ad ad

खेल


तालिबानले बाबुको हत्या गरेपछि अफगानिस्तान छाडेकी नादिया : चर्चित फुटबलरदेखि डाक्टरसम्म

तालिबानले बाबुको हत्या गरेपछि अफगानिस्तान छाडेकी नादिया : चर्चित फुटबलरदेखि डाक्टरसम्म

नेपालखबर
माघ ३, २०७८ सोमबार १७:२, काठमाडौँ

नादिया नादिम एक ३४ वर्षीया फुटबल खेलाडी हुन्। उनी डेनमार्कका लागि फुटबल खेल्छिन्। 

यही हप्ता नादिया डाक्टर बन्न सफल भएकी छिन्। फुटबलसँगै ५ वर्षको लगातारको अध्ययनपछि उनले यस्तो सफलता पाएकी हुन्। 

११ भाषा जानेकी नादियाले पीएसजी र म्यानचेस्टर सिटीजस्ता चर्चित क्लबको प्रतिनिधित्व त गरिन् नै, डेनमार्कका लागि ९९ पटक खेलेकी छिन्। उनले हालसम्म २ सय गोल गरिसकेकी छिन्। 

उनी सामान्य एउटा फुटबल खेलाडी मात्रै होइनन्। नादिमको वियोग र विजयको कथा धेरैका लागि प्रेरणा बन्छ। 

आज नादिम धेरै अभिप्रेरक फुटबल खेलाडीमध्ये गनिन्छिन्। खासगरी सन् २०२०–२०२१ सिजनमा पेरिस सेन्ट जर्मनबाट फ्रेन्च लिग टाइटल जितेपछि उनको लोकप्रियता ह्वात्तै बढ्यो। 

तर उनको बाल्यकाल भने पीडैपीडासँग जकडिएको छ। 

नादि सन् १९८८ जनवरी २ मा अफगानिस्तानको हेरातमा जन्मिएकी थिइन्। उनी ११ वर्षको हुँदा तालिबानले बुबाको हत्या गरिदिएका थिए। उनका बुबा अफगान सेनाका जनरल थिए। 

आमा र चार दिदीबहिनीसँगै उनले नक्कली पासपोर्ट बनाएर अफगानिस्तानबाट पाकिस्तान गएकी थिइन्। जहाँबाट उनीहरुले युरोपको यात्रा तय गरे। 

आफ्नो वेबसाइटमा उनले उल्लेख गरेअनुसार नक्कली पासपोर्टकै सहारामा उनी र उनको परिवार पाकिस्तानबाट इटाली पुगेको थियो। त्यसपछि उनीहरु एउटा ट्रकमा बसे। त्यहाँबाट उनीहरु लण्डन पुग्ने आशामा थिए। तर पुगेनन्। बरु उनीहरुलाई ट्रकले लगेर डेनमार्कमै छाडिदियो। 

पछि डेनमार्क नै उनको घर भयो। त्यसपछि सुरु भएको थियो उनको खेल करिअर। बी५२ आलबोर्ग क्लबबाट फुटबल सुरु गरिन्। 

सन् २००९ मा नादियाले डेनिस राष्ट्रिय टोलीमा डेब्यु गर्दै अल्गार्भे कप खेलिन्। त्यसयता उनी राम्रो गोल स्कोरर त बनिन् नै आफ्नो टोलीलाई धेरै जितका लागि योगदान गरिन्। सन् २०१७ को युरोपेली च्याम्पियनशिपमा उनले गरेको आकर्षक गोल उनको चम्किँदो करिअरको उज्यालो थियो। 

तर यो सबैबीच नादियाले डक्टरी अध्ययन पनि गरिरहेकी थिइन्। उनी आरस युनिभर्सिटीका एक मेडिकल विद्यार्थी समेत हुन्। फुटबल करिअर सकिएसँगै सर्जन डाक्टर बन्ने सपना बुनिरहेकी थिइन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .