खेल


राष्ट्रपति भण्डारीद्वारा १३ औं सागको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा १३ औं सागको उद्घाटन

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १२:२०,

राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच सागको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारी, खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवालसहित विभिन्न राजनीतिक पार्टीका नेता, खेलाडी तथा पत्रकारहरुको सहभागिता छ।

उद्घाटन समारोहको पहिलो घण्टामा अन्तर्राष्ट्रिय परम्परा अनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, सपथ ग्रहण गर्ने, मार्च पास गर्ने, स्वागत मन्तव्य राख्ने तथा सम्बोधनको कार्यक्रम भएको छ।

कार्यक्रममा नेपाली मौलिक कला संस्कृतिको प्रदर्शनी पनि हुनेछ। हाल उद्घाटन सत्र जारी छ।

उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाट समेत विशेष प्रस्तुती भएको छ।

कार्यक्रममा ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउने कार्यक्रम पनि छ। मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने समेत कार्यक्रम छ। अन्तिममा आतिसबाजीसहित उद्घाटन समारोहको समापन हुनेछ।

३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा

काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुँदैछ।

यसअघि १९९९ मा भएको आठौं सागमा नेपालले ३१ पदक हात पारेको थियो। उक्त कीर्तिमानलाई तोड्दै नेपालले यसपटक कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्य राखेको राष्ट्रिय खेलकदु परिषद् ९राखेप०का सदस्यसचिव रमेशकुमाल सिलवालले बताए। राखेपले २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा पठाउनुका साथै बाँकी खेलका विदेशी प्रशिक्षकलाई स्वदेशमा झिकाएर प्रशिक्षण गराएको थियो।

सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। तेक्वान्दोमा २९, भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ। यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै साइक्लिङमा ८, ब्याडमिन्टन, टेबल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५ वटा स्वर्ण, स्क्वास र गल्फमा ४, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, कबड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

राखेपका अनुसार खेल अवधिभर सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी हुनेछन्। सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउँदै छन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरि एक सय ८६ ले पनि सहभागिता जनाउने छन्। भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसयलले सहभागिता जनाउँदै छन्।

बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल, श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८३ अफिसियल, माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल गरि जम्मा ३७ सय ९ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकले सहभागिता जनाउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad