ad ad

खेल


बर्खास्ती र नियुक्तिमा अल्झियो एन्फा नेतृत्व

बर्खास्ती र नियुक्तिमा अल्झियो एन्फा नेतृत्व

लक्ष्मी जि.सी
साउन १२, २०७९ बिहिबार ८:४१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन। तर, नयाँ कार्यसमिति चयन भएको दोस्रो बैठकबाट विवादले उग्र रुप लिन्छ भन्ने चाहिँ कमैलाई मात्र अनुमान थियो। एन्फा नेतृत्वका लागि तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए। जसमा शेर्पालाई ६ मतले पछि पार्दै नेम्वाङ एन्फाको नयाँ नेता चुनिएका थिए।

घरेलु फुटबलका पदाधिकारीमा राम्रो पहुँच राख्ने फिफाबाट १० वर्ष प्रतिबन्धित एन्फाका पूर्व अध्यक्ष गणेश थापाले शेर्पालाई पराजित गर्न नेम्वाङ प्यानललाई सघाएका थिए। त्यसमा कुनै बेला शेर्पाकै विश्वास पात्रका रुपमा घरेलु फुटबलमा चर्चा कमाएका नवीन पाँडेको साथ पनि यसपटक नेम्वाङलाई नै थियो। निर्वाचित भएको खुसीयाली राम्ररी मनाउन नपाउँदै एन्फा कार्यसमिति अलग अलग समूहमा देखिएका छन्। एन्फामा समूह पनि नयाँ विषय होइन। शेर्पा अध्यक्ष हुँदा नेम्वाङले नै अलग समूहको नेतृत्व गरेका थिए। अहिले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अलग समूहको नेतृत्व गर्ने सम्भावना देखिएको छ। दोस्रो बैठकमा उनीसहित पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि अध्यक्ष नेम्वाङले बैठक स्थगित गरेका थिए।

नेम्वाङले नेतृत्व गरेको प्यानललाई चुनाव जिताएको जस लिने र त्यसका फाइदा लिनका लागि अहिले एक खालको होड नै चलेको छ। जस लिनेसँगै पद लिने होड पनि जर्बजस्त रुपमा अघि बढेको छ। अहिले एन्फाको पछिल्लो विवादको जड त्यहि भन्दा फरक पर्दैन। असार ६ गते निर्वाचित कार्यसमितिको पहिलो बैठक असार ९ गते बसेको थियो। त्यो बैठकले महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेलाई नियुक्त गरेको थियो। पहिलो बैठकमा सर्वसम्मतले नै तीन जनाको नियुक्तीको प्रस्ताव अनुमोदन भएको थियो।

साउन ५ गते बसेको दोस्रो बैठकमा पाँडेको नियुक्ती खारेज गर्नुपर्ने देखि एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरालाई सहायक महासचिव बनाउनुपर्ने प्रस्ताव अघि बढाउन खोजियो। पहिला छलफल गरेर निर्णय गरेपछि उपस्थितिमा दस्तखत गर्ने वरिष्ठ उपाध्यक्ष खड्का, अन्य पदाधिकारी र सदस्यहरुले सर्त राखेपछि दोस्रो बैठक एजेन्डामा प्रवेश नै नगरी नेम्वाङले स्थगन गरेका थिए। त्यति मात्र होइन, आफैँले पहिलो बैठकमा अनुमोदन गरेको पाँडेलाई विधान विपरित भएको भन्दै बर्खास्तका लागि खड्कासहित १२ जनाले एन्फामा निवेदन दर्ता गराएका छन्। अब त्यो निवेदनको सम्बोधन कसरी र एन्फाको नयाँ कार्यसमितिको यात्रा कसरी अघि बढ्छ भन्नेमा फुटबलमा सरोकार राख्नेको चासो छ।

पाँडेलाई हटाउने र गौरवलाई नियुक्त गर्ने दुवै विषयको नेतृत्व खड्काले नै गरेका छन्। पूर्व अध्यक्ष थापाले पाँडेको नियुक्तिमा फेसबुकमार्फत विरोध जनाइसकेका छन्। त्यसअर्थ खड्काले पूर्व अध्यक्ष थापाको एजेन्डाको नेतृत्व गरिरहेका छन्। खड्काले एउटा समूह, शेर्पाको प्यानलबाट निर्वाचित भएका उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसी र सदस्यहरुको एउटा समूह तथा नेम्वाङ र अर्का उपाध्यक्ष दावा लामाको अर्को गरि तीन समूह रहेको प्रष्ट देखिन्छ। सबैभन्दा कमजोर नेम्वाङकै समूह देखिएको छ।

शेर्पालाई जसरी पनि एन्फा अध्यक्षमा हराउन एक ठाँउमा उभिएकाहरुको फुटबल विकासका लागि ठोस योजना पनि थिएन। यद्दपि नेम्वाङ समूहले केहि योजना भने सार्वजनिक गरेको थियो। वरिष्ठ उपाध्यक्ष खड्का भन्छन्, निर्वाचन अघि त्यस्तो केही योजना थिएन। पुराना कार्यक्रमलाई नै निरन्तरता दिने हो। त्यसैले यो वर्ष त्यस्तो केही कार्यक्रम छैन, अर्को वर्षबाट योजना बनाएर अघि बढ्छौँ।’

चुनावअघि अलगअलग व्यक्तिलाई नियुक्ति दिने प्रतिबद्धताले पनि नेम्वाङ अहिले केहि अप्ठेरोमा देखिन्छन्। आफले गरेको वाचा पूरा गर्न नसकिने हो कि भन्ने सकस पनि नेम्वाङमा पर्न थालेको महसुस धेरैले गरेका छन्।

‘चुनावअघि केही सहमति त गरिन्छ नै, पंकजजी ले केही व्यक्तिहरुसँग त्यस्तो सहमति गर्नु भएको रहेछ। तर मैले केहि सहमति गरेको छैन, खड्काले भने,‘ किन कि म सहमति गरेर आउन सक्दिन, आफू आएर दिन सकेन भने त्यसले पछि झन् गाह्रो हुन्छ भनेर चुनाव अघि केही सहमति गरेको छैन।’

एन्फा महासचिव किरण राई भने चुनाव अघि कसैले प्रतिबद्धता गरेकै भए पनि त्यसलाई इन्टरटेन गर्न एन्फा बाध्य नहुने बताउँछन्। उनले भने ‘त्यो उहाँहरुको नितान्त व्यक्तिगत कुरा हो। उहाँहरुलाई नै सोध्नुपर्ला। तर अहिले देखिएको समस्या समाधान गर्नका लागि भने हामीले छलफल गर्दैछौ। छलफलबाट नै समाधान निकाल्छौँ।’

एन्फामा पाँडेको बहिर्गमन र गौरवको प्रवेश दुवै विषय पेचिलो बन्दै गएको छ। पाँडेको नियुक्ती सर्वसम्मतबाट भएको हो भने गौरवको विषयले औपचारिक प्रवेश नै पाएको छैन। बुधबार मात्र गौरवले विगतमा आफूले एन्फा, एएफसीमा बसेर काम गरिसकेको उल्लेख गर्दै अहिले आफूलाई एन्फा अध्यक्ष र महासचिवले नै एन्फा आउनका लागि प्रस्ताव गरेको सार्वजनिक गरेका छन्। तथापि त्यसमा नेम्वाङ वा राईले प्रतिक्रिया जनाएका छैनन्।

गौरव एएफसीका पूर्व कर्मचारी हुन्। उनी एएफसीमा कार्यरत रहँदा तत्कालिन एएफसीका अध्यक्ष मोहम्मद विन हमामले पूर्व अध्यक्ष थापालाई १ लाख अमेरिकी डलर गौरवकै खातामार्फत पठाएका थिए। थापालाई भ्रष्टाचारको अभियोग लगाउँदाका केही कारण मध्ये गौरवको खातामा रकम जम्मा हुनु पनि थियो। एएफसीबाट राजीनामा दिएर स्वदेश फर्केका गौरवलाई एन्फा प्रवेश गराउन कानुनी अड्चन देखिँदैन।

खाली प्रश्न बाबुको भ्रष्टाचारमा सहभागी भएका कारण उनलाई एन्फा प्रवेश गराउन नेम्वाङ नैतिक रुपमा तयार हुन्छन कि हुँदैनन् भन्ने मात्र हो। नेम्वाङ तीनै व्यक्ति हुन् जसले पूर्व अध्यक्ष थापाविरुद्धको अभियानमा शेर्पासँगै अग्रपङ्क्तिको मोर्चा सम्हालेका थिए। गौरवले विज्ञप्ति जारी गरे पनि छोरालाई एन्फा प्रवेश गराउने दबाब भने पूर्वअध्यक्ष थापाले नै बढाउने गरेको आरोप छ।

गौरवको विषयमा भने महासचिव राई खुल्न चाहेनन्। उनले भने, ‘अब कसको छोरा के मान्छे भन्ने कुरा हो अहिले धेरैको नाम चर्चामा छ। त्यसैले अहिले केही नबोलौँ। पाँडे जीको विषयमा साथीहरुले निवेदन दिनुभएको छ। त्यो बारेमा कार्यसमिति बैठकमा नै छलफल हुन्छ।’

वरिष्ठ उपाध्यक्ष खड्का भने गौरव कसको छोरा वा नाति भनेर विवादको विषय बनाउन नहुने बताउँछन्। ‘गौरव नेपाली फुटबललाई कति फाइदा हुन्छ भन्ने कुरा सोच्न पर्यो। ऊ आएर फुटबललाई फाइदा हुन्छ, फुटबल अगाडि बढ्छ भने आउँदा फरक पर्दैन। तर उ आएर फुटबललाई फाइदा पुग्दैन भने नआउँदा पनि फरक पर्दैन।’

खड्का गौरवलाई कसको छोरा भनेर भन्दा पनि एएफसीमा काम गरेको अनुभव भएको व्यक्तिका रुपमा हेरिनुपर्ने तर्क गर्छन्। ‘उसँग एएफसीमा काम गरेको अनुभव छ। उ एएफसी र फिफाका कर्मचारीसँगको सम्पर्कमा छ। फिफा/एएफसीमा डिपार्टमेन्ट बलिया हुन्छन्। त्यस्तोमा ती डिपार्टमेन्ट सम्म हाम्रो पहुँच कमजोर छ,’ उनले थपे,‘हिजो गौरवले एएफसीमा बसेर काम गरेको कारण डिपार्टमेन्ट हेड र अन्य व्यक्तिसँग उनको सम्बन्ध राम्रो भएकाले भोलि हामीलाई सजिलो हुन्छ भनेर म पनि उ आउँदा फाइदा हुन्छ भन्ने ठान्दछु। अरु केही होइन।

अर्का उपाध्यक्ष केसी भने एन्फाको आर्थिक स्राेत नजुट्दा सम्म नियुक्ति प्रक्रियालाई थाँती राख्नुपर्ने बताउँछन्।

‘फुटबलको विकासका लागि छलफल गरौँ न, अहिले गौरवलाई राख्न नि परेन र पाँडेलाई निकाल्न पनि परेन।  भोलि आर्थिक स्राेत जुटेपछि उहाँहरुलाई के गर्न सकिन्छ भनेर सोचौँला। हाम्रो संघ भनेको फिफा र एएफसीको फन्डबाट नै चल्छ,’ उनले भने,‘गणेश थापालाई फिफाले प्रतिबन्ध गरेको छ। गौरवको खातामा पैसा भेटिएको थियो। आज उनै गौरवलाई नियुक्ति गर्दा फिफाले हेर्ने दृष्टिकोण कस्तो होला? एन्फालाई राम्रोसँग हेर्न सकेन, फिफाले दिने फन्ड नै ब्रेक गर्यो भने कसरी अगाडि बढ्ने भनेर सोच्न आवश्यक छ।’

नेम्वाङले पहिलो बैठकमा नै छलेर नियुक्ति गरेको आरोप केसीको छ। फुटबल विकासको एजेन्डामा छलफल गर्नुपर्नेमा पहिलो बैठकमा पनि छलेर नै पंकजजी ले नियुक्तिको प्रस्ताव गर्नुभयो,’ उनले थपे,‘ विधानसम्मत नभएर, पकेटबाट एजेन्डा ल्याएर निर्णय गराउनुभयो। दोस्रो बैठकमा पनि विकासको एजेन्डाभन्दा बाहिरका कुरा भए। अहिले एन्फा आर्थिक संकटमा छ। यस्तोमा पदाधिकारी र कर्माचारी नियुक्ति भनेर आर्थिक भार थप्ने तिर कुरा भैरहेको छ। अहिले फुटबल विकासका लागि के गर्न सकिन्छ। स्राेत कसरी खोज्ने भनेको हो। तर त्यो एजेन्डामा प्रवेश नगराईकन बैठक स्थगित गरेर निस्कनुभयो।’

व्यक्तिगत स्वार्थ र कसरी आफ्नो मान्छे व्यवस्थापन गर्न सकिन्छ भन्ने स्वार्थले गर्दा अहिले एन्फा अघि बढ्न नसक्नेको केसीको बुझाइ छ। ‘पहिलो बैठकमा नै हामीले भनेको थियौँ। तर बहुमत लगाएर निर्णय गर्नुभयो। विरोध गर्दा सबैले हेरिरहेका छन् भनेर चुप लागेर बस्यौँ , उनले सम्झिए,‘दोस्रो बैठकमा उहाँहरुले नै जर्बजस्ती साइन गर्न लगाएर पास गरेको निर्णय फेरि उहाँहरु नै विरोध गर्न आउनुभयो। स्वार्थ बाजेर यस्तो भएको हो।’

वरिष्ठ उपाध्यक्ष खड्का पहिलो बैठक बस्दा धन्यवाद ज्ञापन गर्न होला भन्ने लागेको बताउँछन्।

‘तर त्यहाँ ६,७ वटा एजेण्डा प्रस्तुत भयो त्यसमा नवीन पाण्डे जी को पनि नाम आयो। त्यसमा हामी मौन बस्यौ तत्काल विधान हेर्ने कुरा पनि भएन, कमजोरी स्वीकार्दै उनले भने,‘पछि समाचारमा आए पछि मैले नी विधान हेरे। विधान विपरित नियुक्ती भएको रहेछ। त्यसलाई सच्याउनका लागि निवदेन दिएका हौं।’

अहिले एन्फाको हलो त्यहि अड्केको छ। अब पाँडे र गौरवको विषयमा सहमति नबनेसम्म एन्फा बैठक बस्ने सम्भावना देखिदैन। बैठक बस्न नसकेपनि एन्फाले साफ च्याम्पियनसिपको संयोजक, प्रशिक्षकदेखि व्यवस्थापकसम्म नियुक्ती गरिसकेको छ। विधानले दिएको विशेष अधिकार प्रयोग गर्दै यस्तो निर्णय गरेको महासचिव राई सुनाउँछन्।

एन्फाले वरिष्ठ उपाध्यक्ष खड्काकै संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन भएको छ। यद्यपि त्यो पनि विवादरहित भने रहेन।

उपाध्यक्ष केसी फुटबल विकास नै सबैको एउटै लक्ष्य हुनुपर्नेमा जोड दिन्छन्। उनले जोडे ‘कसरी नेपाली फुटबल विकास गर्ने भन्ने खालका एजेण्डा आउनुपर्छ। निर्वाचनको प्रक्रियामा विभिन्न विचार समूहबाट निर्वाचित भएर आयौँ। तर सबैको लक्ष्य भनेको फुटबल विकास नै हो।’

महासचिव राईले आपसी छलफलबाटै नै विवादको निकास निस्कनेमा आशावादी छन्।

‘अब केही दिनमा बैठक बस्छ। त्यहिबाट निकास निकाल्छौँ। केही प्राविधिक समस्या आएका हुन्। छलफलबाट समाधान हुन्छ,’ उनले भने,‘विचारहरुको विविधता हुन्छ। फरक भूगोल, संस्कृति र समुदायबाट आएका छौँ। त्यसैले केही फरक हुनु स्वाभाविक हो। तर फुटबल विकासमा हामी सहमतिमा पुग्छौं। टकरावपछि निष्कर्ष निस्किँदा फुटबल कै पक्षमा नतिजा आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .