नेपाल नम्बर एक खेलाडी शुक्र बहादुर राईलाई भारतीय टुर अन्तर्गत बाँकी रहेका प्रतियोगिता खेल्नका लागी नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आठ लाख ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ।
पर्नोड रिकार्डका रविन्दर सैनीले दुई लाख सहयोग गरेका छन् भने ब्रिटिश गोर्खा समुदायले एक लाख प्रदान गरेको छ।
त्यस्तै, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे, चन्द्र टण्डन, आर आर पाण्डे, टासी घले, प्रवेश फुयाल, टिजी श्रेष्ठ, किसन अग्रवाल, टेण्डी शेर्पा, नोर्वु छिरिङ शेर्पा तथा रविन्द्र मान श्रेष्ठले ५०(५० हजार सहयोग गरेका गरे। यसैगरी दिपक आचार्यले ३० हजार र सञ्जय लामाले २० हजार सहयोग गरेका छन्।
यसबाहेक संघले शुक्रलाई भारत स्थित तरुण सरदेसाई गल्फ एकेडमीमा एक महिनाको तालिमको पनि व्यवस्था गरेको छ। एकेडमीले शुक्रका लागि ५० प्रतिशत छुट उपलब्ध गराएको नेपाल प्रोफेसनल गल्फर्स एसोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए।
एमेच्योर खेलाडीद्वय सुवाश तामाङ र सद्भाव आचार्य हाल सोही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन्।
धरान गल्फ क्लबका सदस्य शुक्रले आगामी अगस्ट महिनादेखि पिजीटिआईको प्रतियोगितामा भाग लिनेछन्। मे महिनामा सिजनको विश्राम हुनु अघि शुक्रले छ वटा प्रतियोगिता खेलेका थिए।
यसअघि, शुक्रलाई बिराटनगरस्थित प्रिमियर अर्गानिक्स प्राइभेट लिमिटेडले पाँच वर्षका लागी अनुबन्धन गरेको थियो। सम्झौता बमोजिम प्रिमियर अर्गानिक्सले शुक्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन कूल ८ लाख ५० हजार प्रदान गर्नेछ।
सूर्य नेपाल गल्फ टुर २०२१(२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्दै नम्बर एक प्रोफेसनल गल्फ खेलाडी बनेका शुक्रले इन्डियन टुर, पिजीटीआईमा समेत आफ्नो स्थान सुरक्षित गरेका छन्। हालसम्म खेलेका ६ प्रतियोगितामा शुक्रले ३ वटामा कट बनाएका छन्।
Shares

प्रतिक्रिया