ad ad

खेल


असन्तुष्ट खेलाडीले भने : प्रशिक्षकले गुट चलाए, यही अवस्थामा अल्मुताइरीसँग खेल्न सक्दैनौँ

असन्तुष्ट खेलाडीले भने : प्रशिक्षकले गुट चलाए, यही अवस्थामा अल्मुताइरीसँग खेल्न सक्दैनौँ

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १७:४०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीहरूले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरुमाथि अन्यायपूर्ण व्यवहार गरेको गुनासो गरेका छन्। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो गुनासो गरेका हुन्। डिफेन्डर रोहित चन्दसँग सुरु भएको विवाद बढ्दै जाँदा अल्मुताइरीले आफूहरु सबैलाई टिमबाट निकालेर नयाँ खेलाडी ल्याउने धम्की दिएको पनि बताएका छन्। 

'पछिल्लो घटनाक्रमले दुख लागेको छ। हामीमाथि अन्याय हुँदा उल्टै प्रश्न गरिएको छ। क्लब फुटबल नै हाम्रो आयआर्जनको स्रोत हो। क्लबभन्दा राष्ट्रिय टोलीलाई नै प्राथमकिता दिएका छौँ', पत्रकार सम्मेलनका क्रममा उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, 'प्रमुख प्रशिक्षकबारे हामीले प्रश्न गर्दा टिमबाट निस्केर जानु भन्दा दुख लागेको छ।'

उनीहरुले आफूहरुमाथि पटक पटक भएको अन्यायबारे बोल्दा राष्ट्रिय टिम नै छाडेर जानु भनेको बताए। 'हामीलाई राष्ट्रिय टिम नै छाडेर जान भनियो। हामीले यसबारेमा एन्फा नेतृत्वलाई पनि भनेका छौँ। हामीलाई क्याम्पबाट भागेको आरोप लगाइएको छ', उनीहरुले भनेका छन्, 'हामीले राष्ट्रिय टोलीमा रहँदा जिम्मेवारीपूर्वक खेलेका छौँ। हाम्रो मौतनाको फाइदा उठाउँदै पटक पटक दबाब दिए। हामीले त्यहीकारण प्रशिक्षकसँग छलफल गरेका हौँ।'

सामान्य कुरामा प्रश्न उठाउँदा पनि आफूहरुमाथि भएको व्यवहारले गम्भीर बनाएको उनीहरुले बताएका छन्। 'जुन किसिमको व्यवहार भयो हामीलाई दुख लागेको छ। हामीमाथिको अन्यायबारे बोल्दा टिमबाटै निस्केर जानु भनिएको छ', उनीहरुले अगाडि भने।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सोमबारदेखि सुरु भएको थियो। उपत्यकाबाहिरका खेलाडीलाई सुरुमा होस्टलमा राख्ने भनेर अन्त्यमा होटलमा राखिएको उनीहरुले बताएका छन्।

'हामीलाई आइतवार बन्द प्रशिक्षण हुने बताएका थिए। सुरुवातमा होस्टलमा बस्ने बताएपछि रोहितले आधारभूत पूर्वाधार नभएको, पानी र खाने कुरा पनि नभएको बताएका थिए', खेलाडीहरूले भनेका छन्, 'होस्टलमा बस्न नचाहनेलाई हात उठाउन भनिएको थियो। रोहितले हात उठाउँदा होस्टलमा बस्न नचाहनेलाई एसियन कपको क्याम्प छाड्न भनियो।'

अल्मुताइरीले विवादका क्रममा प्रशिक्षण नै नहुने भनेर जँगिएको पनि उनीहरुले बताए। यति हुँदा पनि आफूहरु प्रशिक्षणमा फिरेर सहायक प्रशिक्षक किरण श्रेष्ठले वार्म अप गराइरहँदा अल्मुताइरी आएर टोलीमा सामेल गर्न नसकिने भन्दै रोहितलाई निकालिदएको पत्रकार सम्मेलनमा खेलाडीहरूले बताए। 

विवादका क्रममा कृष्णभक्त मानन्धरलाई जर्सी बुझाएर रोहित बाहिरिएका थिए। तर सोमबार प्रशिक्षणमा गएका अरु खेलाडीहरुलाई पनि टिमबाट निकालेर नयाँ २३ खेलाडी हाल्ने चेतावनी अल्मुताइरीले दिएको उनीहरुले बताएका छन्। 

अल्मुताइरीको व्यवहारका कारण अब यही अवस्थामा उनीसँग काम गर्न कठिन हुने उनीहरुले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .