ad ad

खेल


विश्वकप छनोट: कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

विश्वकप छनोट: कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:५४,

फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ अन्तर्गतको दोस्रो चरण छनोटको पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० को हार ब्यहोरेको छ।

दशरथ रंगशालाको पुर्ननिर्माण सम्पन्न नभएकाले नेपालले उक्त होम खेल तटस्थ भुमीका रुपमा भुटानमा खेलेको हो। गत सेप्टेम्बरमा पहिलो अवे खेलका रुपमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले मंगलबार सुधारिएको प्रदर्शन गरेको हो।

खेलको २८औं मिनेटमा कुवेतका बदर अल अलमोतवाले निर्णायक गोल गरेका थिए। जितसँगै कुवेतको समूह बीमा १० अंक भएको छ। उ शीर्ष स्थानको अष्ट्रेलिया भन्दा २ अंकले पछि छ। समूहको शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्ने प्रावधान थियो।

सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको पूर्व एसियन च्याम्पियन कुवेतका लागि फैजल अलहार्वीको पासमा अलमोटावाले पोस्टको माथिल्लो भागमा गरेको प्रहारले जाली चुमेको थियो। नेपाली गोलकिपर किरण चेञ्जाङले डाइभ हानेर रोक्ने प्रयास गरेपनि उक्त बल उनीभन्दा टाढा रहेको थियो।

त्यसअघि सुरुवातमै युसुफ नासिरले डीबक्स मध्यबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक किरण चेञ्जोङले विफल बनाइदिएका थिए। २२औं मिनेटमा नेपालका सुजल श्रेष्ठको पासमा अविषेक रिजालले डीबक्स भित्रबाट गरेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो।

पश्चिम एसियन देश कुवेतले त्यसपछि पनि नेपालमाथिको दबाब कायम राख्यो। फैजल अलहार्बी र मोबारक अलफानीले २५ औं मिनेटमा लगातार गरेको प्रहारलाई किरणले रोकेका थिए।

खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालसँग बराबरी गोल फर्काउने सुन्दर मौका थियो। तर कर्नरबाट आएको बललाई रञ्जित धिमालले पोस्टको तल्लो भागबाट गरेको प्रहारमा कुवेती गोलकिपर हामिद युसुफले सुन्दर बचाउ गरे।

दोस्रो हाफमा नेपालले पटक पटक बल विपक्षी डीबक्सभित्र पुर्याएपनि कुवेती रक्षकहरुले नेपाली खेलाडीहरुलाई पोस्टमा प्रहार गर्न भने दिएनन।

६१औं मिनेटमा अलमोटाआवाको शशक्त प्रहार गोलपोस्टको थोरैमाथिबाट जादा नेपाल दोस्रो गोल ब्यहोर्नबाट जोगिएको थियो। ६४औं मिनेटमा रवि पासपानले कुवेती रक्षकलाई पछि छाड्दै पोस्टको तल्लो भागमा गरेको प्रहारलाई पुनः कुवेती गोलरक्षक युसुफले बचाउ गरेका थिए।

७५औं मिनेटमा आलमोटाको पासमा अनमार्क रहेका अल्फानीको भली प्रहार सोझै गोलकिपर किरणको हातमा जादा नेपालले थप गोल ब्यहोर्नु परेन।

योसँगै ५ खेलबाट नेपालको ३ अंक छ। ४ खेल हारेको नेपालले १ खेल जितेको छ। नेपालले यसअघिका अवे खेलमा कुवेतविरुद्ध ७–० को हार, चाईनिज ताईपेईविरुद्ध २–० को जित, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को जित हात पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .