ad ad

खेल


पुनरागमनपछि लय समात्दै ‘गोल मेसिन’ साम्बा

पुनरागमनपछि लय समात्दै ‘गोल मेसिन’ साम्बा

लक्ष्मी जि.सी
साउन २६, २०७९ बिहिबार १२:५६, काठमाडौँ

चोटमुक्त भएर केही महिनाअघि मैदान फर्किएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' विस्तारै लयमा फर्किन थालेकी छन्। 

चोट लागेको झण्डै १३ महिनापछि घरेलु लिगमार्फत पुनरागमन गरेकी साम्बाले विदेशमा पनि पुरानै छवि देखाउने गरी प्रदर्शन गरेकी छन्। 

एपीएफ क्लबबाट व्यावसायिक फुटबल अघि बढाइरहेकी उनी अहिले भारतमा छिन्। उनी अहिले केरला महिला लिग फुटबल खेलिरहेकी छन्। 

केरला महिला लिगको बुधबार भएको पहिलो खेलमै साम्बाले गोकुलम केरला एफसीका लागि सनसनीपूर्ण प्रदर्शन गरेकी छन्। 

दुई सिजनअघि गोकुलमलाई आई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाले यसपटक पनि पुरानै प्रदर्शनलाई निरन्तरता दिने संकेत गरेकी छन्। 

अर्को महिना नेपालमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीबीच साम्बा साउन २१ गते भारत गएकी थिइन्।

केरला लिग खेलिरहेकी उनको प्राथमिकता भने यस पटक गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप खेल्नु छ। उनी त्यसकै लागि भारत पुगेकी हुन्। 

अघिल्लो सिजन गोकुलमले आई लिगको उपाधि रक्षा गर्दा टोलीलाई साम्बाको साथ थिएन। उनी चोटका कारण मैदानबाहिर थिइन्। आई लिग च्याम्पियन गोकुलम यसपटक एफसी क्लब लिग खेल्ने तयारीमा छ। 

केरला महिला लिगको पहिलो खेलमा गोकुलमले केरेला युनाइटेड एफसीलाई ११–० ले हराएको थियो। 

जसमा साम्बा सबैभन्दा प्रभावशाली रहिन्। साम्बाले ५ गोल गरिन्। २७ मिनेटभित्रै उनले ह्याट्रिक पूरा गरेकी हु्न्।

दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमध्ये एक साम्बा बुधबारको खेलमा प्येलर अफ द म्याच बनिन्। 

'पहिलो खेलको प्रदर्शनबाट खुसी छु, तर मेरो मुख्य लक्ष्य एएफसी क्लब च्याम्पियनसिपमा उच्च प्रदर्शन गर्नु हो', उनले बुधबार नेपालखबरसँगको कुराकानीमा भनिन्, 'एएफसी क्लब च्याम्पियनसिपअघि केरला लिगको खेलले मनोबल उच्च भएको छ। योभन्दा राम्रो प्रदर्शन गरेर टोलीलाई च्याम्पियन बनाउने लक्ष्य छ।' 

यता नेपाली महिला टोली स्वदेशमै हुने साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षण चलिरहँदा व्यवसायिक लिग खेल्न भारत जानुपर्दा उनले दुःख लागेको बताइन्। 

तर केरला लिग र एएफसी क्लब च्याम्पियनसिपको अनुभवले नेपाली टोलीलाई फाइदा पुग्ने विश्वास साम्बाको छ। 

'अहिले भारतीय टोलीबाट खेल्ने खेलाडीहरूसँग पनि खेल्छु। उनीहरुसँग खेल्दा धेरै सिक्न पाउँछु,' उनले भनिन्, 'उनीहरुको कमजोरी र बलियो पक्ष थाहा पाउँदा त्यसको फाइदा राष्ट्रिय टोलीलाई हुन्छ।' 

छैटौँ संस्करणको साफ गेम तयारी भइरहँदा नेपाल ४ पटक उपाधिनजिक पुगेर बञ्चित हुँदै आएको छ। 

नेपालले हरेक पटक उपाधि जित्ने लक्ष्यसाथ साफ च्याम्पियनसिपमा भाग लिने गरेको छ। यसपटक  पहिलाभन्दा फरक हुने आशा साम्बालाई छ। 

'हामीले यसअघि साफ च्याम्पियनसिपको फाइनल ४ पटक खेलिसकेका छौं। तर च्याम्पियन बन्न सकेका छैनौँ', उनले भनिन्, 'हरेक पटक फाइनल पुगेर निराश हुनु परेको छ। पहिलो पटक दशरथ रंगशालामा साफ च्याम्पियनसिप हुँदैछ। घरेलु मैदानमा हाम्रो पुरुष टोलीले पनि उच्च प्रदर्शन गर्दै आएको इतिहास छ। हामीले पनि यसपटक पुरुष टोलीले जस्तै घरेलु समर्थकको साथमा उच्च प्रदर्शन गर्नुपर्नेछ।' 

साफ च्याम्पियनसिपअघि नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने नखेल्ने टुंगो लागेको छैन। साम्बाले केरला लिग र एएफसी क्लब च्याम्पियनसिप आफ्ना लागि एक्सपोजर हुने विश्वास लिएकी छन्।

'एएफसी क्लब च्याम्पियनसिपमा नयाँ खेलाडीहरूसँग खेल्न पाइन्छ। त्यहाँबाट पनि व्यक्तिगत प्रदर्शनमा सुधारको मौका मिल्नेछ', उनले थपिन्, 'मैले बटुल्ने अनुभवले हाम्रो टोलीलाई नै फाइदा पुग्छ। विदेशी प्रशिक्षकसँग प्रशिक्षण गर्दा धेरै नयाँ विषय सिक्न सकिन्छ।'

२०७७ फागुन ३ मा महिला लिग खेल्ने क्रममा साम्बाको घुँडामा गम्भीर चोट लागेको थियो। गत वर्ष असारमा कतार पुगेर घुँडाको शल्यक्रिया गरेको सात महिनापछि स्वदेश फर्केकी थिइन्। 

त्यसपछि चितवनमा चैतमा भएको महिला लिगमार्फत उनले फुटबलमा पुनरागमन गरेकी थिइन्।  

पुनरागमनपछिको पहिलो चरणको ७ खेलमा उनले १४ गोल गर्दै आफ्नो क्षमतालाई पुनः प्रमाणित गर्ने प्रयास गरेकी थिइन्। 

चोटले विश्राम लिँदाबाहेक ८ वर्षदेखि राष्ट्रिय टोलीमा नियमित रहँदै आएकी उनको नाममा कीर्तिमानी ३८ गोल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .