्मीले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको एपीएफ ३९ दशमलव ३ ओभरमा १ सय ७३ रन जोड्दा अलआउट भयो। पृथु बाँस्कोटाले जोडेको ३६ रन नै एपीएफका लागि सर्वाधिक रह्यो। शंकर रानाले ३२ रन जोड्दा सन्दिप जोरा र सुमित महर्जनले समान २३ रन जोडे।

एपीएफलाई कम स्कोरमा रोक्न शाहव आलमले सर्वाधिक ४ विकेट लिए। कुशल मल्लले २ तथा विक्रम शोव, सुशान भारी र भीम सार्कीले समान १ विकेट लिए।

त्यसअघि सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी निर्धारित ४६ ओभरमा २ सय ८१ रनमा अल आउट भयो। खराब मौसमको कारण खेलमा ४ ओभर घटाइएको थियो।

आर्मीका बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्लले १ सय ११ रनको उत्कृष्ट शतकीय पारी खेले। प्रदीप ऐरीले ३४औं ओभरको अन्तिम बलमा बोल्ड गर्नुअघि कुशलले ६३ बलमा ५ चौका र १३ छक्का प्रहार गरे।
कुशलले ३२औं ओभरको तेस्रो बलमा पृथु बास्कोटलाई छक्का प्रहार गर्दै ५३ बलमा शतक पूरा गरेका थिए।

ओपनर अनिल मण्डल ४१ रनमा पवेलियन फर्के। तेस्रो विकेटका लागि अनिल र कुशलले ८५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए।

एपीएफका कप्तान वसन्त रेग्मीले १० ओभरमा १ मेडनसहित ५४ रन खर्चेर ४ विकेट लिए। अमर सिंह राउटेलाले २, अभिनास बोहरा, प्रदीप ऐरी र सूर्य तामाङ १–१ विकेट लिए।

प्रतियोगितामा सोमबार एपीएफ र मनमोहन क्रिकेट क्लव इनरुवाबीच खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad