ad ad

खेल


‘कर्मा छिरिङको कार्यशैलीले कमजोर बनेको एन्फा बलियो बनाउन मेरो दाबेदारी’

‘कर्मा छिरिङको कार्यशैलीले कमजोर बनेको एन्फा बलियो बनाउन मेरो दाबेदारी’

एन्फा अध्यक्षका प्रत्याशी पंकजविक्रम नेम्वाङ। तस्बिर/भिडिओ : विजय सिंह


लक्ष्मी जि.सी
जेठ ३१, २०७९ मंगलबार १३:५३, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको मिति नजिकिँदै गर्दा सरगर्मी बढ्दो छ।

असार ६ गते हुने निर्वाचनमा अध्यक्ष बन्ने दौडमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लागेका छन्। 

अध्यक्षका प्रत्याशी दुवैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। अर्का प्रत्याशी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेल भने एक्लै चुनावी मैदानमा होमिएका छन्। 

चुनावमा उठेका तीनै जना अध्यक्षका प्रत्याशीले आआफ्ना एजेण्डाहरु सार्वजनिक गरिसकेका छन्। 

अध्यक्षका प्रत्याशीमध्येका एक पंकज विक्रम नेम्वाङ आफूहरुको जित निश्चित रहेको दाबी गर्छन्। नेपालखरबसँगको कुराकानीमा नेम्वाङले भने, ‘हाम्रो तयारी राम्रो छ। जित्ने तयारी हो, हाम्रो टिम विजयी हुन्छ।’ 

यसअघिको निर्वाचनमा एउटै प्यानलबाट चुनाव लडेका नेम्वाङ र शेर्पा यो पटक फरक प्यानलबाट अध्यक्षका लागि लड्दै छन्। 

‘यो नेतृत्व पारदर्शी हुन सकेन’ 
पहिले एउटै प्यानलमा लागे पनि अध्यक्ष शेर्पाले भनेअनुसारको काम नगरेकाले आफू नै नेतृत्वका लागि उठ्नुपरेको नेम्वाङले बताए। 

उनले भने, ‘कर्माजीले पहिलेको मुख्य नारा परिवर्तनको निम्ति सामूहिक एकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता यो नारामा मात्र सीमित राख्नुभयो। समितिलाई अधिकार दिन्छौँ भन्नुभएको थियो तर त्यो आफैँमा सीमित राख्नुभयो। समिति र कार्यसमितिको अधिकार छलकपटपूर्ण ढंगले राख्नुभयो। यो नेतृत्व पारदर्शी हुन सकेन।’ 

शेर्पाको कार्यशैलीले संस्था बलियो नहुने, फुटबलले विकास नलिने भएको कारण नै नेम्वाङ समूहले फुटबलमा सामूहिक नेतृत्व गर्ने, परिवर्तन ल्याउने, अधिकार र बजेटको विकेन्द्रीकरण गर्ने सबै पक्षलाई समान ढंगले व्यवहार गर्ने भन्ने हिसाबले समूह बनेर अगाडि बढेको उनको भनाइ छ। 

वर्तमान नेतृत्वले गरेको कामको जिम्मेवारी नैतिक रुपमा भने आफूले लिने नेम्वाङले बताए। अहिलेको नेतृत्वले गर्न नसकेको र गरेको नराम्रो कामको भागीदार देख्दा आफू परे पनि नैतिक रुपले प्रत्येक बैठकमा संस्था, विधान र नियमावलीविरुद्धको निर्णयमा नोट अफ डिसेन्ट लेख्दै आएको नेम्वाङ सुनाउँछन्। 

नेम्वाङ पनि शेर्पा नेतृत्वमा रहेको वर्तमान कार्यसमितिमा रहेकाले अहिलेको नेतृत्वको जस अपजस आफूले पनि लिनुपर्ने हुन्छ। यसमा वरिष्ठ उपाध्यक्षका नाताले आफूले लिनुपर्ने विषयको जस अपसज लिने नेम्वाङले बताए। 

तर विधानविरुद्धको काम नगर्नका लागि आवाज भने उनले उठाइरहेको दाबी गरे। 

के छन् नेम्वाङका योजना?
आगामी निर्वाचनबाट आफू नेतृत्वमा आए एन्फालाई व्यवस्थित र चुस्तदुरुस्त रुपमा अगाडि बढाउने योजना नेम्वाङ समूहले बनाएको छ। 

फुटबलको विकासका लागि ग्रासरुट र युथ फुटबललाई प्राथमिकतामा राख्दै प्रभावकारी ढङगले काम गर्ने उनको योजना छ। आफ्नो कार्यकालमा १४, १६ र १८ वर्ष उमेर समूहका लागि महिला र पुरुष खेलाडीका लागि कम्तीमा ५० वटा एकेडेमी सञ्चालन गर्ने, काठमाडौंमा रहेका क्लबले प्रशिक्षण गर्नका लागि कम्तीमा ४ वटा कृत्रिम घाँसेमैदान निमार्ण गर्ने, शहिद स्मारक ए, बी र सी डिभिजनका लिगको समयावधि बढाउँदै राउन्डरोबिनमा लैजाने र राष्ट्रिय लिग सञ्चालन गर्ने एजेण्डा नेम्वाङ समूहले बनाएको छ। 

क्लबहरुलाई तयारी खर्चमा प्रोत्साहन गर्ने, खेलकुद क्लबलाई व्यावसायिक रुपमा अगाडि बढाउन जरुरी रहेकाले त्यसमा काम गर्ने नेम्वाङले बताए। 

यस्तै स्थायी समितिलाई अधिकार प्रत्यायोजन गर्ने, बजेटको समानुपातिक हिसाबमा बाँडफाँट गर्ने, जिल्लामा बजेट न्यून भएकाले त्यसलाई क्रमशः बढाउँदै लग्ने एजेण्डा यो समूहको छ। अहिले नेपालमा नै खेलेर बाँच्न सक्ने वातावरण रहेकाले फुटबललाई अझै व्यावसायिक बनाउने र खेलाडी पलायन रोक्न लिगको अवधि बढाउने नेम्वाङ समूहले बताएको छ। 

पछिल्लो समय महिला होस् वा पुरुष उमेर समूहको प्रदर्शन खस्किँदै गएको छ। प्रभावकारी रुपमा ग्रासरुटका कार्यक्रम सञ्चालन नहुँदा एक/दुईवटै लिगका भरमा खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ। खेलाडी अभावमा नै अहिले यू–२० च्याम्पिनयसिपका लागि देशभर सूचना निकालेर खेलाडी छनोट गर्नुपर्ने अवस्था छ। त्यस्तो अवस्था नहोस् भनेर विभिन्न उमेर समूहका एकेडेमी सञ्चालन गर्ने नेम्वाङले बताए। 

उनले भने, ‘यसका लागि विभिन्न गाउँपालिका, नगरपालिका क्लबसँग मिलेर काम गर्न आवश्यक ठान्छौँ, यसले राष्ट्रिय टोलीसँगको उमेर समूहको ग्याप (अन्तर) कम गर्न सहयोग पुग्छ।’ 

नेपाली फुटबलको इतिहासलाई हेर्ने हो भने पुरुष फुटबलभन्दा महिला फुटबलले धेरै सम्भावना बोकेको छ। साफको स्थायी उपविजेताको परिचय बनाएको महिला फुटबलका लागि अब स्वर्ण पदकको सम्भावना बलियो बनाउन बजेट र कार्यक्रम ल्याउने यो समूहको दाबी छ। 

महिला फुटबलको विकासका लागि रौतहटको महिला फुटबल एकेडेमी सञ्चालनमा ल्याउने, गाउँपालिका, नगरपालिका र प्रदेश सरकारसँग मिलेर एकेडेमी चलाउने जस्ता योजना नेम्वाङ समूहको छ। 

‘मतभेद र मनभेद नगरी काम गर्छौँ’
आफू विजयी भएर नेतृत्वमा आएपछि वर्तमान नेतृत्वमा देखिएजस्तो मतभेद र मनभेद हुन नदिने नेम्वाङ दाबी गर्छन्। 

उनका अनुसार सबै अधिकार कार्यसमितिमा केन्द्रित हुँदा निरंकुश हुन्छ। ‘एन्फाका केही पूर्वअध्यक्षहरुले राम्रो गरेनन् भनेर विरोध गर्यौँ तर आफैँ नेतृत्वमा आएपछि पनि उस्तै भयो’, नेम्वाङ दाबी गर्छन्। 

तर आफू विजेता बनेमा अधिकार विकेन्द्रीकरण गर्दै सबैलाई कर्तव्यबोध हुने गरेर काम गर्न क्रियाशील बनाउने, आफैँमात्र क्रियाशील नहुने, सबैलाई एकजुट बनाएर राख्ने नेम्वाङले बताए। 

अहिले जति मतदाताले साथ दिएका छन्, उनीहरुको विश्वास जितेर काम गर्ने र त्यही विश्वासको आधारमा नै बहुमत साथीले साथ दिएको नेम्वाङको तर्क छ। 

चुनाव जसको र जुनसुकै होस् शक्ति र आर्थिक विषय सधैँ जोडिएर आउँछन्। शक्ति भनेको मतदाता भएकाले बहुमत मतदाता आफ्नो पक्षमा रहेको उनको तर्क छ। 

नेम्वाङले भने, ‘चुनावको समयमा सामान्य खर्च त हुन्छ तर आर्थिक चलखेल अत्यधिक हुने गरेको सुन्दै आएकोले त्यसको विरुद्धमा नै हाम्रो उम्मेदवारी हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .