खेल


मंगलबार बीबीसीको १ सयौं खेल, साहुखल खेल्नेछन् १ सयौं गोलका लागि

मंगलबार बीबीसीको १ सयौं खेल, साहुखल खेल्नेछन् १ सयौं गोलका लागि

लक्ष्मी जि.सी
पुस १४, २०७६ सोमबार १२:३०,

काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिगको चौथो चरणअन्तर्गत मंगलबार हुने हिमालयन शेर्पाविरुद्ध ब्रिगेड ब्वाईज क्लब (बीबीसी) को खेल विशेष महत्वको हुँदैछ।

बीबीसीले मंगलबार यति हिमालयन शेर्पाविरुद्ध उत्रदै घरेलु फुटबलको माथिल्लो स्तरको लिगको १ सयौं खेल पुरा गर्न लागेको हुँदा सो खेलको बीबीसीका लागि विशेष महत्व भएको हो।

डि डिभिजनबाट घरेलु फुटबलको यात्रा सुरु गरेको बीबीसीले सी, बीबाट बढुवा हुँदै पहिलो पटक २०६१ बाट ए डिभिजन लिग खेल्न थालेको हो। जारी लिगमा शीर्ष ६ भित्र रहेर लिगको अन्त्य गर्ने टोलीको लक्ष्य छ।

शीर्ष लिगमा पुगेर पनि दुई पटक रेलिगसेनमा परेको बीबीसीले ६ संस्करणमा १ सय खेलको कोशेढुंगा पुरा गर्न लागेको हो। जारी लिगमा ३ खेल खेलेको बीबीसीले १ मा जित र २ मा हार बेहोरेको छ। ३ अंकका साथ सो टोली अंक तालिकाको दशौं स्थानमा छ। शेर्पा २ अंकसहित ११औं स्थानमा छ।

तर क्लबले मंगलबार विशेष खेल खेल्दैछ भन्ने कुरा टोलीका कतिपय जिम्मेवार व्यक्तिहरुलाई नै थाहा नभएको पनि पाइयो। ‘हामी मंगलबार लिगमा १ सयौं खेल खेल्दैछौं भन्ने थाहा नै थिएन,’ टोलीका व्यवस्थापक अरविन्द गुरुङले नेपालखबरसँग भने, “हामी त खेल्न जाने हो, थाहा हुँदैन कति वटा खेल खेल्यौ भनेर। अहिले सम्मको यात्रालाई हेर्ने हो भने धेरै उपलब्धी प्राप्त गरेका छौ।”

उनले क्लबको उतार चढावपूर्ण यात्राका बारेमा भने ‘रेलिगेसनमा पर्दै फेरि उक्लदै यहाँसम्म आइपुगेका छौ। हाम्रो लक्ष्य ए डिभिजनमा पुग्ने थियो। अब यो स्थानमा टिक्नुपर्छ भनेर लागिरहेका छौं।’

एक सयौं खेलका बारेमा थाहा पाएपछि व्यवस्थापक गुरुङले भने, “सयौं खेल जित्ने योजनामा मैदानमा उत्रने छौं। हेराँै के हुन्छ। पहिले क्लब चलाउन धेरै सजिलो थियो। अहिले धेरै नै गाह्रो छ। व्यवसायिक रुपमा पनि धेरै खर्च गर्नुपर्ने अवस्था छ। पहिले जस्तो सहज छैन।”

डेढ दशकअघि बीबीसीले ए डिभिजन लिगको यात्रा सुरु गर्दाका युवा खेलाडी अनिल गुरुङ अहिले परिपक्वताका साथ पुनः सोही क्लबमा फर्केका छन्। क्लबले उनलाई कप्तानको पनि जिम्मेवारी दिएको छ।

हिमालयन शेर्पाविरुद्धको खेलमा आफुहरु ३ अंक जोड्ने लक्ष्य रहेको कप्तान अनिल सुनाउँछन्। “१५ वर्षअघि मैलै बीबीसीबाट ए डिभिजन लिग खेल्न सुरु गरेको हुँ,’ अनिल सम्झन्छन्, ‘लामो समयपछि पुनः यही क्लबमा आएको छु। हामी जितको लागि नै मैदान उत्रनेछौँ।”

बीबीसीको ए डिभिजन लिग यात्रा
२०११ सालबाट सुरु भएको लिगमा थुप्रै क्लबको नाम जोडिन्छ। अहिले कति अस्तित्वमा छन्। कति छैनन्। अहिले ३ विभागीयसहित १४ टोली लिगमा प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमध्ये बीबीसी एक हो। बीबीसीले पहिलो पटक २०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको हो।

२०६२ र ६८ मा रेलिगेसनमा परेको बिबिसी पुनः ए डिभिजनमा फर्केर सय खेलको इतिहास रच्ने क्रममा छ। सुरुवातको लिगमा १२ खेल खेलेको ब्रिगेडले २०६२ मा २८ खेल खेलेको थियो।

लिगमा ब्रिगेडको खेल संख्या
२०६१– १२ खेल
२०६२– २८ खेल
२०६३– २६ खेल
२०६८– १७ खेल
२०७५– १३ खेल
२०७६– हालसम्म ३ खेल 

सन्तोषका लागि पनि बन्नसक्छ विशेष दिन

च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलका लागि पनि जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा मंगलबारको खेल विशेष बन्नसक्छ।

प्रभु बैंक जावलाखेविरुद्ध उनले गोल गर्न सके भने त्यो उनको लिगमा एक सयौं गोल हुनेछ। राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङसहित जिवेश पाण्डेले ५० गोलको आँकडा पुरा गरेपनि मंगलबार गोल गर्न सकेको खण्डमा सन्तोष लिगमा सय गोल पुरा गर्ने पहिलो नेपाली खेलाडी बन्नेछन्।

Saahukhala111

सुरुवाती २ खेलमा ३ गोल गरेका सन्तोष यसअघिको एनआरटीविरुद्धको खेलमा भने खाता खोल्न असफल रहे।

उनले सय गोल पुरा गर्न नसकेका मात्र होइनन्, उनको टोली एनआरटीसँग २–१ ले पराजित समेत भएको थियो।

२०६० देखि लिग खेल्न थालेका सन्तोषले घरेलु लिगमा विभिन्न ४ क्लबबाट खेलेका छन्। सन्तोषले लिग खेल्न थालेपछि लिग हुन लागेको यो १०औं पटक हो। बीचमा एन्फाको आन्तरिक विवादका कारण पटक पटक लिग रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .