खेल


एभरेष्ट प्रिमियर लिग गर्न नदिए क्यानका क्रिकेट प्रतियोगितामा साथ नदिने व्यावसायिक घरानाको घोषणा

एभरेष्ट प्रिमियर लिग गर्न नदिए क्यानका क्रिकेट प्रतियोगितामा साथ नदिने व्यावसायिक घरानाको घोषणा

नेपालखबर
जेठ ९, २०७९ सोमबार १६:१२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्न नदिए व्यवसायिक घरानाहरुले क्यानका क्रिकेट प्रतियोगितामा साथ नदिने घोषणा गरेका छन्। 

ईपीएल आयोजकले फ्रेन्चाइज क्लबका ६ जना मालिकसँगै सोमबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा ईपीएल आयोजना गर्न नदिएको खण्डमा आफूहरुले क्यानले गर्ने क्रिकेटका सबैखाले प्रतियोगितामा प्रायोजन नगर्ने चेतावनी दिएका हुन्। 

क्यानले गत बुधबार पत्रकार सम्मेलनमा नेपाल टी–२० लिगको घोषणा गर्दै नेपालमा अब उस्तै खालको अन्य फ्रेन्चाइज लिग नेपालमा आयोजना नहुने बताएको थियो। 
क्यानको उक्त घोषणाले आफूहरु स्तब्ध भएको भन्दै ईपीएल आयोजना गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो। 

ईपीएलका फाउण्डर आमिर अख्तरले भने, ‘क्यानले हामीसँग ईपीएल आयोजना गर्न दिँदैनौँ भनेर त्यस्तो केही भनेको थिएन।, मौखिक रुपमा क्यानले टी–२० फ्रेन्चाइज गर्ने बताए पनि हामीलाई पनि सहयोग गर्ने बताएका थिए।’ 

अघिल्लो संस्करण ईपीएल आयोजनाका लागि क्यानले नै सहयोग गरेका कारण पनि आफूहरुले क्यानबाट यस्तो अपेक्षा नगरेको अख्तरले सुनाए। 

उनले थपे, ‘हामीले फ्रेन्चाइज टोली र व्यावसायिक घरानासँग सम्झौता गरिसकेका छौँ, अहिले हामीले हाम्रो आम्दानीभन्दा पनि प्रतियोगिताका लागि चिन्तित छौँ, खेलाडी उत्पादनमा हामीले सहयोग गरिरहेका थियौँ। हाम्रो माग भनेको ईपीएल पनि आयोजना हुनुपर्छ भन्ने हो।’ 

नेपालमा लामो समय क्यान निलम्बनको समयमा पनि ईपीएलले आईसीसीसँग समन्वय गरेर लगातार चार संस्करण आयोजना गरेको थियो। 

लगातार ४ संस्करण फ्रेन्चाइज लिग आयोजना हुने ईपीएल पहिलो प्रतियोगिता हो। 

पत्रकार सम्मेलनमा काठमाडौं किंग्स इलाभेनका मालिक सञ्जय अग्रवाल, ललितपुर प्याट्रियट्सका किशोर महर्जन, पोखरा राइनोजका मालिक साहिल अग्रवाल, भैरहवा ग्लाडियटर्सका आदित्य सांघाई, चितवन राइनोजका किशोर भट्टराई उपस्थित थिए। 

फ्रेन्चाइज क्लबका मालिकहरुले एकै स्वरमा भने, ‘नेपाल टी–२० लिग आयोजनाको कुनै आपत्ति छैन, ईपीएल हुनुपर्छ भन्ने मात्र हाम्रो माग हो। स्वदेशी कम्पनीले प्रतियोगितामा लगानी गरिरहेको अवस्थामा लिग हुन दिन माग अनुरोध मात्र गरेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .