खेल


एन्फाको प्याकेजले पनि तानेन रंगशालामा दर्शक

एन्फाको प्याकेजले पनि तानेन रंगशालामा दर्शक

लक्ष्मी जि.सी
पुस १३, २०७६ आइतबार ७:१७,

‘ठूलो संख्यामा दर्शकका बीचमा फुटबल खेल्नुको बेग्लै मजा हुन्छ,’ च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल भन्छन् । ‘दर्शक हुँदा अझै बढी मेहनत गर्नुपर्छ भन्ने लाग्छ।’

तर, राजधानीमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा तीन चरण (२१ खेल) सम्पन्न भइसक्दा पनि दर्शकको उपस्थिति सन्तोषजनक छैन।

बाँकी दश चरणमा पनि दर्शकको यहि निरन्तरता रह्यो भने दर्शकको उपस्थितिका आधारमा लिगलाई सफल मान्न सकिने छैन।

तीन चरणको खेल सकिदासम्म लिग सञ्चालन भइरहेको दशरथ रगंशाला होस वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान दुवैमा दर्शकको उत्साहजनक उपस्थिति छैन।
लिगमा दर्शक सख्या कम भएपछि एन्फाले मंगलबार पहिलो पटक दर्शक आकर्षित गर्ने विभिन्न प्याकेज सार्वजनिक गरेको थियो। तर, प्याकेजले पनि दर्शकलाई मैदानसम्म तान्न सकेको छैन।

तेस्रो चरणको अन्तिम खेल शनिबार रुस्लान थ्रीस्टार क्लब र शसस्त्र प्रहरीको एपीएफबीच थियो। थ्री स्टारले १–० ले जितेको त्यो खेलमा दर्शक संख्या त्यसअघिका खेलमा भन्दा केही बढी देखियो। शनिबार झन्डै नौं सय दर्शक दशरथ रगंशाला पुगे। दर्शकको त्यो संख्या २१ खेलमा सबैभन्दा बढी हो।

हालै सम्पन्न साग प्रतिस्पर्धामा १७ हजार दर्शक क्षमता भएको दशरथ रंगशाला खचाखच थियो। केहि वर्ष पहिलेसम्म लिग खेलहरुमा पनि रंगशाला भरिभराऊ हुनेगरेको पुराना खेलाडीहरु सम्झिन्छन्।

LeagueFootball111

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने दर्शक आउन नसक्नुमा लिगको अनिश्चिता र खेल स्तरलाई कारण मान्छन। ‘यो वर्ष मात्र होइन। लिगमा केहि वर्षदेखि नै दर्शक घट्दै गएको देखिन्छ,’ उनले भने। ‘लिग कुन वर्ष हुन्छ कुन वर्ष हुँदैन भन्ने टुंगो छैन। त्यसले पनि असर गरेको छ। अर्को कारण लिगमा खेलको स्तर खस्केको कारणले गर्दा पनि दर्शक आकर्षित नभएको हुनसक्छ।’

तर, लिग आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरले भने लिगको प्रचारप्रसार लक्षित समूहमा पुग्न नसक्दा दर्शक कम भएको बताउँछन्। ‘लिगको प्रचारप्रसार कम भएकै हो। त्यो हामीले मान्नुपर्छ। धेरै दर्शक आउन् भन्ने हामी पनि चाहन्छौ,’ उनले भने। ‘दर्शक संख्याबाट भने सन्तुष्ट नै हुनुपर्ने अवस्था छ। अझै दर्शक बढाउन सुविधाहरु पनि थप्नुपर्छ। त्यो विषयमा पनि हामीले सोचिरहेका छौँ। आउने दिनमा आवश्यकता अनुसार लिगको प्रचारप्रसारमा हामी लाग्नेछौं।’

यस्तो छ दर्शकका लागि एन्फाको विशेष प्याकेज
मंसिर २८ गतेदेखि सुरु भएको लिगमा दर्शकको उपस्थिती कम भएपछि एन्फाले पुरस्कार दिने घोषणा गरेको थियो। एन्फाले दर्शकलाई हरेक खेलपछि र प्रत्येक चरण सकिएपछि पुरस्कार दिने बताएको थियो।

एन्फाले प्रत्येक चरणको समाप्तीमा २ सय रुपैयाँको टिकट खरिद गर्ने २० जनालाई आकर्षक पुरस्कार दिने निर्णय गरेको थियो। त्यस्तै ५ सय रुपैयाँको टिकट किन्ने ५ जना दर्शकलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गर्ने जनाएको थियो।

एन्फाले तेस्रोदेखि १३औं राउण्डसम्म कूल २ सय ७५ जना दर्शकलाई पुरस्कार दिने घोषणा गरेको छ। यस्तै लिग सकिएपछि २ सय रुपैयाँ र ५ सय रुपैयाँको टिकट खरिद गर्ने १–१ जनालाई राष्ट्रिय फुटबल टोलीसँग विदेश भ्रमण गर्ने अवसर समेत दिनेछ।

त्यस्तै, २ सय र ५ सय रुपैयाँको टिकट किन्ने १५ जनालाई विश्वकप छनोट अन्तर्गतको नेपाल र अष्ट्रेलियाबीच दशरथ रंगशालामा हुने विश्वकप छनोट खेलका लागि भिआइपी प्यारापिटको टिकट दिइनेछ।

२ सय र ५ सय रुपैयाँको टिकट किन्ने ५०–५० जनालाई सोही खेलको साधारण प्यारापिटको टिकट दिइनेछ। साथै नेपाल र चाइनिज ताइपेईबीचको विश्वकप छनोट खेलका लागि पनि २ सय र ५ सय रुपैयाँको टिकट किन्ने ५०–५० जनालाई साधारण प्यारापिटको टिकट उपलब्ध गराउनेछ।

दर्शक नहुँदा खेलाडीमा पनि छैन त्यो जोश
विगतमा जस्तो लिगका दर्शक यस पटकको लिगमा अहिले सम्मको खेलमा देखिएका छैनन। दर्शक नहुँदा आयोजकसँगै मैदानमा खट्ने खेलाडीलाई पनि मानसिक रुपमा दबाब परेको देखिन्छ।

लिग भन्ने बित्तिकै खेलाडीमा जुन उत्साह हुन्थ्यो त्यो जारी लिगमा नरहेको खेलाडीले पनि स्वीकार गरेका छन। राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन पनि यो भनाईसँग सहमत छन्। ‘दर्शक हुनु र नहुनुले खेलमा पक्कै पनि धेरै फरक पर्छ। धेरै दर्शक हुँदा आफुलाई नै हेरिरहे जस्तो लाग्छ र खेल बिगार्नु हुन्न भन्ने हेक्का राखेर खेल्नुपर्छ,’ उनले भने, ‘राम्रो खेल्नुपर्छ भन्ने हुन्छ, तर दर्शक नहुँदा खेल्ने जोश नै नआउने रहेछ।’

विराजको भनाईमा राष्ट्रिय टोली एवं त्रिभुवन आर्मी क्लवका गोलरक्षक विकेश कुथु पनि सहमत छन। ‘लिगमा दर्शक नै छैनन। दर्शक ल्याउन एन्फाले अझै काम गर्नुपर्ने हो। सागको कारण पनि दर्शक कम भएको हुन सक्छ,’ उनले भने, ‘एन्फाले ल्याएको प्याकेजको राम्रोसँग प्रचारप्रसार भएजस्तो लाग्दैन। दर्शकको अगाडी खेल्दा छुट्टै जोश आउँछ।’

एनआरटीका प्रशिक्षक शाक्यले भने फुटबल हेर्ने संस्कारको विकास नगर्दा सम्म दर्शक बढ्ने सम्भावना कम रहेको मान्छन्। त्यसका लागि क्लबहरुले पनि समर्थकहरु बढाउन पहल गर्नुपर्ने उनको भनाई छ। ‘दर्शक ल्याउने भूमिका एन्फाको मात्र होइन,’ उनले थपे, ‘फुटबलमा धेरै पक्ष हुन्छन्। सबै क्लबले आआफ्नो फ्यान बेस बढाउने हो भने पक्कै पनि दर्शक संख्या बढ्छ। खेल स्तरीय र प्रतिस्पर्धात्मक हुँदा लिगमा हुने रोमाञ्चकताले दर्शकको आकर्षण बढिहाल्छ।’

दर्शक बढाउनका लागि प्याकेज घोषणा मात्रै उपाय हुननसक्ने केहि दिनयताका देखिएको छ। कतिपयले साधारणतर्फ २ सय भिआइपीतर्फ ५ सय रुपैयाँको टिकट दर महंगो भएको र त्यसमा पुनरावलोकन गर्नुपर्ने समेत बताएका छन्।

याे पनि ः 

लिगले तान्न सकेन दर्शक, एन्फाले ल्यायो आकर्षक पुरस्कारहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .