ad ad

खेल


५ वर्षपछि नेपाल–पाकिस्तान भिडन्त

खेल बुधबार साँझ ५ बजे दशरथ रंगशालामा
५ वर्षपछि नेपाल–पाकिस्तान भिडन्त

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १७:५८, काठमाडौँ

पाकिस्तानसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली तयार रहेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन्। 

नेपालले भोलि बुधबार पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। खेल साँझ ५ बजेपछि दशरथ रंगशालामा सुरु हुनेछ। 

खेलअघिको पत्रकार सम्मेलनमा दु्वै टोलीका प्रशिक्षक र कप्तानले आफूहरु खेलको लागि तयार रहेको बताएका छन्। नेपाल र पाकिस्तान ५ वर्षपछि भिड्नलागेका हुन्। 

नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले आफूले छोटो समयको तयारी र बीचमा घरेलु प्रतियोगिताहरु नहुँदा खेलाडीको फिटनेसमा केही समस्या देखिए पनि अहिले ठीक भएको बताएका छन्। 

गत असोजमा घरेलु मैदानमा बंगलादेशलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलमा छ। 

फिफाको प्रतिबन्धका कारण पाकिस्तानले अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन तर त्यहाँका खेलाडी अन्य लिगहरुमा संलग्न भएर खेलिरहेका थिए। तर टिम गेम नखेले पनि फुटबलमा सक्रिय रहेकाले आफूहरुले त्यहीअनुसारको रणनीति बनाएको प्रशिक्षक कटुवालले बताए। 

‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबलाई २ पटक च्याम्पियन बनाएका कटुवालले राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सपना पूरा भएको बताए। 

राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तानविरुद्ध आफूहरु उच्च मनोबलमा मैदान उत्रिने बताएका छन्। 

उनले भने, ‘पाकिस्तान हाम्रो लागि कठिन प्रतिद्वन्द्वी हो। त्यसैले भोलिको खेल प्रतिस्पर्धात्मक नै हुनेछ।’ 

रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्नलागेका हुन्। कप्तानभन्दा पनि आफ्नो देशलाई नै प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा भएको भन्दै रोहितले टोलीका ११ जना खेलाडी नै कप्तान रहेको सुनाए। 

उनले भने, ‘खेल हो, खेलमा जे पनि हुनसक्छ तर हामी जित्नका लागि खेल्नेछौँ।’ 

राम्रो सुरुवात गर्ने योजनामा छौँ : पाकिस्तानी प्रशिक्षक 
उता पाकिस्तानका प्रशिक्षक सहजाद अनवारले पाकिस्तानी टोली पछिल्लो समय खराब समयबाट गुज्रिरहे पनि राम्रो सुरुवात गर्ने योजनामा रहेको बताएका छन्। 

‘अहिले हामीसँग नयाँ टोली छ, केही खेलाडी स्थानीय त केही खेलाडी विदेशी लिगमा व्यस्त थिए। ३ वर्ष प्रतिबन्धका कारण प्रशिक्षण गर्न नपाएकाले नयाँ टोली रहेको र केही खेलाडीले भोलिको खेलमा डेब्यु गर्नेछन्’, उनले भने।  

भोलिको खेलले नै खेलाडीहरु अन्तर्राष्ट्रिय खेलको लागि तयारी छन् कि छैनन् भनेर थाहा हुने उनले सुनाए। 

टोलीका कप्तान हसन बसिरले ५ वर्षअघि भएको साफ च्याम्पियनसिपपछि नेपालसँग खेल्न लागेकाले आफूहरु तयार रहेको बताए। लामो समय फुटबलबाट टाढा रहे पनि राम्रो खेल प्रस्तुत गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो। 

डेनमार्कमा खेलिरहेका कप्तान हसनले व्यक्तिगत रुपमा पनि राम्रो रहेको सुनाए। नेपालका समर्थकको प्रशंसा गर्दै हसनले घरेलु टोलीविरुद्ध राम्रो खेल पस्किने सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .