ad ad

खेल


विवादै विवादको भूमरीमा नेपाल टी २० लिग क्रिकेट

खेलाडीले पारिश्रमिक पाएनन्, म्याच फिक्सिङ प्रस्ताव
विवादै विवादको भूमरीमा नेपाल टी २० लिग क्रिकेट

कीर्तिपुरमा जारी नेपाल टी २० लिग। तस्बिर : सरोज बैजु/नेपालखबर


लक्ष्मी जि.सी
पुस १९, २०७९ मंगलबार १७:३६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्को आयोजनामा कीर्तिपुरमा जारी नेपाल टी २० लिग कुन समय रोकिन्छ भन्ने अनुमान गर्न गाह्रो छ। 

यसअघि घरेलु मैदानमा तीन निजी फ्रेन्चाइज लिग आयोजना हुँदै आएका थिए। तर क्यानले आफैँले आयोजना गर्नेगरि यस पटक नेपाल टी २० लिगको घोषणा गरेको थियो। 

हुने नहुने अनिश्चितताबीचमा सुरु लिगमा आधा खेलहरु सकिँदासम्म फेरि अर्को विवाद आएको छ। 

खेलाडीले पारिश्रमिक नपाएपछि खेल नै नखेल्ने बताएका थिए। यद्यपि क्यान, खेलाडी र सेभेन थ्री स्पोर्टस्का केही पदाधिकारीको छलफलपछि मंगलबार वा बुधबारसम्मको पारिश्रमिक उपलब्ध गराउने आश्वासन दिइएको छ। त्यसपछि खेलाडीहरु खेल्न तयार भएका हुन्। 

लिग सुरु हुनुअघि नै खेलाडीले ४० प्रतिशत र लिग सुरु भएपछि ६० प्रतिशत पारिश्रमिक दिने सहमति भएको थियो। 

तर पारिश्रमिक नपाएपछि लिगमा अन्योल देखिएको छ। सहभागी ६ टोलीमध्ये विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स्, काठमाडौं नाइट्स, फारवेस्ट युनाइटेड र लुम्बिनीका खेलाडीले अहिलेसम्म पारिश्रमिक पाएका छैनन्। पोखराका खेलाडीले ५० प्रतिशत पाइसकेको बताएका छन्। 

मगंलबारका लागि तय विराटनगर र काठमाडौंबीचको खेलमा खेलाडीले टसको पेपर नै लिन नमानेपछि खेल निर्धारित समयभन्दा २ घण्टा ढिला सुरु भयो।

खेलपछि विराटनगरका कप्तान रोहित पौडेलले भने, ‘विदेशी र नेपाली सबै खेलाडीको पारिश्रमिकको कुरा थियो, योबारे टिम मालिकसँगभन्दा क्यानसँग भन भन्नुभयो, क्यानसँग भन्दा बुधबारसम्मको सबै पारिश्रमिक उपलब्ध गराउने बताएकाले खेल्न तयार भएका हौँ।’ 

लिगमा म्याच फिक्सिङको आरोप पनि लागिरहेको छ। यस्तोमा आफुहरुलाई पनि खेल्न गाह्रो भइरहेको रोहितले सुनाए। खेलमा ढिला हुँदा समस्या आउने उनले बताए।  

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितलाई विराटनगरले फ्रेन्चाइज लिगमा उपकप्तान बनाएको थियो। रोहितको स्थानमा वेस्टइन्डिजका आन्द्रे म्याकार्थीलाई  विराटनगरले कप्तान बनाएको थियो। 

टोलीका मार्की खेलाडीसमेत रहेका रोहितलाई उपकप्तानको जिम्मेवारी दिँदा नै म्याच फिक्सिङका लागि भन्ने आंशका भएको थियो। 

३५ वर्षीय आन्द्रले वेस्टइन्डिजबाट दुई एकदिवसीय र एक टी २० आई खेल खेलेका छन्। 

रोहित टोलीमा मार्की खेलाडीसमेत रहेका रोहितलाई उपकप्तानको जिम्मेवारी दिँदा दुःख लागे पनि टिम मालिक र व्यवस्थापनको कुरा भएकाले यसमा केही गर्न नमिल्ने बताए। त्यो आफ्नो मातहतको कुरा नभएकाले केही नलागेको उनले सुनाए। 

आज वा भोलिसम्मका पारिश्रमिक आउने आश्वासनमा आफूहरु खेल्न तयार भएको रोहितले बतए। पारिश्रमिक आउने विश्वासमा आफूहरु रहेको उनको भनाइ थियो। 

टोलीका मालिकसँग आफूहरु नियमित सम्पर्क नहुँदा पनि यस्तो समस्या आएको रोहितले बताए। उनले भने, ‘टिम मालिकले पहिले नै कम्युनिकेशन गरेको भए यस्तो हुने थिएन होला।’ 

यसअघि हुँदै आएको र अहिलेको लिगमा केही फरक रहेको रोहितले सुनाए। ‘यस्तोमा बोर्ड नै बढी जिम्मेवार हुनुपर्ने थियो, किनकी टिम मालिकले धेरै रेस्पोन्स दिएको छैन। यसमा क्यानले ध्यान दिनुपर्छ।’ 

अहिले आफुहरु टिम मालिकसँग सम्पर्कमा रहेकाले उनीहरुले पारिश्रमिक दिनेमा ढुक्क रहेको रोहितले बताए। 

विराटनगरका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘वाचाअनुसार नहुँदा यसको जिम्मेवार कसले लिन्छ भन्नेमा अन्योल थियो, यस्तोमा जिम्मेवार व्यक्ति सम्पर्कमा आइदिए हुन्थ्यो भन्ने चाहन्थ्यौँ। यसमा चिन्तित थियौँ, अहिले धेरै टोलीको समस्या यस्तै छ।’ 

अहिले खेलाडीलाई मात्रै अगाडि राख्नुभन्दा पनि सबैले कर्तव्य पूरा गर्नुपर्ने सुनाए। ‘पूर्वसहमतिअनुसार हाम्रो चित्त बुझाइदिनु भनेको हो। उहाँहरुले आज रातिसम्मको हुन्छ भन्नुभएको छ। अहिले के हुन्छ अब भन्दा पनि राम्रो होस् भन्ने चाहना हो’, उनले भने।  

विराटनगरका कुनै खेलाडीले पनि पैसा पाएका छैनन्। आफुहरुले पनि टिम मालिकलाई सम्झिरहेको सुनाए। 

टी २० लिगमा सुरुवातदेखि नै समस्या देखिएको हो। अहिले टिम मालिक र खेलाडीबीच राम्रो सम्बन्ध नहुँदा समस्या थपिएको छ। यसअघिका लिगमा समस्या भए पनि उनीहरुले ढिला गरेर वाचा पूरा गर्ने गरेका थिए। 

नेपाल टी २० लिगमा यतिधेरै समस्या आउँदा पनि क्यानका पदाधिकारी सम्पर्कमा आउन चाँहदैनन्। मंगलबारको विवादबारे पनि क्यानले आधिकारिक धारण सार्वजनिक गर्न जरुरी ठानेको छैन। क्यानका पदाधिकारीलाई सम्पर्क गर्दा केही पदाधिकारी बोल्नै चाहँदैनन्। 

अनौपचारिक कुराकानीमा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सेभेन थ्री स्पोर्टस्का जतिन आलुवालिया आफूहरुसँगको सम्पर्कमै रहेको बताएका थिए। 

मंगलबार बिहान उत्पन्न परिस्थिति पारिश्रमिककै कारण आएको सुनाउँदै उनले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का जतिन आफूसँग सम्पर्कमा नै रहेको सुनाए। 

‘हिजो साँझ सम्पर्क भएन। त्यसपछि हामीलाई शंका भयो। तर अहिले ऊ नियमित सम्पर्कमा छ, कुराकानी भइरहेको छ’, उनले भने, ‘ऊ पैसा लिन भारत गएको रहेछ। ४,५ घण्टा सम्पर्कमा नआउँदा समस्या आएको हो।’

फिक्सिङको प्रस्ताव
विराटनगरका कप्तान मल्लले आफ्नो टोलीका एक खेलाडीलाई म्याच फिक्सिङका लागि प्रस्ताव आएको सुनाए। ‘एप्रोज र फिक्सिङ फरक पाटो हो। एप्रोच आउँदैमा फिक्सिङ नै हुदैन’, उनले भने, ‘यसबारे हामीले एन्टी करप्सन युनिटलाई खबर गरिसकेका छौँ। उहाँहरुले यसबारे काम सुरु गरिसक्नुभएको छ।’ 

यसअघि मंगलबार बिहान मात्रै लिगका अफिसियल कमेन्टेटर सचिन तिमिल्सिनाले पनि सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै लिगमा नरहने घोषणा गरेका थिए। 

यसअघि नै खेलमा मिलेमतो भएको भन्दै केही खेलाडी र प्रशिक्षकले लिग छाडेका थिए। लिगका अफिसियल कमेन्टेटर सचिन तिमल्सिनाले पनि नेपाल टी २० लिगमा फिक्सिङ र पारिश्रमिक नदिई आयोजक गायव भएको बताएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजकमाथि नै प्रश्न उठाएका छन्। कतिपय विदेशी खेलाडीले खेल भावनाविपरीत प्रदर्शन गरेको बताउँदै लिगमा संलग्न नहुने पनि बताएका छन्। 

तिमल्सिनाले जनकपुरका कप्तान ट्रेभन ग्रिफिथ, पोखराका आमिर हम्जा लगायत खेलाडीहरुको उदाहरण दिँदै उक्त घटना सामान्य नभएको बताएका हुन्। 

उनले लिगका अन्य क्षणबारे आफूलाई थाहा भएको बताउँदै एन्टी करप्सन युनिटलाई जानकारी दिएकोसमेत उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .