ad ad

खेल


घरेलु लिगमा दर्शकको लोभलाग्दो उपस्थिति

घरेलु लिगमा दर्शकको लोभलाग्दो उपस्थिति

लक्ष्मी जि.सी
पुस १३, २०७८ मंगलबार ७:१५, काठमाडौँ

ए डिभिजन लिगको पछिल्लो संस्करण र यसपालिको दर्शकको उपस्थिति हेर्ने हो भने आकाश जमिनको अन्तर छ। दुई वर्ष अघिको लिगमा दर्शक कम भएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरस्कारको अफर नै राख्नु परेको थियो।

त्यो अफरले पनि दर्शकलाई तान्न सकेन। दर्शकको अनुपस्थितिले लिग नै खल्लो जस्तै भएको थियो।

यसपटक भने विना कुनै अफर उल्लेख्य संख्यामा दर्शकहरु दशरथ रंगशाला पुगिरहेका छन्। लिगका शीर्ष टोली मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच शनिबार भएको खेलमा झण्डै १० हजार दर्शक रंगशाला पुगेर हेरेका थिए। त्यसैले पनि दर्शक तान्न अफर होइन, खेल राम्रो चाहिन्छ भनेर भन्न सकिन्छ।

सोमबार छैटौं चरणको समाप्तिसम्म ४२ खेल भइसकेको छ। एन्फाले उपलब्ध गराएकै तथ्याङ्कलाई हेर्ने हो भने पनि झण्डै एक लाख दर्शकले रंगशाला पुगेर खेल हेरिसकेका छन्।  औसतमा हरेक खेल झण्डै २ हजार दर्शकले रंगशाला पुगेर हेर्दै आएका छन्। विगतमा भन्दा आयोजनामा गरिएको केही परिवर्तनले दर्शकको उपस्थिति भएको देखिन्छ।

लिग निर्देशक सञ्जीव मिश्र एन्फाले अपेक्षा गरेअनुरुपकै दर्शक आउने गरेको बताउँछन्।

‘पहिलोपटक फ्लड लाइटमा खेलायौँ। अफिस सकेर फुटबल हेर्ने चाहनेले हेर्न सकुन् भन्ने उद्देश्यले ढिला खेल गरेका हौं, उनले भने, ‘विगतमा भन्दा टिकट दर सस्तो गरेका छौं। हामीले अपेक्षा गरेजस्तै दर्शकको उपस्थिति रहेको छ।’

साधारण प्याराफिटतर्फ एन्फाले यसपटक एक सय रुपैयाँको टिकट दर तोकेको छ।  

अझै बढी दर्शक आउने अवस्था बन्ने सक्नेमा मिश्र आशावादी छन्। लिग आयोजनाको प्रणालीमा सुधार गर्दै जाने हो भने अझै दर्शक मैदानसम्म पुग्छन् भन्ने लाग्छ मलाई,’ डेढ दशकदेखि लिग आयोजनाको विभिन्न जिम्मेवारीमा रहँदै आएका मिश्रले थपे, प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुँदा दर्शक मैदानमै पुगेर हेर्न रुचाउँछन् भन्ने यसपटकको उपस्थितिले फेरि एकपटक प्रमाणित गरेको छ।’

विगतमा लगातार लिग हुँदा खेलाडीलाई रिकभरी टाइम नपुग्ने, टोलीहरुले तयारी गर्न समय नपुग्ने भन्दै एन्फाको आलोचना हुने गरेको थियो। यसपटक शुक्रबारदेखि सोमबार मात्र खेल आयोजना हुँदै आएको छ। हप्तामा एउटा मात्र खेल खेल्नु पर्ने भएकाले खेलाडीले रिकभरी र टोलीहरुले तयारीका लागि पर्याप्त समय पाएका छन्।

जसले हरेक खेल प्रतिस्पर्धात्मक हुन मद्दत गरेको धेरैको विश्वास छ।

हजारौं दर्शकबीच मछिन्द्रविरुद्ध खेलेका मनाङका फरवार्ड अन्जन विष्ट दर्शकका अगाडि खेल्न छुट्टै मज्जा आउने बताउँछन्। ‘धेरै समर्थकका अगाडि खेल्दा माहोल नै बेग्लै हुन्छ। दर्शक हुँदा खेलमा खेलमा रोमाञ्चकता र हामीलाई पनि ऊर्जा मिल्छ,’ उनले भने ।

संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङ सप्ताहान्तको अवधारणा र टिकट रकम घटाएकै कारण दर्शक रंगशाला पुगेको बताउँछन्। दर्शकले खेलको उत्साहलाई बढाउने उनको अनुभव छ। ‘दर्शक हुँदा इनर्जी वुस्टरको काम गर्छन्’, उनले भने, ‘मैदानसम्म आएर सर्पोट गर्दा सबैको हौसला बढ्छ।’

फुटबल विकासमा समर्थकको भूमिका महत्वपूर्ण हुने बताउँदै गुरुङ भन्छन्, ‘दर्शकको उपस्थिति बढाउन समर्थक र खेलाडी/क्लबबीच अन्तक्र्रिया गर्न सके झनै राम्रो।’

देशको फुटबलको मेरुदण्डकै रुपमा रहेको लिगलाई दर्शकले नजिकबाट नियालिरहेको यसपटकको उपस्थितिले प्रमाणित गरेको छ। नयाँ दर्शकलाई तान्न र पुराना दर्शकको निरन्तरताका लागि एन्फा, क्लब, खेलाडी र अन्य सम्बन्धित सबैको भूमिका उत्तिकै जरुरी हुन्छ। 


लिगमा दर्शकको उपस्थिति र नतिजा 

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०) १५००
२. शेर्पाविरुद्ध संकटा (१–१) १०००
३. च्यासलविरुद्ध थ्री स्टार (०–३) ३०००
४. बीबीसीविरुद्ध एपीएफ (३–२)
५. जावलाखेलविरुद्ध मनाङ (०–१) १५००
६. आर्मीविरुद्ध पुलिस (१–१) २२००
७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१) ३०००
८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०) १५००
९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१) १०००
१०. च्यासलविरुद्ध एपीएफ (१–०) २५००
११. शेर्पाविरुद्ध मनाङ (०–१) ३०००
१२. जावलाखेलविरुद्ध पुलिस (०–१) ९९०
१३.बीबीसीविरुद्ध एनआरटी (०–०) ९९५
१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०) ४०००
१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१) १५००
१६. सातदोबाटोविरुद्ध एपिएफ (४–१) १७००
१७. संकटाविरुद्ध मनाङ (२–२) ३०००
१८. एनआरटीविरुद्ध च्यासल (१–१) ४०००
१९. आर्मीविरुद्ध बीबीसी (१–०) २०००
२०. शेर्पाविरुद्ध पुलिस (१–०) ८९०
२१. जावलाखेलविरुद्ध मछिन्द्र (०–२) २५००
२२. मनाङविरुद्ध फ्रेन्ड्स (२–०) ९००
२३. च्यासलविरुद्ध आर्मी (०–२) ३५००
२४. सातदोबाटोविरुद्ध एनआरटी (०–१) २०००
२५. शेर्पाविरुद्ध मछिन्द्र (०–३) ४०००
२६. थ्री स्टारविरुद्ध एपिएफ (०–०) २०००
२७. संकटाविरुद्ध पुलिस (१–०) १०००
२८. जावलाखेलविरुद्ध बीबीसी (०–०) १००५
२९. सातदोबाटोविरुद्ध आर्मी (१–१) २५००
३०. संकटाविरुद्ध मछिन्द्र (०–०) ३०००
३१. च्यासलविरुद्ध जावलाखेल (०–०) १५००
३२. मनाङविरुद्ध पुलिस (३–१) ३०००
३३. थ्री स्टारविरुद्ध एनआरटी (०–०) ३०००
३४. शेर्पाविरुद्ध बीबीसी (३–०) ५००
३५. फ्रेन्ड्सविरुद्ध एपिएफ (१–३) ६००
३६. एपीएफविरुद्ध एनआरटी (३–३) १५००
३७. पुलिसविरुद्ध फ्रेन्ड्स (०–०) १०५०
३८. शेर्पाविरुद्ध च्यासल (३–१) २२००
३९. मनाङविरुद्ध मछिन्द्र (०–१) १००००  
४०. थ्रीस्टारविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लव (०–०) ३७००
४१. संकटाविरुद्ध बीबीसी (३–०) ५५०  
४२. सातदोबाटोविरुद्ध जावलाखेल (०–२) ३००

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .