इन्जुरी समयमा नर्थ म्यासिडोना १–० ले पराजित भएसँगै युरोपियन च्याम्पियन इटाली कतार विश्वकप २०२२ बाट बाहिरियो।
अलेक्जेन्डर ट्राज्कोभ्स्कीले ९२ मिनेटमा डीबक्सबाहिर पाएको सजिलो बललाई थोरै अगाडि बढाएर सनसनीपूर्ण गोल गरे।
उक्त गोलसँगै नर्थ म्यासिडोनाको बेन्चमा उल्लास छाउँदा अर्कातर्फ इटालीका खेलाडी, प्रशिक्षण र अफिसियल भने घरेलु दर्शकका अघि घुँडा टेक्दै थिए।
त्यो इटाली दोस्रोपल्ट लगातार विश्वकपमा छनोट हुन असफल भएको क्षण थियो। त्यसको अर्थ अब अर्को विश्वकप खेल्न इटालीलाई कम्तीमा १२ वर्ष लाग्नेछ।
आठ महिनाअघि मात्रै हो, रोटोर्बो मानसिनीको टोली इटालीले इंग्ल्याण्डलाई उसैको घरेलु मैदानमा स्तब्ध पार्दै प्रतिष्ठित यूरोकप–२०२० को उपाधि जितेको।
तर विश्वकप समूह चरणका आठ खेलमध्ये चारमा मात्रै जित निकाल्न सकेको मूल्य उनीहरुले अहिले चुकाउनुपर्यो। चार खेल बराबरी खेलेपछि इटाली स्विट्जरल्यान्डसँग पछि पर्दै समूह विजेता बन्न सकेन। जसकारण उसले सोझै विश्वकपमा छनोट हुने मौका गुमायो। समूह उपविजेता बन्दै प्ले अफ खेल्न आएको इटालीले बिहीबार नर्थ म्यासिडोनासँग नमिठो हार ब्यहोर्नुपर्यो।
इटाली वरीयतामा पनि ६१ स्थानमाथि थियो। नर्थ म्यासिडोनामाथि बिहीबार इटाली हावी हुने सबैको अनुमान गरिएको थियो। टनेलबाट खेलाडी निस्किँदा र राष्ट्रिय गीत बज्दा माहौल पूर्ण इटालीकै पक्षमा गुन्जायमान थियो।
इटाली बल पोसेसनमा पनि हावी देखियो। तर रक्षात्मक खेल खेलेको म्यासिडोनाको रक्षक इटालीको बाधक बनिरहे। इटालीले गरेका ३२ प्रयासमध्ये ५ मात्रै लक्ष्यमा थिए।

निर्धारित समयमा बराबरीमा रोकेपछि अलेक्जेन्डरले इन्जुरी समयमा डीबक्सबाहिर बल पाए। थोरै अगाडि बल बढाउँदै उनले गरेको प्रहार किनारा हुँदै जाली चुम्यो।
हारसँगै इटालीका भेट्रान सुपरस्टार जर्जियो चिलानी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीचको भीडन्त हेर्ने धेरैको सपना पनि तुहिएको छ। नर्थ म्यासिडोनाले अब प्लेअफको फाइनलमा पोर्चेुगलको सामना गर्नेछ। जित हात पार्ने टोली विश्वकपमा छनोट हुनेछ।
इटालीका लागि यो खेल कति स्तब्ध पार्ने खालको थियो भन्ने कुरा चिलानीले खेलपछि दिएको प्रतिक्रियाबाट पनि पुष्टि हुन्छ।
‘टोलीमा शुन्यता छाएको छ। ठूलो असन्तुष्टि पनि छ,’ चिलानी भन्छन्, ‘पछिल्ला दिनहरुमा हामीले गरेका गल्तीका सजाय भोग्दैछौँ। हामी ध्वस्त भएका छौं।’
Shares

प्रतिक्रिया