ad ad

खेल


उमेर समूहको खस्किँदो प्रदर्शन : लगानी घट्दै, अपेक्षा बढ्दै

उमेर समूहको खस्किँदो प्रदर्शन : लगानी घट्दै, अपेक्षा बढ्दै

लक्ष्मी जि.सी
जेठ २६, २०७९ बिहिबार १३:१८, काठमाडौँ

खेलकुदमा उमेर समूहको प्रदर्शनलाई हरेक देशको राष्ट्रिय टोलीको भविष्यसँग जोडेर हेरिन्छ। उमेर समूहमा गरिएको लगानीको प्रतिफल राष्ट्रिय टोलीबाट लिन सकिने विश्वास खेल जगतमा छ। 

तर उमेर समूहमा नेपालको अवस्था ठीक उल्टो छ। नेपालको उमेर समूह पर्याप्त लगानी गर्न सम्बन्धित संघ नै अघि सर्दैनन्।

ग्रासरुटबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताइन्छ। तर त्यसतर्फ कसैको ध्यान जान सकेको छैन। प्रतियोगिताको आउँदा मात्रै गरिने सानो लगानीबाटै जित खोज्ने नेपाली परम्परा छ। 

उमेर समूहका खेलाडीमा गरिने थोरै लगानीबाट धेरै अपेक्षा गर्दा खेलाडीमाथि मनोवैज्ञानिक दबाब बढ्न जान्छ। सम्बन्धित खेल संघ र सरोकारवालाको ध्यान दिन सके सिनियर खेलाडीले भन्दा राम्रो नतिजा उमेर समूहबाट निकाल्न सकिन्छ।

कम लगानीको प्रतिफल कस्तो हुन्छ भनेर नेपालका पछिल्ला दुई खेल हेरे मात्रै पर्याप्त हुन्छ।

केही समयअघि नेपालको यू–१९ महिला फुटबल टोलीले खेलेको साफ च्याम्पियनसिपको नतिजा र मलेसियामा भएको आईसीसी यू–१९ महिला विश्वकप छनोट खेलले हाम्रो अवस्था झल्काउँछ। 

लगानी शून्य, छोटो समयको तयारीका कारण उमेर समूहमा खेलाडीले अपेक्षाकृत नतिजा ल्याउन सकेका छैनन्। 

मलेसियामा यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुरुवातमा नेपाललाई उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो।

पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदै सानदार सुरुवात नेपालले दोस्रो खेलमा युएईसँग ८ रनमा नै अलआउट भयो। यो नतिजा नेपाली क्रिकेट इतिहासकै खराब प्रदर्शन हो।

यसले पनि उमेर समूहमा हाम्रो स्तर कहाँ पुगेछ भनेर प्रष्ट पारेको छ। युएईसँगको १० विकेटले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपनामा समेत धक्का पुगेको थियो।

तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको नेपाल चौथो खेलमा भने थाइल्याण्डसँग ८९ रनले पराजित भयो। छनोटको अन्तिम खेलमा मलेसियालाई २५ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ। 

छोटो समयको तयारी, पर्याप्त लगानी नहुनु महिला क्रिकेट ओरालो लाग्नुको मुख्य कारण हो। विश्वकपसम्मको लक्ष्य लिएको महिला टोलीले केही समयमा पोखरामा प्रशिक्षण गर्यो।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अभ्यास खेलसमेत नखेलेको नेपाली टोलीले सिधै प्रतियोगिताका लागि फिल्डमा उत्रिँदा पक्कै पनि दबाब महसुस गरे होलान्। 

तर अन्य देशमा भन्दा उमेर समूहमा नेपालले लगानी बढी गरेको दाबी गर्छन् नेपाली टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए।

अन्य देशले टप खेलाडीलाई मात्र लिएर लामो समय प्रदर्शन गर्छन् तर हामीले प्रतियोगिता खेलाउँदै सयजना खेलाडीबाट १६ जनामा आउँदा त्यस्तो देखिएको उनले बताए। 

चौधरीले भने, ‘नेपाली ब्याटरको मुख्य समस्या भनेको रन बनाउन नसक्नु नै हो, यो उमेर समूहमा मात्र होइन, सिनियर टोलीसम्म उस्तै देखिएको छ। यसमा हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ।’

छनोटकै समयमा प्रतियोगिताको नियम थाहा नपाउँदा पनि केही खेलाडी टोलीमा समावेश नहुँदा पनि त्यसको असर परेको चौधरीले बताए।

टोलीको मुख्य खेलाडी स्पिनर हिरनमयी रोय टोलीमा नहुँदा पनि टोलीमा असर देखिएको चौधरीको अनुमान छ।

हिरनमयीको कागजात प्रक्रियामा समस्या भएर उनी टोलीमा समावेश हुन सकिनन्। त्यस्तै ज्योत्सिना मरासिनी, टिका शाह, सावित्री धामी, प्रतिमा शाह र मनीषा चौधरी जस्ता खेलाडी कम उमेरका कारण यू–१९ मा सहभागी हुन पाएनन्। 

यदि यो कुरा पहिले नै थाहा भएको भए आफूहरुले त्यही अनुसार नै तयारी गर्ने चौधरीले सुनाए। 

नेपालको पुरुष क्रिकेट इतिहासलाई फर्केर हेर्ने हो भने यू–१९ टोली सर्वाधिक सफल टोली हो। तर महिला क्रिकेटमा भने क्यानको खासै ध्यान जान सकेको छैन।

पछिल्लो समय नेपाली टोलीको प्रदर्शन खस्किँदै जाँदा यही उमेर समूहमा नेपालले सन् २००८ मा थाइल्याण्डमा भएको एसिसी यू–१९ महिला च्याम्पियनसिप जितेको थियो।

त्यतिबेला नेपाली टोली नेरी थापाको कप्तानीमा खेलेको थियो। सन् २०१२ मा नेपालले दोस्रो पटक यू–१९ टोली महिला च्याम्पियनसिपको अर्को उपाधि उचाल्यो। त्यतिबेला भने टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .