स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट केही दिनअघि मात्रै प्रिमियर क्लब चेल्सीमा पुगेका जोआओ फेलिक्सले बिहीबार राति डेब्यु गरेका छन्। तर उनको डेब्यु निराशाजनक भएको छ।
प्रिमियर लिगमा गएराति फुलह्यामविरुद्ध चेल्सीले खराब नतिजा निकालेको छ। पाहुना टोली चेल्सी फुलह्यामसँग २–१ ले पराजित भयो। खेलको २५ औं मिनेटमा पछि परेको चेल्सीका लागि ४७ औं मिनेटमा कौलिबालीले बराबरी गरेका थिए।
तर ५८ औं मिनेटमा फेलिक्सले सिधै रेडकार्ड पाउँदा चेल्सी १० खेलाडीमा सीमित भयो। फुलह्यामका डिफेन्डर केनी टेटेलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रेडकार्ड दिएका थिए।
त्यसको १५ मिनेटपछि पुनः पछि परेको चेल्सीले पुर्नरागमन गर्न सकेन। कार्लोस भिनिसियसले ७३ औं मिनेटमा हेडमार्फत घरेलुटोलीका लागि विजयी गोल गर्दै महत्वपुर्ण ३ अंक दिलाए।
एथ्लेटिकोबाट ६ महिनाका लागि ऋणमा लनडन पुगेका फेलिक्सले अब केही खेलमा प्रतिबन्धमा समेत पर्नेछन्। चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउण्डमा ६ महिनाका लागि अनुबन्ध गरेको हो।
जितसँगै फुलह्याम ३१ अंकसहित छैठौं स्थानमा पुग्दा २५ अंक जोडेको चेल्सी १० औं स्थानमा छ। पछिल्ला ५ मध्य एक खेलमा मात्रै विजयी भएको चेल्सी लगातार ३ खेलमा जितविहिन छ। फुलह्यामको यो लगातार चौथो जित हो।
Shares
प्रतिक्रिया