१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद प्रतियोगिता नखेल्ने भएका छन्।
एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता नखेल्ने भएपछि उनी एसियाडमा सहभागी नहुने भएका हुन्।
उनले दुई वर्षअघि घरेलु मैदानमा भएको १३ औं सागमा एकल र टिम काता दुवैमा स्वर्ण पदक जितेका थिए।
यो प्रतियोगितामा मण्डे नेपाल पुलिस क्लबको काता प्रशिक्षकको जिम्मेवारीमा छन्। एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदै छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराँते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि ७ प्रदेश, ३ विभागीय टोलीका २ सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
Shares
प्रतिक्रिया