खेल


एपीएफले जित्याे एकदिवसीय प्रधानमन्त्री कपको उपाधि

एपीएफले जित्याे एकदिवसीय प्रधानमन्त्री कपको उपाधि

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २१:५, काठमाडौँ

पाँचौं संस्करणको एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ। 

शनिबार भएको फाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। उपाधिसँगै  एपिएफले १० लाख तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पाएको छ। 

सेमिफाइनलमा पुगेका नेपाल पुलिस क्लब र मधेस प्रदेशले समान ५० हजार रुपैयाँ पाएका छन्। 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर पुलिस क्लबका दिपेन्द्र सिंह ऐरि घोषित भए। उनले ५ खेलमा दुई शतक, एक अर्धशतकसहित ३ सय ५६ रन बनाएका थिए। सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ५० हजार रुपैयाँ पाएका छन्। उत्कृष्ट ब्याटर बनेबापत २० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको उत्कृष्ट बलर पुलिस क्लब कै करण केसी बने। करणले ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका थिए। उनले २० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा उदीयमान खेलाडी एपीएफका बलर मौसम ढकाल बने। उनले ६ खेलमा १५ विकेट लिएका थिए। उनले पनि २० हजार रुपैयाँ पाउनेछन्। 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।

पाँचौं विकेटका लागि भुवन कार्की र सुमित महर्जनले ७५ रनको साझेदारी गरे। भुवन कार्कीले सर्वाधिक ५५ रनको योगदान दिए। सुमित ३४ रनमा आउट भए।  कप्तान शरद भेषावकर १६, आसिफ शेख १४ रनमा पवेलियन फर्के।

आर्मीका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान एक विकेट लिए। 

त्यसअघि एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भयो। आर्मीका रोहित पौडेल ४९ रनमा पवेलियन फर्के। 

सुसन भारीले १९ तथा जितेन्द्र मुखियाले २४ रन जोडे। कुशल मल्ल १६ र अर्जुन साउद १३ रनमा आउट भए। एपिएफका मौसम ढकाल र अमर सिंह राउटेलाले समान ३ विकेट लिए। किशोर महताले २ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad