ad ad

खेल


बंगलादेशविरुद्ध नेपाली टोलीको परीक्षण

बंगलादेशविरुद्ध नेपाली टोलीको परीक्षण

लक्ष्मी जि.सी
असोज ११, २०७९ मंगलबार ७:२१, काठमाडौँ

पछिल्लो ४ महिनामा घरेलु फुटबलको मैदान भित्र र बाहिर केही महत्वपूर्ण परिवर्तन भए। असारको सुरुवातमा अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाले नयाँ नेतृत्व चयन गर्‍यो।

नयाँ कार्यसमितिको आगमन पछि पुरुष राष्ट्रिय फुटबल टोलीका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र ११ खेलाडीबीचको विवादले नयाँ मोड लियो। आफूसँग सहमत नभएका ११ खेलाडीलाई बाहिर राख्दै अल्मुताइरीले असारमै एएफसी एसियन कप छनोटमा नेपाली टोली उतारे। 

कुवेतमा भएको एसियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्के भने अल्मुताइरी उतै बसे। उनले ३ महिनापछि स्वदेश फर्कने बताएका थिए। तर त्यसबीचमा भएका घटनाक्रमले अल्मुताइरी राजीनामा दिन बाध्य भए। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २६ खेलाडीलाई बोलाइदिन एन्फालाई आग्रह गरे। एन्फाले उनको आग्रहलाई वेवास्ता गर्दै अमेरिकामा रहेका प्रदीप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गर्‍यो। 

हुमागाईमार्फत एन्फाले अल्मुताइरीका कारण टोलीबाट बाहिरिएका खेलाडीलाई पुनरामगनका लागि वातावरण तयार गर्‍यो। 

पुनरागमन गरेका सिनियर खेलाडी र एनएसएल टोली ललितपुर सिटी एफसीबाट बर्खास्त परेको झण्डै डेढ वर्षमा नेपाली टोलीको प्रशिक्षक बन्ने मौका पाएका हुमागाई सबैको एकै पटक बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलमा परिक्षण हुँदै छ।

नेपाल र बंगलादेशबीच एक वर्षपछि मंगलबार प्रतिस्पर्धा हुँदै छ। मंगलबार हुने खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।माल्दिभ्समा गत वर्ष भएको साफ च्याम्पियनसिपको खेलपछि यी दुई टोली एकअर्काको सामना गर्दै छन्। त्यति बेलाको खेल १–१ को बराबरीमा टुंगिएको थियो।  

खेलअघिको सोमबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले जित्ने रणनीतिका साथ मैदान उत्रिने बताएका छन्। एकअर्कासँग परिचित टोलीका कप्तान र प्रशिक्षकले विपक्षीलाई सम्मान दिएर खेल्ने बताएका छन्। 

४ गोलकिपरसहित २३ खेलाडी समेट्दै टोलीको घोषणा गरेका प्रशिक्षक हुमागाईको आलोचना पनि भइरहेको छ। उनले ऋतिक खड्का र आशिष चौधरीलाई पहिलोपटक राष्ट्रिय टोलीमा समेटेका छन्।

अल्मुताइरीको रोजाइमा एसियन कप छनोटमा पर्न नसकेका गोलकिपर किरण चेम्जोङ मंगलबार कप्तानीकै भूमिकामा पुनरागमन गर्दै छन्। अन्य खेलाडीसँगको विवादमा किरणले अल्मुताइरीको आलोचना गर्दै किरणले सामाजिक सञ्जालमा आफ्नो विचार राखेका थिए।

त्यहींबाट उनको र अल्मुताइरीको पनि विवाद सुरु भएको थियो। किरणले आफूलाई त्यति बेला नबोलाएको नभई निकालेको भन्दै पत्रकार सम्मेलनमा आक्रोश पोखेका थिए। 

एशियन कप छनोटपछि नेपाल पहिलोपटक अन्तराष्ट्रिय खेल खेल्ने तयारीमा छ। बगंलादेशले भने काम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो। कम्बोडियालाई १–० ले पराजित गर्दै आएको बगंलादेश उच्च मनोबलका साथ नेपाली टोलीविरुद्ध उत्रिनेछ। 

बगंलादेशको महिला टोलीले असोज ३ गते फाइनलमा नेपाललाई ३–१ ले परातिज गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। बगंलादेशका पुरुष टोलीका कप्तानले पनि महिला टोलीको सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यका साथ मंगलबारको खेलमा उत्रने बताएका छन्। उनले भने, यहाँ हाम्रो महिला टोलीले जित निकालेको थियो हामी पनि त्यही नतिजालाई दोहोर्‍याउन चाहन्छौं।

नेपाली टोलीका कप्तान किरणले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने बताए। व्यावसायिक रुपमा आई लिग टोली राउन्ड ग्लास पन्जाबमा आबद्ध आइतबार मात्रै स्वदेश आइपुगेका थिए। भारत जानुअघि उनले ३ दिन टोलीसँग अभ्यास गरेको जनाए। आफू टोलीमा नरहेपनि बाँकी खेलाडीको प्रशिक्षण राम्रो रहेको जानकारी पाएको सुनाए । 

प्रशिक्षक हुमागाईले आफूहरु जितको लागि नै मैदान उत्रने बताए। नेपाली टोलीले करिब डेढ महिनादेखि प्रशिक्षण गरिरहेको छ। 

हेड टु हेड
बगंलादेशविरुद्ध पछिल्लो ५ भेटमा नेपाल एक खेलमा मात्र पराजित भएको छ। पछिल्ला ४ खेलमा नेपाल अपराजित रहेको छ। सन् २०२० मा ढाकास्थित बगंबन्धु स्टेडियममा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बगंलादेशले २–० को जित निकालेको थियो। त्यति बेला दोस्रो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो।  

२०२१ मा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो। बंगलादेशलाई २–१ ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो। त्यसअघि राउन्ड रोविनको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

यी दुई टोलीबीच पछिल्लो पटक सन् २०२१ मा साफ च्याम्पियनसिपमा भएको पछिल्लो भेटमा भने नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेको थियो। समग्रतामा भने बंगलादेश नेपालमाथि हाबी छ। अहिले सम्मका २६ खेलमध्ये १४ खेलमा बंगलादेश, ७ खेलमा नेपाल र ५ खेल बराबरीमा टुंगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .