पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा कीर्तिमानी मूल्यमा आबद्ध भएका छन्। विश्वकपअघि नै प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेका उनी लामो समयको हल्लाको बीच साउदी क्लबमा सन् २०२५ सम्मको सम्झौतामा जोडिएका हुन्।
मार्काका अनुसार साउदी क्लबको नेतृत्व टोली रोनाल्डोसँगको सम्झौताको लागि स्पेनको मड्रिड पुगेका थिए। रोनाल्डोसँगको अल नासरको सम्झौता कजारमा आयोजित फिफा विश्वकपको बीचमा भएको थियो।
युनाइटेडसँगको सम्झौता रद्द भएपछिको ४० दिनमा रोनाल्डोले थुप्रै उतारचढावहरुको सामना गरेका थिए। यो क्रममा धेरै दिनसम्म विभिन्न क्लबहरुसँग वार्ता पनि भएको थियो। तर, साउदी क्लबसँगको वार्ता भने निर्णायक बन्यो। रोनाल्डोले विश्वकपको बीचमा धेरैजसो प्रस्ताव अस्वीकार गर्दै आएका थिए। एउटा विन्दुमा पुगेपछि भने उनले अब आफ्नो करियर साउदी क्लबबाटै अघि बढाउनु उचित हुने निर्णय गरे। त्यो समयमा रोनाल्डो कुनै पनि कुराबाट विचलन नआओस् भन्ने चाहन्थे तर विभिन्न पक्षसँग वार्ता भने चलिरहेको थियो र उनी यी सबै कुरासँग जानकार थिए।
युनाइटेडसँगको सम्बन्ध तोडिएसँगै उनलाई अल नासरले प्रस्ताव गरेको थियो। रोनाल्डोलाई त्यसबेला उनलाई उच्च स्तरको युरोपेली फुटबलमा आफ्नो निरन्तरता नहुने महसुस भइसकेको थियो।
साउदी क्लबको प्रस्ताव लामो समयदेखि उनीसँग निकट रहेका रिकार्डो रेगुफेले ल्याएका थिए। रोनाल्डोका एजेन्टको रुपमा रहेका जर्ज मेन्डेस भने अल नासरसँगको सम्झौतामा संलग्न थिएनन्।
विश्वकपमा उनको टोली पोर्चुगल मोरक्कोसँग हार्दै विश्वकपबाट बाहिरिएपछि उनी रियल मड्रिडमा अभ्यास गर्न पुगेका थिए। यतिबेलासम्म उनी कुनै पनि टोलीमा आबद्ध भएका थिएनन्। रोनाल्डो रियलको मैदानमा अभ्यास गर्न जानुको कारण रियलबाट प्रस्ताव आउला कि भन्ने नै थियो। यो क्रममा उनले रियलको फोन कुरिरहेका थिए तर क्लबले उनलाई फोन गरेन।
रियलबाट फोन नआएपछि रोनाल्डोले साउदीसँगको सम्झौता पक्का गरेका थिए। यससँगै अब अल नासरको टोलीबाट रोनाल्डो पहिलोपटक सोमबार मैदानमा उत्रिनेछन्।
Shares
प्रतिक्रिया