ad ad

खेल


युगान्डाविरुद्धको अन्तिम खेलमा नेपाल ३३ रनले विजयी

युगान्डाविरुद्धको अन्तिम खेलमा नेपाल ३३ रनले विजयी

नेपालखबर
जेठ ७, २०७९ शनिबार १९:३२, काठमाडौँ

युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी-२० शृंखला अन्तर्गत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपालले ३३ रनको जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम ट्वान्टी-२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित आत्मसात गरेको हो। 

यद्यपि पाँच म्याचको टी-ट्वान्टी सिरिजमा युगान्डा ३-२ ले विजयी बनेको छ। यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ। 

१२४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन। 

जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए। 

सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे। कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सीता राना मगरले समान दुई/दुई विकेट निकाल्दा आस्मिना कर्माचार्य र हिरामाई रोयले समान एक/एक विकेट आफ्नो नाममा लेखाए।

जितपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिइन्।

धेरै पछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमी कमजोरी औल्याउँदै १०/१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उनले बताइन्।

‘लामो समय पछि घरेलु मैदानमा भएको शृंखलामा हाम्रो लागि सकारात्मक रह्यो। अघिल्ला खेलमा भन्दा हामीले आजको खेलमा १०/१५ रनको लागि मिहिनेत गर्दा राम्रो भयो', उनले भनिन्।  

यसअघि, युगान्डाले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो। 

अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धशतक बनाउन १ रनले चुकिन्।

६१ बलको सामना गरेकी ज्योतिले ३ चौकासहित व्यक्तिगत ४९ रनको पारी खेलेकी हुन्। 

यस्तै सीता राना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाइन्। कविता जोशीले नटआउट १८ रन बनाउँदा अपसरी बेगम ११ रनमा पवेलियन फर्किइन्। रुबिना क्षेत्री र डोली भट्ट दुवै शून्य रनमा पोविलियन फर्किए।

युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए। पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो। 

नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो। तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .