ad ad

खेल


पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक

पीएनजीविरुद्ध जित निकालेपछि नेपाली क्रिकेट खेलाडी। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत १७, २०७८ बिहिबार १५:५९, काठमाडौँ

टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीमाथि ३७ रनको जित निकालेको छ। 

करण केसीको कीर्तिमानी ह्याट्रिक विकेटसहित घरेलु टोली नेपाल एक खेलअगावै टी२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको हो। 

पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको हो। योसँगै घरेलु टोली एक खेलअगावै उपाधिनजिक पुगेको छ।  

नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। 

पीएनजी भने पहिलो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित १९ दशमलव ४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो। 

नेपालका लागि करण केसी किर्तिमानी ५ विकेट झारे। करणले ह्याट्रिक विकेट लिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। करणले अन्तिम ओभरमा दोस्रो, तेस्रो र चौथो बलमा लगातार ३ विकेट झारे। टि २० आईमा  ५ विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन्। 

कीर्तिमानी विकेट लिने क्रममा टि २० आईमा किर्तिमानी ह्याट्रिक विकेट झारेका हुन्। सोमपाल कामी र अविनाश बोहोराले समान २ विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। 

तीव्र गतिका बलर करण केसीले सुरुवातमा नै पीएनजीको २ विकेट लिदै नेपाललाई सफलता दिलाएका थिए। करणले दुवै ओपनरलाई १ रनमा पवेलियनको बाटो देखाएका थिए। 

पीएनजीका काल्र्स अमिनीले ६२ र टोनी उराले ४३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। अमिनी र उरा दुवैलाई सोमपाल कामीले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

सेसे बाउ २५ र नोर्भान भनुवा १७ रनमा आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरि र आदिल अन्सारीले ७६ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालले पीएनजीसामु विशाल लक्ष्य प्रस्तुत गरेको थियो। 

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको महत्वपुर्ण योगदान दिए। ऐरीले २९ बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १७औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का हाने। 

दीपेन्द्र १८ औँ ओभरको अन्तिम बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे। 

आदिल अन्सारी ३१ रनमा पवेलिन फर्के। डेब्यु खेलमा नै विष्फोटक ब्याटिङ गरेका आदिलले ११ बलमा १ चौका र ३ छक्का हाने। आदिल १९ औँ ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा परे। आदिलले कुशल मल्लको स्थान लिएका हुन्। 

रोहित पौडेलले ४१ रन थपे। रोहित १४ औँ ओभरको दोस्रो बलमा रिले हेकुरेको बलमा सेसे बाउको हातबाट क्याच आउट भए। रोहितले २३ बलमा ४ चौका र २ छक्का हाने। 

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए। 

ओपनर आशिफ शेखले ३८ रन थपे। २९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ नोर्मान भानुवाको बलमा सेसे बाउको हातबाट नै क्याच आउट हुन पुगे। 

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाउँदै पवेलियन फर्के। कुशलले २० बलमा २ चौका हाने। 

पीएनजीका लागि काबुवा मोरिया एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेललमा २९ रन खर्चे। रिले हेकुरेले २ तथा नोर्मान भनुवाले एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .