खेल


आठ वर्षपछि जुरेको विश्वकपको अवसर : के नेपाल छनोट होला?

आठ वर्षपछि जुरेको विश्वकपको अवसर : के नेपाल छनोट होला?

यज्ञराज जोशी
फागुन ६, २०७८ शुक्रबार १०:१, काठमाडौँ

२०१४ मा टी–२० विश्वकप खेलेपछि नेपालमा क्रिकेटको लहर छायो। थुप्रैले क्रिकेट खेल्ने सपना देखे। 

कलिला सन्दीप लामिछानेलाई पनि त्यहीबेला देशका लागि खेल्छु भन्ने लाग्यो। एक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए, ‘म पनि नेपालका लागि क्रिकेट खेल्ने सपना छ।’

पहिलोपल्ट नेपालले विश्वकप खेल्दा राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका सन्दीप त्यसको आठ वर्षपछि राष्ट्रिय टोलीका कप्तान छन् र उनको कप्तानीमा फेरि नेपालसामु विश्वकप खेल्ने अवसर छ। 

‘विश्वकपले त्यसबेला मलगायत कतिजनामा देशका लागि खेल्छु, क्रिकेटबाट योगदान दिन्छु भन्ने उर्जा, जोस लिएर आएको थियो,’ सन्दीप भन्छन्, ‘यसपटक हामीले त्यही सिलसिलालाई अझै अघि बढाउनुपर्नेछ। हामी विश्वकपमा पुग्छौँ र त्यहाँ पुगेर राम्रो गर्छौँ भने त्यसले नेपाली क्रिकेटलाई नै राम्रो गर्नेछ। मैले देखेको जस्तो सपना हजारौंले युवाहरुको देख्न थाल्नेछन्।’ 

आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ यसै वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुँदैछ। त्यसमा प्रवेश पाउन नेपालले शुक्रबारबाट ग्लोबल छनोट खेल्दैछ। छनोटमा प्रतिस्पर्धा गर्ने ८ टोलीमध्ये फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छानिनेछन्। 

आठ टोलीलाई चार–चार गरी समूह ए र समूह बीमा विभाजन गरिएको छ। नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा बेहराइन, जर्मनी, आयरल्याण्ड र यूएई छन। 

एउटा टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। नेपालले शुक्रबार आयोजक ओमान, शनिबार फिलिपिन्स र आइतबार क्यानडाविरुद्ध खेल्नेछ। समूहको शीर्ष दुईमा परेपछि नेपालले सेमिफाइनल खेल्नेछ। सेमिफाइनलबाट अघि बढे नेपालले फाइनल पुग्दै आठ वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। 

पुबुदु दासानायके तिनै प्रशिक्षक हुन्, जसले नेपाललाई २०१४ मा पहिलोपटक विश्वकपमा पुर्याएका थिए। दुई महिनाअघि नेपाल क्रिकेट संघ(क्यान)ले पुबुदुलाई नै पुनः प्रशिक्षकका रुपमा भित्र्याएको छ। उनी विश्वकपमा प्रवेश पाउनु नेपालका लागि महत्वपूर्ण भएको बताउँछन्। 

‘अहिलेको विश्वकपमा प्रवेश पाउनु नै ठूलो काम हो। विश्वकपमा प्रवेश पाउँदा नेपाली क्रिकेटले हरेक क्षेत्रमा बुस्ट पाउँछ,’ पुबुदु भन्छन्, ‘विश्वकपमा पुगेपछि ठूल्ठूला प्रतियोगिताहरु, राम्रो प्रशिक्षणको अवसर मिल्नेछ। त्यसैले विश्वकपमा प्रवेश पाउनु नेपाली क्रिकेटका लागि एकदमै महत्वपूर्ण छ।’

कप्तान सन्दीप लामिछानले यसपल्ट आएको अवसर नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण भएको बुझेका छन्। 

उनी भन्छन्, ‘भविष्यमा ठुल्ठूला लिग, उच्चस्तरका  क्रिकेट खेल्न चाहान्छौँ भने हामीले आउने जति पनि खेलहरु छन्, त्यो जित्न महत्वपूर्ण छ। हाम्रो पहिलो लक्ष्य भनेको एसोसियट क्रिकेटकै एक नम्बरमा रहने हो। कम्तीमा नेपाललाई हराउँदा विपक्षीलाई ठूलो सफलता मिलेको आभास होस्।’

सजिलो छैन विश्वकपमा पुग्न
छनोटका मुख्य दाबेदार टोलीहरु आयरल्यान्ड, ओमान, यूएई र नेपाल हुन्। चार वटै टोलीले मुख्य प्रतियोगिताअघि आयोजनास्थलमा नै चारदेशीय टी–२० क्रिकेट शृखंला खेलेका थिए। जसमा यसपल्ट बलियो मानिएको नेपाली खेलाडीको कमजोर ब्याटिङ प्रदर्शनले चिन्ता थपेको छ। 

ओमानलाई पहिलो खेलमा ६ विकेटले पराजित गरे पनि नेपाल यूएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो। ओमानविरुद्ध पछ्याएको १३६ रनको सामान्य लक्ष्यलाई अन्तिम ३ बल बाँकी रहँदा नेपालले पुरा गरेको थियो। खेलमा दीपेन्द्रसिंह ऐरीले ७३ रनको विजयी इनिङ्स खेलेका थिए।

यस्तै दोस्रो खेलमा यूएईसँग नेपालका बलरहरुले निकै कमजोर प्रदर्शन गरेपछि यूएईले १९२ रन जोड्यो। आठ बलर प्रयोग गरिएको खेलमा सन्दीप लामिछानेबाहेक सबै बलर महंगा साबित भएका थिए।  

आयरल्यान्ड्सविरुद्ध बलरहरुले उत्कृष्ट प्रदर्शन गरे पनि १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १११ रनमै समेटियो। जसले यसपटक बलियो मानिएको नेपाली ब्याटिङको कमजोरीलाई उदांगो बनाइदिएको छ। बलरले नियमित प्रदर्शन गर्न नसक्नु र ब्याटरहरुले क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा नेपालका लागि पुनः विश्वकपमा पुग्नु कठिन देखिएको छ। 

तीन खेलमा नेपालका दीपेन्द्र (१४२) र आसिफ सेख (७१) बाहेक अन्य ब्याट्सम्यान चलेनन्। अनुभवी तथा आशा गरिएका पूर्वकप्ता ज्ञानेन्द्र मल्ल, शरद भेषावकरले मध्यक्रम सम्हाल्न नसक्दा नेपालले सुरुवात पाए पनि त्यसलाई निरन्तरता दिन नसकेको राष्ट्रिय टोलीका छनोटकर्ता दीपेन्द्र चौधरी बताउँछन्।

‘आरिफ, आसिफ र ज्ञानुले सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा कन्भर्ट गर्न सकेनन्।  २०–२५ रन बनाएपछि ५० रन बनाउनुपर्यो। त्यसमा कोचले ध्यान दिनुभएको होला,’ दीपेन्द्र भन्छन्, ‘अहिलेको क्रिकेटमा १६० बनाउनैपर्छ। यो पनि सजिलै पुरा गर्न सकिने स्कोर हो। त्योभन्दा कममा रोकियौँ भने जित्ने चान्स ३० प्रतिशतमा झर्छ।’

तर यी खेलहरु अभ्यास मात्रै भएकाले प्रशिक्षकले कुन खेलाडीलाई कुन पोजिसनमा राख्दा ठिक हुन्छ भन्ने निश्चित गर्न मात्रै खोजेको उनले बताए। त्यसैका आधारमा मंगलबार मात्रै विश्वकप छनोट खेल्ने नेपालको अन्तिम १४ सदस्यीय टोली घोषणा गरिएको छ। 

ओमान पुगेका १७ सदस्यीय टोलीमा कुशल मल्ल, साहब आलम र प्रदीप ऐरीलाई वैकल्पिक खेलाडीमा राख्दै नेपालको अन्तिम १४ सदस्यीय टोली घोषणा भएको हो। ढाडको समस्याका कारण टोलीबाट तीव्र गतिका बलर करण केसी स्वदेश फर्किने भएका छन्। उनको स्थानमा गुल्सन झालाई ओमान पठाइएको छ। 

टी–२० फम्र्याटमा सन्दीपपछि सर्वाधिक विकेट लिने अलराउन्डर करण केसी र अर्का नेपालका स्ट्राइक बलर सोमपाल कामीबिनै यसपल्ट नेपाली टोलीले विश्वकप छनोट खेल्न लागेको हो। 

टोलीका मुख्य छनोटकर्ता चौधरी करणको स्थान अरुले लिन नसके पनि टोलीमा विकल्पहरु भएको विश्वास गर्छन्। 

‘करण जत्तिको नभए पनि टोलीमा अरु विकल्पहरु तयार छन्। विवेक यादव, कमलसिंह ऐरीले पनि घरेलु प्रतियोगितामा बलिङसँगै ब्याटिङ गरिरहेका छन्,’ चौधरी भन्छन्, ‘सन्दीपलाई अरु लेफ्ट आर्म स्पिनरले साथ दिन सकिरहेका छैनन्। टोलीमा रहेका सागर ढकालमाथि प्रशिक्षकले मेहनेत गरिरहेका होलान्।’

प्रशिक्षक पुबुदु दासानायके नतिजा जेसुकै भए पनि चारदेशीय शृंखलाले खेलाडीहरुलाई स्थानीय कन्डिसनमा ढाल्न सघाउ पुगेको बताउँछन्।

‘केही खेलाडीहरु इन्जुरीका कारण तलमाथि भएको छ। उनीहरुको स्थान लिनेले पनि राम्रो गर्दैछन्। ब्याटिङ युनिटले पनि लय समातिरहेको छ। फास्ट बलर र स्पिन डिपार्टमेन्ट एकदमै उत्कृष्ट छ। उनीहरुले योजनालाई राम्रो ढंगले कार्यान्वयन गरिरहेका छन,’ पुबुदुुले भने, ‘चार देशीय शृंखलाको रिजल्ट जे भए पनि हामी हरेक खेलमा राम्रो गरिरहेका छौँ। सबै खेलाडी स्थानीय कन्डिसनसँग घुलमिल भएका छन्। राम्रो क्वालिटी टोलीसँग खेल्न पाएका छन। हामीले सोचेको भन्दा राम्रो तयारी भएको छ।’  

नेपाली टोली 
सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल,  दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सनकुमार झा

नेपालको खेलतालिका
फागुन ६ः विरुद्ध ओमान
फागुन ७ः विरुद्ध फिलिपिन्स
फागुन ९ः विरुद्ध क्यानडा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .