ad ad

खेल


जिम्बाब्वे ‘ए’विरुद्धको टी२० शृंखला नेपालद्वारा बराबरी

जिम्बाब्वे ‘ए’विरुद्धको टी२० शृंखला नेपालद्वारा बराबरी

नेपालखबर
बैशाख २१, २०७९ बुधबार १६:१०, काठमाडौँ

जिम्बाब्वे ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। 

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको टी२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको हो। 

१३७ रनको लक्ष्य पाएको नेपालले १५.५ ओभरमा २ विकेट क्षतिमा जित निकालेको हो। 

नेपालको जितमा ओपनर आसिफ शेखले ८७ रनको पारी खेल्दै नटआउट रहे। 

उनले ५४ बलमा १३ चौका र १ छक्का मद्दतमा ८७ रन बनाएका हुन्। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा ३४ रन बनाए भने बासिर अहमदले १५ बलमा १० रन बटुले। भुर्तेल बल्ड हुँदा अहमद क्याचआउट भए। १ बल खेलेका दीपेन्द्र सिंह ऐरीले रन बनाउन सकेनन्। उनी नटआउट रहे। 

जिम्बाब्वे एका बलरहरु जम्न सकेनन्। पाहुना टोलीका भिक्टर न्याउची, ट्रेभर ग्वान्दु, ब्राड इभान्सले विकेट लिन नसके पनि ल्युक जोंग्वे र ब्रान्डन माभुताले १÷१ विकेट लिए। 

यसअघि पाहुना टोलीले घरेलु टोलीलाई सामान्य लक्ष्य पेस गरेको थियो। 

टस जितेर फिल्डिङ रोजेको नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेपछि निर्धारित २० ओभरको खेलमा जिम्बाब्वे ए टोलीले ७ विकेट गुमाउँदै १३६ रनमात्र बनाउन सक्यो। 

त्यसका लागि इन्नोसेन्ट काइयाले ११ बल खेल्दै १४ रन बनाएर क्याचआउट भए भने टादिवानाशे मारुमानीले ३० बलमा २७ रन बटुले। 

त्यस्तै कुडजाई मौन्जेले ६ बलमा ६ रन, रोय काइयाले ४१ बलमा ४९ रन, टी मुनयोंगाले ४ बलमा २ रन, सी मादान्देले ५ बलमा ४ रन, एलएम जोंग्वेले २३ बलमा २३ रन बनाउँदै नटआउट रहँदा बी एभान्सले २ बलमा २ रनको योगदान गरे। 

नेपालका बलर सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १९ रन दिएर १ विकेट झार्दा करण केसी, अविनाश बोहोरा, आदिल आलम विकेटविहीन भए। 

बासिर अहमदले ४ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट झारे। कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। 

नेपालले पाहुना टोलीलाई अतिरिक्त ९ रन दिएको थियो। 

शृंखला बराबरी
योसँगै नेपालले जिम्बाब्वे एविरुद्धको टी२० शृंखला बराबरी गरेको छ। यसअघि पहिलो खेल पाहुना टोलीले जितेको थियो। दोस्रो खेल वर्षातका कारण रद्द भएको थियो। तेस्रो खेलमा शानदार जितसँगै नेपाल शृंखला बराबरी गर्न सफल भयो। 

तेस्रो खेलमा प्लेयर अफ द म्याच आसिफ शेख भए भने पाहुना टोलीका मारुमानी प्लेयर अफ द सिरिज भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .