ad ad

खेल


अनु लामा : जो मैदानमा दर्शकसँग विदा माग्दै राष्ट्रिय जर्सी थन्क्याउन चाहन्थिन्

अनु लामा : जो मैदानमा दर्शकसँग विदा माग्दै राष्ट्रिय जर्सी थन्क्याउन चाहन्थिन्

फुटबल खेलाडी अनु लामा। तस्बिर : विजय सिंह


लक्ष्मी जि.सी
जेठ २४, २०७९ मंगलबार ६:४६, काठमाडौँ

राष्ट्रिय टोलीबाट खेल्ने सपना कुन खेलाडीको नहोला र! अधिकांश खेलाडी यसकै लागि दिनरात मिहिनेत गर्छन्। त्यसमा कतिले टोलीको हिस्सा बनेर देशका लागि खेल्ने अवसर पाउँछन्, केहीले पाउँदैनन्। 

यसरी खेलेका धेरैको चाहना खेलजीवनको अन्त्यमा समर्थकलाई अभिवादन गर्दै विदा लिन पाइयोस् भन्ने हुन्छ। नेपालमा फुटबल र क्रिकेटका खेलाडीले मैदानकै बीचमा अन्तर्राष्ट्रिय खेलबाट संन्यासको घोषणा गरेका छन्। त्यस्ता सीमित मात्र खेलाडी छन् जसले घरेलु समर्थकबीचमा खेल जीवनलाई पूर्णविरामको घोषणा गर्न पाएका छन्। 

चाहेर सबै खेलाडीले घरेलु मैदानबाट विश्राम लिन पाउँछन् भन्ने छैन। कतिपय खेलाडी त्यसलाई आफ्नो भाग्यसँग पनि जोडेर हेर्छन् । त्यही अधूरो सपनाकै बीच राष्ट्रिय टोलीको जर्सी थन्क्याउने ‘अभागी’ खेलाडी बनेकी छिन्– राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान अनु लामा।

अनु एउटा खेलाडी वा पूर्वकप्तान मात्रै होइनन्, महिला फुटबलले पाएको अहिलेसम्मको सफलताको मुख्य हिस्सामध्येकी एक हुन्। लामो समय राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीमा अनुकै नाम थियो। सन् २०१६ मा १२औँ दक्षिण एसियाली खेलकुद (साग) का दौरान उनले आफ्नो खेल जीवनको ३५औँ गोल गरेकी थिइन्।

त्यसअघि जमुना गुरुङको नाममा रहेको २५ गोलको कीर्तिमानलाई अनुले भंग गरेकी थिइन्। अनुको त्यो सर्वाधिक गोलको कीर्तिमानलाई सावित्रा भण्डारी साम्बाले १३औँ सागका दौरान पछि पारेकी थिइन्। साम्बाको नाममा ३८ गोलको कीर्तिमान छ।

करिब डेढ दशक राष्ट्रिय टोलीलाई समर्पित गरेकी अनुको सपना थियो अन्तिम पटक राष्ट्रिय टोलीको जर्सी लगाउने। सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपमा उनी राष्ट्रिय टोलीबाट विदा लिन चाहन्थिन्। तर उनको त्यो सपना अपूरो नै रह्यो। उनले टोलीमा स्थान बनाउन सकिनन्। उनले राष्ट्रिय टोलीबाट विदा लिने चाहना एन्फा पदाधिकारी र प्रशिक्षकलाई पनि सुनाएकी थिइन् तर त्यसमा कोहीले ध्यान दिएनन् र विराटनगरमा साफ चलिरहँदा अनुले संन्यास घोषणा गरिन्।

राष्ट्रिय टोलीबाट विदा लिए पनि उनी नेपाल एपीएफ क्लबबाट घरेलु फुटबलमा सक्रिय छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको राष्ट्रिय महिला लिगको पहिलो चरण सकिँदा उनकै कप्तानीमा रहेको नेपाल एपीएफ क्लब शीर्ष स्थानमा छ।

मनमा लागेको चोट​
राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेपछि महिला फुटबलमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अनुलाई एन्फाले १५ लाख रुपैयाँले सम्मान गर्यो। तर त्यो सम्मानले आफ्नो मनमा लागेको चोट भने निको नपार्ने उनी गुनासो गर्छिन्। 

‘एन्फाले १५ लाख दिएर सम्मान त गर्यो तर त्यो पैसा मैले कहाँ के गरे कोहीलाई थाहा छैन’, उनले भनिन्, ‘घरेलु मैदानमा दर्शकको अगाडि विदा लिन पाएको भए कति खुसी मिल्ने थियो मलाई। बरु त्यो पैसा नपाएर केही हुँदैनथ्यो।’ 

यो बेलामा उनले मनमा अर्को संकल्प गरिन्– शरीरले साथ दिने बेलासम्म एपीएफबाट खेल्छु। सन् २०१० मा नै राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएकी अनु थोरै सेवासुविधामा पनि आफूहरुले राम्रो गरेको सुनाउँछिन्। माल्दिभ्ससँगको डेब्यु खेलमा उनले ह्याट्रिक गरिन्। त्यो खेलमा पहिलो गोल नै उनको नाममा रह्यो। गोल गरेपछि अझै गोल हान्नुपर्छ भनेर उत्साहित भइन् र आफूलाई रोक्न सकिनन्।

अधूरै रह्यो सपना
राष्ट्रिय टोलीको जर्सी लगाएर अधूरो रहेको अनुको अर्को सपना हो, नेपाललाई स्वर्ण पदक दिलाउन नसक्नु। दक्षिण एसियामा नै नेपाल कुनै पनि प्रतियोगिताको सदावहार उपविजेता हो। नेपालको सफलतामा हरेक पटक भारत तगारो बन्दै आएको छ।

सबैखाले प्रतियोगिताको फाइनलमा पुग्ने भनेको नेपाल र भारत हुन् तर सधैँ विजेताको ट्रफी भारतले उचाल्ने गरेको छ। त्यो बेलामा राम्रो मार्गनिर्देश नपाएको कारण नै भारतलाई पराजित गर्न नसकेको अनुको अनुभव छ। 

‘मैदानमा रहँदा सबैले राम्रो खेलेको जस्तो लाग्छ तर त्यो बेलामा बाहिर रहेका सिनियरले राम्रो गाइड गरेको भए सायद हामीले जित्न सक्थ्यौँ कि’, उनले भनिन्। 

मिहिनेत गरिन् तर भाग्यले साथ दिएन
सन् २०१६ मा चोट बोकेपछि उनले पुनरागमनका लागि निकै मिहिनेत गरिन् तर भाग्यले उनलाई साथ दिएन। अनु २०१६ अघि एपीएफबाट शान्ति मिसनका लागि बाहिर गइन्। त्यहाँबाट फर्केर आएर भारतमा भएको साग खेल्न पुगिन्। त्यहाँ उनले २ गोल गरिन्।

त्यहाँबाट फर्केपछि अनुले चोट बोक्न पुगिन्। हल्चोकस्थित फुटबल मैदानमा नै प्रशिक्षणका क्रममा २०७१ को भदौमा दायाँ खुट्टामा चोट बोकिन्। चोटपछि उनको खेल जीवन पूरै बदलियो। 

खुट्टाको शल्यक्रियापछि खेलमा पुनरागमन गर्ने आशामा उनले धेरै मिहिनेत गरिन्। त्यसको परिणामस्वरुप भारतमा भएको हिरो गोल्डकपमार्फत अनुले राष्ट्रिय टोलीमा पुनरागमन त गरिन् तर अधिकांश समय बेन्चमा नै सीमित रहनुपर्यो।

म्यान्मारसँगको खेलमा उनले लगभग ५ मिनेट मैदानमा बिताइन्। त्यो नै उनको अन्तिम अन्तर्राष्टिय खेल बन्यो। त्यसपछि पनि उनले राष्ट्रिय टोलीमा पर्न लगातार मिहिनेत गरिरहे पनि सफल हुन सकिनन्। 

झुम्रो र प्लाष्टिकको बल बनाएर खेल्थिन्
मकवानपुरमा जन्मिएकी अनुको बाल्यकाल भने मामाघर सिन्धुलीमा बित्यो। ७ सन्तानमध्येकी साहिली छोरी हुन् अनु। त्यहाँ रहँदा रमाइलोको लागि झुम्रो र प्लाष्टिकको बल बनाएर खेल्थिन्।

त्यसपछि उनको परिवार तराई रौतहट सर्यो। अनि उनको पढाइ र औपचारिक खेल जीवन पनि त्यहीँबाट सुरु भयो। त्यति बेला दुई गाउँको बीचमा बाजी राखेर खेल्ने गरिन्थो। त्यसमा उनी पनि समावेश भइन्। खेल जीवनको सुरुवातमा नै उनी अग्रपंक्तिमा खेलेकी होइनन्। पुरुष टोलीमा गोलरक्षक बस्थिन्।

त्यतिबेला उचाइ बढी चाहिन्थ्यो तर उनी अलिक होचो कदको थिइन् तर पनि किपर खेलिन्। 

त्यो बेलामा खेल्दै जाँदा उनले अग्रपंक्तिमा खेलेर स्किल देखाउन थालिन्। उनको क्षमता देखेर प्रशिक्षकले तिमी अग्रपंक्तिमा नै खेल भन्नुभयो अनि उनी गोलरक्षकबाट स्ट्राइकर बनिन्।

उनलाई त्यो बेलामा महिलाको राष्ट्रिय टोली छ भनेर थाहा थिएन। पुरुष टोलीको भने नेपाल ११ भन्ने टोली छ भन्ने थाहा पाइन्। 

आफू जसरी फुटबलमा भिज्दै गइन् अनि नेपाल र बाहिर पनि महिलाको टोली हुने रहेछ है भनेर थाहा पाइन्। त्यो समयमा पनि उनलाई एपीएफको क्लब छ भन्ने पनि थाहा थिएन। पुलिसको मात्र टिम छ भन्ने सोचेकी थिइन्। पछि उनलाई एपीएफले बोलायो र औपचारिक रुपमा एपीएफसँग जोडिइन्।

'अझै केही समय खेल्न सक्छु'
सक्रिय खेल जीवनमा रहँदा के गुमाइन् के पाइन् अनुले पक्कै पनि हिसाबकिताब गरेकी होलिन्। २०१९ मा संन्यास लिएपछि उनले २/३ वर्ष खेल्ने सोचेकी थिइन्। तर विभाग र टोलीको साथका कारण पनि अझै केही समय खेल्न सक्छु भन्नेमा अनु दृढ छिन्।

जसको लागि उनले आफूलाई पनि तयार पारिरहेकी छिन्। फिजिकल फिटनेसमा ध्यान दिएकी छिन्। खेल जीवनपछि के गर्ने भनेर कुनै ठोस योजना त बनाएकी छैनन् तर प्रशिक्षणमा लाग्ने सम्भावना भने देख्छिन्। 

‘आफ्नै ठाउँमा फर्केर राष्ट्रिय टोलीका लागि महिला फुटबल खेलाडी उत्पादन गर्ने सपना छ’, उनी थप्छिन्, ‘म आफ्नो ठाउँमा पुगेर आफूजस्तै खेलाडी बनाउन चाहन्छु।’

भिडिओ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .