ad ad

खेल


फेरि विश्वकप खेल्ने नेपालको सपनामा यी तीन टोली मुख्य बाधक

फेरि विश्वकप खेल्ने नेपालको सपनामा यी तीन टोली मुख्य बाधक

यज्ञराज जोशी
माघ १७, २०७८ सोमबार २०:२७, काठमाडौँ

आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। 

आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। शीर्ष दुई टोली वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्। 

अघिल्लो वर्ष यूएईमा भएको टी–२० विश्वकपको पहिलो राउन्डबाटै बाहिरिएपछि आयरल्यान्ड र ओमान ग्लोबल छनोट खेल्न आइपुगेका हुन्। नेपाल र यूएईले वरीयताका आधारमा र अन्य टोली क्षेत्रीय छनोटबाट त्यहाँ पुगेका हुन्।

आठ टोलीलाई चार–चार गरी समूह ए र समूह बीमा विभाजन गरिएको छ। नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। 

एउटा टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा आयोजक ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडाविरुद्ध खेल्नेछ। 

दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उक्त सेमिफाइनलबाट फेब्रुअरी २४ मा हुने फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछ। 

चार टोलीको मुख्य दाबेदारी
दुई टोली विश्वकपमा छनोट हुने प्रतियोगितामा आयरल्यान्ड, ओमान, नेपाल र यूएईबीच मुख्य भिडन्त हुनेछ। तथ्यांकमा आयरल्यान्ड सबैभन्दा बलियो टोली हो। 

आयरल्यान्ड टेस्ट राष्ट्र हो। २०१७ मा अफगानिस्तानसँगै आयरल्यान्ड पनि आईसीसीको पूर्ण सदस्य बनेको थियो। टी–२० फम्र्याटमा पनि आयरल्यान्ड सफल टोली हो। उसले २००९ यता सबै ६ वटा टी–२० विश्वकप खेलेको छ। 

ओमानले सन् २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। ओमानले दुईपल्ट टी–२० विश्वकप खेलेको छ। २०१६ र अघिल्लो वर्ष भएको विश्वकपमासमूह चरणबाटै बाहिरिएको ओमान नेपालको अर्को मुख्य प्रतिद्वन्द्वी बन्ने निश्चित छ। 

अर्कोतिर, नेपाल र यूएईबीचको प्रतिस्पर्धा जहिले पनि रोचक भएको छ। यूएई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मुलुक हो। सन् २०१४ मा नेपालसँगै टी–२० विश्वकप खेलेको थियो। त्यसयता उसले पनि पहिलोपल्ट विश्वकप खेल्ने प्रयास गर्नेछ। 

मुख्य प्रशिक्षक पुबुदु दासानायके लिग चरणका तीनवटा खेलहरु नै चुनौतीपूर्ण हुने बताउँछन्। 

‘ओमानले जबर्जस्त क्रिकेट खेलिरहेको छ। उसँग विश्वकपको अनुभव पनि छ। उनीहरुसँग अनुभवी खेलाडी पनि छन्,’ दासानायकेले भने, ‘क्यानडा पनि राम्रो खेलाडी भएको टोली हो। फिलिपिन्सलाई पनि हामीले कमजोर ठान्नुहुँदैन। तर हाम्रा खेलाडीले जुन मेहनत गरेका छन्, त्यो कोहीभन्दा कम छैन।’

अरु टोलीले ग्लोबल छनोटको तयारी गरिरहँदा पछिल्लो महिना नेपाली क्रिकेट भने खेलाडी र क्यानबीचको विवादमा रुमलियो। अनुशासन उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको पद खोसिएको छ। यद्यपि खेलाडीहरु बन्द प्रशिक्षणमा नआएपछि क्यानले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि केन्द्रीय सम्झौतामा नराख्ने निर्णय भने उल्ट्याइएको छ।

यसपल्ट टोलीको नेतृत्व नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेले गर्नेछन। शरद भेषावकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। 

विश्वकपमा स्थान बनाउने अपेक्षा गरिएका यी चारै टोलीबीच प्रतियोगिता ठिकअघि चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला हुँदैछ। उक्त शृंखलाले यी टोलीको अवस्था थप उजागर गर्नेछ। 

मुख्य प्रशिक्षक पुबुदु दासानायके छनोटअघि हुने चारदेशीय शृंखला महत्वपूर्ण हुने बताउँछन। यी टोली नै प्रतियोगिताको उत्कृष्ट टोली भएकाले खेलहरु प्रतिस्पर्धात्मक हुने र त्यसले नेपाललाई फाइदा पुग्ने उनको विश्वास छ। 

‘ग्लोबल छनोटअघिको शृंखलाका खेलहरु निकै प्रतिस्पर्धात्मक हुनेछन्। ती प्रतियोगिताकै उत्कृष्ट टोली हुन्,’ पुबुदुले भने, ‘बलियो टिमविरुद्ध खेल्दै प्रतियोगितामा जाँदैछौं। हामीसँग भएका भिन्न योजनामध्ये उनीहरुसँग कुन बढी किफायती हुन्छ। त्यसको प्रयोग गर्ने फाइदा हुनेछ।’ 

पुबुदु फ्याक्टर
सन् २०११ मा तत्कालीन प्रशिक्षक रोयलुक डायसको स्थानमा पुबुद दासानायके नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। सुरुमा ६ महिनाको मात्रै नियुक्ति पाएका पुबुदुले एकपछि अर्को नतिजा सुधार्दै गएपछि चार वर्ष नेपालमा बिताए।

उक्त अवधिमा नेपालले डिभिजन ४ देखि ३ सम्मको उपाधि जित्नुका साथै सन् २०१४ को टी–२० विश्वकप नै खेल्यो। यसपल्ट क्यानले ७ वर्षपछि पुबुदुको नेपालमा पुनरागमन गराएको छ। 

तत्कालीन कप्तान पारस खड्का पुबुदु फेरि आउनु भनेको नेपालका लागि आगामी प्रतियोगितामा राम्रो गर्ने अवसर भएको बताउँछन्। 

‘जहाँ गए पनि उहाँले आफूले आफूलाई प्रमाणित गरिसक्नुभएको छ। यहाँ फेरि आउनु भनेको नेपालका लागि आगामी प्रतियोगितामा राम्रो गर्ने अवसर हो,’ पारस भन्छन्, ‘उहाँलाई के के चाहिन्छ, त्यो उपलब्ध गराइदिनुपर्छ। त्यसो भयो भने उहाँसँग काम गरेको पूर्वक्रिकेटरका नाताले यसपटक पनि राम्रै नतिजा आउला भन्ने आशा छ।’ 

प्रशिक्षक दासानायकेले नेपाललाई विश्वकपमा पुर्याउन अधिकतम् प्रयास गरिरहेको बताए। 

‘अहिले हाम्रा लागि विश्वकपमा पुग्नु सबैभन्दा ठूलो कुरा हो। यसले नेपाली क्रिकेटलाई नै प्रोत्साहित गर्नेछ,’ दासानायकेले भने, ‘प्रतियोगिता कठिन हुनेछ। तर तयारी र योजनाका आधारमा हामी विश्वकपमा पुग्नेमा विश्वस्त छु।’ 

नेपाललाई २०१४ मा नेपाललाई विश्वकपमा पुर्याउन शरद भेषावकरको भूमिका महत्वपूर्ण थियो। केन्या, हङकङ र यूएईविरुद्ध अन्तिम ओभरमा उनले लगातार विजयी रन जुटाउँदै नेपाललाई जित दिलाएपछि ‘फिनिसर’का रुपमा शरदको परिचय स्थापित भएको थियो। 

टोलीमा रहेका सिनियर सदस्यमध्येका एक शरद यसपल्ट टोलीमा निडर युवा खेलाडीहरु रहेकाले ब्याटिङमा समस्या नहुने बताउँछन्। 

‘युवा खेलाडीहरु आएका छन्। उनीहरुले डररहित क्रिकेट खेलिरहेका छन्,’ उनी भन्छन्, ‘यसअघि नेपाली क्रिकेटमा यो ट्रेन्ड देखिँदैनथ्यो। अहिले ठूलो परिवर्तन देखिएको छ। यसले आउने प्रतियोगिताका नेपाली ब्याट्सम्यानबाट रनको खडेरी नदेखिने विश्वास गर्न सकिन्छ।’

शरदले भनेजस्तै दुई साताअघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा लोकेश र विवेकसँगै दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ सेखलगायत युवा खेलाडीले लगातार रन बनाइरहेका छन्। यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरदले उनीहरुलाई साथ दिनेछन्। 

नेपाली टोली 
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .