ad ad

खेल


साहुखलले सय गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने

साहुखलले सय गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने

लक्ष्मी जि.सी
पुस ९, २०७६ बुधबार ८:३५,

सहिद स्मारक ए डिभिजन लिगमा बुधबार सन्तोषको टोली च्यासल दस खेलाडीमा सिमित न्यूरोड टिम (एनआरटी) सँग २–१ ले पराजित भयो।

पराजय व्यहोरेको खेलमा सन्तोषले गोल गर्न नसकेपछि उनको सय गोलको सपना पुरा नभएको हो। अब उनले लिग खेलमा सय गोल पुरा गर्न अर्को खेल कुनुपर्ने छ।

९६ गोलबाट यो सिजनको लिग सुरु गरेका सन्तोषले संकटाविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गर्दै ९९ गोल पुर्याएका छन्।

बुधबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि जुनियर अनगुइने निकेङ र दर्शक गुरुङले गोल गरे।

खेलको २३औं मिनेटमा जुनियर अनगुइने निकेङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। प्रकाश बुढाथोकीको फ्रिकिकलाई च्यासलका गोलकिपर एलेन न्यौपानेले पन्च गरेपछि त्यसमा एनआरटीले कर्नर पाएको थियो। त्यहि कर्नरबाट आएको बलमा जुनियरले हेड गोल गरेका थिए।

खेल सकिन ४ मिनेट बाँकी रहँदा दर्शनले एकल प्रयासमा गोल गरेका थिए। काउन्टर एट्याकमा मध्यभाग भन्दा पनि पछाडिबाट बल अघि बढाएका दर्शनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए।

त्यसअघि ७१ औं मिनेटमा जोेर्डन जुनियर एन्डेम्बा ओओनाले दोहोरो पहेलो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सिमित भएको थियो। इन्जुरी समयमा च्यासलका लागि अमिर श्रेष्ठले गोल गरेपनि हार भने टार्न सकेनन्।

 एनआरटीले यसअघिका २ खेलमा १ जित र १ हार बेहोरेको थियो। एनआरटीको लिगमा ४ अंक भएको छ। गत सिजन अंकतालिको पुछारमा रहेको एनआरटीको यो सिजन २ अंक घटाइएको छ।

सरस्वती युथ क्लबलाई ४–० ले हराएको एनआरटी संकटा क्लबसँग १–० ले पराजित भएको थियो। च्यासलले पहिलो खेलमा संकटालाई २–० ले हराएको थियो भने अर्को खेलमा मछिन्द्र क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो।

Saahukhala

जारी लिगमा सन्तोषको लक्ष्य

यस लिगमा सन्तोषको लक्ष्य समग्र गोल संख्या सय पुर्याउने भन्दा पनि लिगमा धेरैभन्दा धेरै गोल गर्ने रहेको छ। ‘यो लिगमा १५–१६ गोल गर्ने लक्ष्य छ। जति सक्छु धेरै गोल गर्ने लक्ष्य हो,’ उनले भने।

सन्तोषले २०६० को असार १० गते संकटाविरुद्धको खेलमा ‘डेब्यु’ गोल गरेका थिए। संकटाविरुद्ध थ्रीस्टारका लागि उनले १०औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि लगातार गोल गरेका उनी लिगमा गोल मेसिनको रुपमा समेत परिचित छन्।

फुटबल: दाजुको प्रेरणा

दाजुको प्रेरणामा फुटबल खेल्न सुरु गरेका सन्तोषले विद्यालयमा हुदाँदेखि नै लिग खेल्न थालेका हुन्। ‘म परिक्षा सकेर पनि युनिफर्ममै लिग खेल्न आउँथेँ,’ उनले सम्झे। आफूले अहिलेसम्म गरेका गोलमध्ये आफ्नो मानसपटलमा ताजा रहेको गोलबारे उनी भन्छन्, ‘ब्रिटिस गोर्खाकपमा परिक्षा दिएर आएको थिएँ, थ्रीस्टार १–० ले पछि थियो त्यो खेलमा। मैलै निर्णायक गोल गरेको थिएँ। त्यो सँधै सम्झीरहन्छु।’
सन्तोषले २००७ अक्टोवर २८ मा ओमानविरुद्ध काठमाडौमा भएको विश्वकप छनोटमा खेल्दै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए। उनी जुमानु राईको स्थानमा ७२औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

परिवारका कान्छा छोरा सन्तोष आफ्नै दाजु बालगोपाल साहुखलसँगै घरबाहिर खेल्न जाँदाजाँदै फूटबलमा सौख बढ्दै गएको थियो। ‘मेरो प्रेरणा नै दाई हो,’ उनले भने, ‘म पनि खेल्न जान्थेँ। बाबाले पनि सर्पोट गर्नुहुन्थ्यो।’ लामो समय क्लवमा बिताएका उनले थ्रीस्टारलाई परिवार मान्छन्। ‘अझैपनि मलाई माया लाग्छ। व्यवसायिक रुपमा थ्रीस्टारले नबोलाएपछि म च्यासलमा आएको हुँ।’

सन्तोष २०१५ को मार्च २७ मा विश्वकप छनोट अन्तर्गता भारतविरुद्धको खेलपछि राष्ट्रिय टोलीमा छैनन। भारतविरुद्ध पहिलो रोजाईमा खेलेका उनलाई ५७औं मिनेटमा अनिल गुरुङले प्रतिस्थापन गरेका थिए। पहिलो रोजाईमा बिरलै मौका पाउने सन्तोषले राष्ट्रिय टोलीबाट ३४ खेलमा ३ गोल मात्रै गरेका छन्।

‘खेलाडीमा घमण्ड हुन नहुने रहेछ। त्यो अहिले मैले महसुस गर्दैछु,’ उनले सुनाए, ‘त्यो बेला टिममा नपर्दा सारै नराम्रो लाग्थ्यो र कोचलाई गाली पनि गर्थें। तर अहिले त्यो गर्न नहुने रहेछ भनेर सम्झीरहन्छु।’

पाँच वर्षदेखि जापानमा बस्दै आएका सन्तोष च्यासल युथ क्लबबाट लिग खेल्नका लागि केहि दिन अघिमात्र स्वदेश फर्केका हुन्। जापानमा कामसँगै फुटबल पनि खेलिरहेका सन्तोष आफु अहिले ‘फिट’ रहेको मान्छन्।

अहिले शारिरिकरुपमा ‘फिट’ र मानसिक रुपमा परिरपक्व रहेको बताउने सन्तोषले जापानमा बस्दा एउटा खेलाडी कति अनुशासित हुनुपर्दछ भन्ने सिकेको बताए । ‘व्यवसयिक खेलाडीले कति अनुशासित हुनुपर्दछ भन्ने मैले त्यहाँ गरेर सिकेँ।। खासमा म पहिला भन्दा निकै फेरिएको छु।’ जापानको आठौ श्रेणीमा सन्तोषको टोली छ। एसएस ईजीमा आवद्ध उनी त्यहीबाट फुटबललाई निरन्तरता दिईरहेका छन्।

टोलीमा आफुभन्दा राम्रो खेलाडी छ भने आफ्नो स्थान तयार हुनुपर्ने र आफुले मात्र खेल्नुपर्छ भन्ने सोच हुन नहुने उनले बताए।

एउटै क्लवमा दाजुभाई 

सन्तोष र उनका दाजु बालगोपाल एउटै क्लवमा छन्। दाजु प्रशिक्षक र भाई खेलाडीको रुपमा सक्रिय छन्। उनको अब एउटै सपना छ– टोलीलाई च्याम्पियन बनाउने। सन्तोषबारे उनका दाजु तथा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले नम्बर ९ मा स्ट्राइकरमा हुनुपर्ने क्षमता अहिले सन्तोष बाहेकको नेपाली खेलाडी नरहेको दावी गर्छन्।

लिगमा सन्तोषले हालसम्म गरेका गोलहरु

२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ३ गोल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .