ad ad

खेल


नाइट क्लब जाने चार खेलाडी ‘म्याच फिक्सिङ’ अनुसन्धानको राडारमा

नाइट क्लब जाने चार खेलाडी ‘म्याच फिक्सिङ’ अनुसन्धानको राडारमा

यज्ञराज जोशी/लक्ष्मी जि.सी
मंसिर ६, २०७६ शुक्रबार १२:१७,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा जाने खेलाडीहरुमाथि ‘म्याच फिक्सिङ’मा समेत अनुसन्धान अघि बढाउने भएको छ।

कतारमा २०२२ मा हुने फिफा विश्वकप छनोट र २०२० चीनमा हुने एसिया कपको छनोट खेलका लागि नेपाली टोली कात्तिक ३० गते भुटानको थिम्पु प्रस्थान गर्नुपर्ने थियो। त्यसको अघिल्लो रात चार जना खेलाडीहरु नाइट क्लबमा गएको भेटिएपछि टिमबाट बर्खास्तीमा परेका थिए।

अनुशासनहीन काम गरेकोे आरोपमा बर्खास्त हुने खेलाडीमा चाइनिज ताइपेइविरुद्धको खेलमा दुई गोल गरेका अञ्जन विष्टसहित स्टार फरवार्ड विमल घर्तीमगर, उदीयमान मिडफिल्डर सन्तोष तामाङ र रक्षक दिनेश राजवंशी थिए।

विदाईको अघिल्लो रात खेलाडीहरु गायब भएको खबर पाएपछि गत कात्तिक ३० गते मुख्य प्रशिक्षक योहान कालिन, एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यवाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर कुरा गर्दा उक्त घटना बाहिर आएको थियो।

बिहानसम्म पनि मदिराको दुर्गन्ध आएका र अनुहारमा पनि चोट लागेका खेलाडीहरुले प्रशिक्षक तथा पदाधिकारीहरुलाई समेत आफूहरु राति नाइट क्लब गएको र मोटरसाइकल दुर्घटनामा परेको स्वीकारेपछि एन्फाले उनीहरुलाई टोलीबाटै बर्खास्त गर्ने कठोर निर्णय लिएको थियो।

‘दिनेशको त मुखभरि नै चोटपटक देखिएको थियो,’ एन्फा उपाध्यक्ष थापाले भने, ‘उनीहरुलाई बोलाएर सोध्दा पनि गल्ती स्वीकार्दै माफी मागेका हुन। भुटान जान योग्य नभएको भनेपछि प्रशिक्षकसँगको सल्लाहमा हामीले कारबाही गरेका हौं। यसबारे अनुशासन समितिले थप अनुसन्धान गरिरहेको छ।’

एन्फाले खेलाडीहरु रातभर गायब हुनुलाई सामान्य रुपमा लिएको छैन। त्यसैले म्याच फिक्सिङसँग समेत जोडेर यो विषयमा अनुसन्धान गरिरहेको एन्फा उच्च अधिकारीले बताए।

‘त्यसबेला एन्फा अध्यक्ष (कर्माछिरिङ शेर्पा) भुटान गएकाले अनुसन्धानले गति लिएको थिएन। अब उहाँ आएपछि थप अनुसन्धान अघि बढाइएको छ,’ एन्फा उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘खेलको अघिल्लो दिन रातभर खेलाडीहरु गायब हुनुलाई सामान्य रुपमा लिइएको छैन। उनीहरुमाथि म्याच फिक्सिङसँग जोडेर पनि अनुसन्धान सुरु भएको छ।’

स्रोतका अनुसार अनुसन्धानका लागि एन्फाले खेलाडीहरुको मोबाइल समेत जफत गरेको छ। ‘अहिले अनुशासन कमिटीले अनुसन्धान, छलफल गर्दैछ,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘हामीसँग अनुशासनसम्बन्धी कार्यविधि बनेको अवस्था नभएकाले कसरी प्रक्रिया पुर्याएर गर्ने भन्ने सल्लाह हुँदैछ।’ उनले फिफा, एएफसीमा पनि सल्लाह गर्नुपर्ने बताए। अनुशासन कमिटिले म्याच फिक्सिङ वा अन्य के बारेमा अनुसन्धान गर्छ भन्ने कुरा चाहिँ आफूलाई थाहा नभएको उनको भनाइ थियो।

एन्फा अनुशासन कमिटीका उपसंयोजक सुरेश बस्नेतले अनुसन्धान प्रक्रियामै रहेकाले कहिले सकिन्छ भन्न नसकिने बताए।

‘हामीलाई घटना भएपछि एन्फाले अनुसन्धानका लागि पत्र पठाएको थियो,’ बस्नेतले नेपालखबरसँग कुरा गर्दै भने, ‘हामी अहिले छानबिनको प्रक्रियामै छौं। कति समय लाग्छ भन्न सकिँदैन।’

साग खेल्ने अनिश्चित
यसैबीच आगामी मंसिर १५ देखि नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली टोलीमा हरेका विमल, अञ्जन र दिनेशले खेल्ने पनि अनिश्चित बनेको छ।

चार खेलाडीलाई टोलीबाट बर्खास्त गरेको एन्फाले साग खेल्न दिने नदिनेबारे केही निर्णय लिइसकेको छैन। सागका लागि सबै देशका खेलाडीहरु गत बुधबारसम्म नै दर्ता भैसक्नुपर्ने प्रावधान थियो। तर, एन्फाले तीन खेलाडीलाई कारबाही गरेपछि आफूहरुले उनीहरुलाई नै राख्ने हो कि नयाँ लिस्ट पठाउने? भन्नेबारे एन्फालाई सोधेको तर जवाफ नआइसकेको राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले जानकारी दिए।

‘यसअघि नै दिएको लिस्टका खेलाडीहरु कारबाहीमा परेपछि हामीले प्रशिक्षक तथा एन्फालाई नयाँ लिस्ट मागेका थियौं,’ निर्देशक राईले भने, ‘सायद एन्फा अध्यक्ष भर्खरै भुटानबाट आएकाले उहाँहरुले निर्णय लिइसक्नु भएको छैन।’

एन्फाले कारबाही गरेका खेलाडीहरुलाई प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षणमा समेत सामेल गराएका छैनन। उनीहरु चार जनाबिनै नेपाली टोली हाल अभ्यास गरिरहेको छ। यस्तै शुक्रबार बिहान सुरु भएको ओलम्पिक टर्च ¥याली प्रारम्भ गर्ने कार्यक्रममा फुटबल टोलीका अन्य सदस्य तथा प्रशिक्षकहरु पुगे पनि यी खेलाडीहरु भने अनुपस्थित थिए।

साग टोलीमा फर्काउने वा नफर्काउने विषयमा एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आवश्यक निर्णय लिने टोलीका प्रशिक्षक महर्जनले बताए। ‘एन्फाले उनीहरुलाई फर्काएको खण्डमा यही टोली हुन्छ,’ महर्जनले भने, ‘यदि उनीहरु नफर्काउने निर्णय भएको खण्डमा त्यसको सट्टा अरु खेलाडी थप्नु पर्ने हुन्छ।’

‘अहिलेसम्म साग खेल्न पाउने नपाउने भन्ने निर्णय भइसकेको छैन्,’ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले भने, ‘एन्फाले अर्को निर्णय नगरुञ्जेल उनीहरु निलम्बनमै हुन्छन्। त्यस्तो अवस्थानमा साग खेल्न पाउँदैनन।’

एन्फा अध्यक्ष शेर्पाले भने प्रशिक्षकसँग खेलाडी हेरफेरको विषयमा कुनै कुरा नभएको बताए। ‘मैले खेलाडी राख अनि झिक भन्ने कुरा आउँदैन। त्यो राष्ट्रिय खेलकुद परिषद्को टिम तयारी समिति र कोचले गर्ने निर्णय हो,’ एन्फा अध्यक्ष शेर्पाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .