नेपाल सुपर लिग (एनएसएल) को शुक्रबार हुने भनिएको अक्सन रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काटेको छ।
क्लबसँगको सम्झौता नसकिँदै एनएसएलका लागि अक्सन गर्दा समस्या हुने भन्दै ए डिभिजनका ८ क्लबको मागलाई मध्यनजर गर्दै तत्कालका लागि एनएसएल रोक्न आग्रह गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
एन्फाले आज यसै विषयमा छलफल गर्न क्लब र एनएसएल आयोजकसँग छुट्टाछ्ट्टै छलफल गरेको थियो। छलफलका क्रममा दुवै पक्ष यो विषयमा छलफल गरेर अघि बढ्न तयार रहेको महासचिव तुलाधरले बताए। एनएसएल अक्सन नरोकिकन छलफल गर्ने पक्षमा थियो भने क्लबहरु अक्सन रोकेर छलफल गर्ने पक्षमा थिए।
अक्सन रोकेर छलफल गर्दा उपयुक्त देखिने भएकाले आफूहरुले अक्सन रोक्न पत्राचार गरेको महासचिव तुलाधरले बताए।
ए डिभिजनमा सहभागी ८ क्लबले आइतबार र बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै छलफल गर्न क्लब र सम्बन्धित पक्षसँग छलफल गरेको थियो।
ए डिभिजन क्लबमा खेलाडीहरु अनुबन्ध रहेको अवस्थामा अन्य दर्ता नगर्न र नगराउन आग्रह गरेको थियो।
एन्फाले पत्र पठाएपनि अहिलेसम्म आफूहरुले नपाएको नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी निर्देशक सुदीप शर्माले बताए।
उनले भने, 'एन्फाले पत्र काटेको भन्ने बारेमा हामीले बाहिरबाट सुनेका छौँ, अहिलेसम्म पत्र पाएका छैनौँ, पत्र पाएपछि छलफल गरेर के गर्ने भन्ने बारेमा निर्णय गर्नेछौँ।'
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको अयोजनामा हुने एनएसएलमा १० टोली सहभागी हुँदैछन्। शुक्रबार हुने अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडीको नाम दर्ता भएको छ।
एनएसएलमा यो पटक धनगढी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली
झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले स्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया