ad ad

खेल


अभ्यास खेलमा नेपाल विजयी

अभ्यास खेलमा नेपाल विजयी

नेपालखबर
असार १८, २०७९ शनिबार ७:६, काठमाडौँ

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ। शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२० रन बनाएको थियो। 

नेपालका लागि विकेटकिपर विनोद भण्डारीले अर्धशतकीय पाली खेलेका थिए। भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए। 

नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १३ ओभर ३ बल खेल्दै ४३ रनको साझेदारी गरेका थिए। 

देव खनाल ४४ बलमा २ चौकासहित २७ रनमा क्याच भए। दोस्रो विकेटका लागि देव खनाल र आसिफले ५० रनको साझेदारी गरेका थिए। उपकप्तान रोहित पौडेल दर्शिल पटेलको बलमा २ रनमा क्याच आउट भए।

आरिफ शेख अमर खालिदको २६ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९÷१९ रनमा आउट भए। बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन जोडे। ओन्टारियोको शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ओन्टारियो ४२ ओभर ५ बल खेल्दै १५१ रनमा अलआउट भयो।  नेपालका लागि पवन शर्राफले तीन विकेट लिए। 

दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

नेपालले अब क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ। उक्त खेलपछि टोली स्कटल्यान्ड जानेछ। क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ।

 नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सोझै खेल्न र ओडीआई मान्यतालाई निरन्तरता दिन दिन बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ। नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ। अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ। प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ। ओडीआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .