ad ad

खेल


राष्ट्रिय टोलीकी कप्तान रेनुका तीन महिना मैदानबाहिर

राष्ट्रिय टोलीकी कप्तान रेनुका तीन महिना मैदानबाहिर

बिएन्डबी अस्पतालमा उपचाररत रेनुका। तस्बिर : नेपालखबर


नेपालखबर
असार २१, २०७९ मंगलबार १९:१, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोली र नेपाल एपीएफ क्लबकी कप्तान रेनुका नगरकोटे १२ हप्ता मैदान बाहिर रहने भएकी छिन्। 

उनको बायाँ क्लाभिकल (कलरबोन अर्थात घाँटीमुनिको हड्डी) फ्याक्चर भएपछि सोमबार नै ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा शल्यक्रिया भएको थियो। 

रेनुकाको अस्पतालका डा. अमित जोशीको टोलीले शल्यक्रिया गरेको हो। शल्यक्रिया सफल भएको र कुनै समस्या नआएमा रेनुकालाई मैदान फर्कन ३ महिना लाग्ने अस्पतालले जनाएको छ। 

सम्भवत: उनको बुधबार डिस्चार्ज गर्ने तयारी भइरहेको रेनुकाका श्रीमान् अभिषेक लामाले बताए। 

लामाले भने, कुनै समस्या नभए बुधबार डिस्चार्ज गर्ने तयारी छ। अहिलेसम्म कुनै समस्या देखिएको छैन। 

चोटपछि उनको उपचार खर्च कस्ले व्यहोर्छ भन्नेबारे अहिलेसम्म कुनै टुङ्गो लागेको छैन। 

एशियन कपको तयारीका क्रममा रहेका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले व्यहोर्नुपर्ने हो। 

तर खर्च कस्ले व्यहोर्नेभन्दा पनि स्वास्थ्य ठूलो रहेकाले सोमबार नै शल्यक्रिया गरिसकेको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले बताए।

 उनले थपे, 'राखेपसँग सल्लाह गछौँ, नभए एन्फाले पनि व्यहोर्छ, खेलाडीले व्यहोर्नु भने पर्दैन।' 

३ महिना मैदान बाहिर रहँदा रेनुकाले घरेलु मैदानमा हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन्। साफ भदौ १३ गतेदेखि २५ गतेसम्म हुनेछ। 

सन् २०१० देखि महिला राष्ट्रिय टोलीकी नियमित सदस्य रहँदै आएकी रेनुका दोस्रो पटक टोली बाहिर बस्नु परेको हो। 

यसअघि रेनुकाले १२ औँ दक्षिण एशियाली खेलकुद (साग) खेलकुद पनि गुमाएकी थिइन्। प्रधान सेनापति कप फुटबल प्रतियोगिताका दौरान घुँडामा समस्या आएपछि उनी टोलीबाहिर रहेकी थिइन्। 

एशियन कपको तयारीका लागि बन्द प्रशिक्षणका क्रममा रेनुकाले सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चोट बोक्न पुगेकी थिइन्। 

प्रशिक्षणका क्रममा कैलालीकी सरस्वती ऐरले ट्याकल गर्दा रेनुकाले सन्तुलन गुमाउँदै मैदानमा लडेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .