ad ad

खेल


कप्तानले शक्तिको दुरुपयोग गरेर खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर गराएको प्रमाण छः मल्ल (अन्तर्वार्ता)

कप्तानले शक्तिको दुरुपयोग गरेर खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर गराएको प्रमाण छः मल्ल (अन्तर्वार्ता)

छानबिन समितिका संयोजक प्रशान्त विक्रम मल्ल


यज्ञराज जोशी
मंसिर २६, २०७८ आइतबार १५:२७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले गठन गरेको खेलाडी अनुशासन छानबिन समितिले बोर्ड बैठकलाई कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाहीको सिफारिस गर्ने भएको छ। कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो। उक्त समितिले छानविनपश्चात प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरिएको छ। एक–दुई दिनमा बस्ने बोर्ड बैठकले उक्त प्रतिवेदनको अध्ययन गर्दै कारबाही प्रक्रिया अघि बढाउँनेछ। 

छानबिन समितिका संयोजक प्रशान्त विक्रम मल्लले कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो शक्ति र पदको दुरुपयोग गर्दै क्यानविरुद्ध गुटबन्दी गराएको प्रमाण आफूहरूसँग सुरक्षित भएको बताएका छन्। उनीसँग नेपालखबरले गरेको वार्ता– 

खेलाडीहरूले अनुशासन तोडे भन्ने नै तपाईंको समितिको निष्कर्ष हो?
मिडियामा गएर तोड्नु एउटा पाटो थियो। मिडियामा गएर बोल्नुलाई हामीले त्यति ठूलो इस्युका रुपमा नलिईकन एउटा साधारण स्पष्टिकरण सोधेका थियौँ। तर उहाँहरूमा हामीलाई किन स्पष्टीकरण सोधियो भन्ने दम्भ देखियो। क्यानलाई उल्टै आरोप लगाउने, खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर गराएर क्यानलाई धम्की दिने, अल्टिमेटम दिने, संसारमै नभएको काम उहाँहरूले कसको बुद्धिमा लागेर गर्नुभयो। हामी क्यान पनि उहाँहरूको रवैया देखेर छक्क छौँ। 

खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर गराइएको प्रमाण छ कि उत्तिकै आरोप हो?

मूल संस्थाप्रति कुनै जिम्मेवारी, माया, ममता कुनै बोध नै छैन उहाँहरूमा। उल्टै धम्की दिने खेलाडीलाई गुटबन्दी गर्ने, खेलाडीलाई जबर्जस्ती हस्ताक्षर गर्ने गरेको पाइयो। खेलाडीहरूलाई जबर्जस्ती हस्ताक्षर नै गराएका हुन्। त्यसको हामीसँग प्रमाण छ। प्रमाणविना हामी अगाडि बढ्दैनौँ। कप्तान(ज्ञानेन्द्र मल्ल)ले आफ्नो शक्तिको दुरुपयोग गरेर जर्बजस्ती हस्ताक्षर गराएको हामीसँग प्रमाण छ। 

तपाईंहरूले तयार पारेको प्रतिवेदनमा खेलाडीहरूमाथि कारबाही हुनुपर्ने निष्कर्ष निकाल्नुभएको छ। अब प्रक्रिया कसरी अघि बढ्छ?
हाम्रो समितिलाई दिइएको जिम्मेवारीअनुसार हामीले प्रतिवेदन तयार गरेका छौँ। प्रतिवेदन आज साँझ बुझाउँछौँ। त्यसपछि क्यानको बोर्ड बैठक बसेर छलफलपछि अगाडि के हुन्छ टुंग्गो लाग्छ। 

केसम्म कारबाही औँल्याउनुभएको छ?
जतिसम्मको उहाँले अपराध गर्नुभएको छ। त्योसम्मको कारबाही हुन्छ। कारबाहीको निर्णय बोर्डले गर्छ। अनुशासन कमिटिले बोर्डलाई प्रतिवेदन बुझाउँछ। त्यहाँ जे जति उहाँले गर्नुभएको अनुशासनहीनताको काम छ। त्योअनुसार कारबाही हुन्छ। विधानमा यो अनुशासन उल्लंघन गरेमा यो कारबाही हुन्छ भन्ने केही उल्लेख हुँदैन। बोर्डले निर्णय लिने हो त्यसैका आधारमा कारबाही अघि बढ्छ। 

अन्तर्राष्ट्रिय अभ्यासहरू पनि हेर्दा केसम्म कारबाही हुनसक्छ?
अन्तर्राष्ट्रिय अभ्यासहरू त तपाईंहरूले पनि हेर्नुभएकै होला नि के–केसम्म कारबाही हुनसक्छ। हदैसम्मको कारबाही हुन्छ। अहिले मेरो मुखबाट भन्न नलगाउनुस। जे–जे देखियो, जे–जे भोगियो, जे–जे घटनाक्रम भयो सबै कुरा स्पष्ट राखिदिएका छौँ।  

खेलाडीहरू मैदानभित्रको खेलबाहेक मैदानबाहिरको खेलमा अल्झिनु विसंगति देखियो भन्ने निष्कर्ष हो?
क्यानले उहाँहरूको भलाइका लागि हरेक कुरा माग पूरा गरेको छ। केन्द्रीय सम्झौता दोब्बर गरिएको छ। म्याच फि दिन थालेका छौँ। कोरोना महामारीका बेला पनि काठमाडौंमा अन्तर्राष्ट्रियसहित राष्ट्रिय टुर्नामेन्टहरू गरिराखेकै छौँ। उहाँहरूले होटललगायतमा पाउने सुविधामा पनि तीन गुणा अपग्रेड गरेका छौँ भनेपछि आखिर उहाँको असन्तुष्टि र चित्त दुःखाइ के त? एउटा प्लेयरले वर्षभरि प्रतियोगिता नै खेलेको छैन। उहाँलाई बी ग्रेडमा पार्यो भनेर के गर्न खोज्या हो त? स्पष्टै क्यानमाथि आक्रमण गर्न खोजिएको हो। क्यानले आफ्नो हिसाबले गर्छ।  

दोस्रोपटक स्पष्टीकरण सोध्नुको उद्देश्यबाटै तपाईंहरू कारबाहीतर्फ उद्धृत हुनुहुन्छ भन्ने झल्किन्थ्यो होइन र?
दोस्रोचोटि स्पष्टीकरण पठाउनु भन्नुको मतलब हामीले उहाँलाई आफ्नो गल्ती सच्याउने मौका दिएको हो। हामीले सदाशयता देखाएका हौँ। उल्टै क्यानलाई गम्भीर आरोप लगाए। केही रियलाइजेसन हुन्छ कि आफूहरू सच्चिनुहुन्छ कि भन्दा उहाँहरू उल्टै कडाकडा शब्दहरू क्यानप्रति प्रहार भए। 

क्यानलाई बाइपास गर्दै खेलाडीहरू राष्ट्रिय खेलकुद परिषद् (राखेप) गएकोमा पनि क्यानको चित्त दुःखाइ हो?
उहाँहरूले खेलाडीहरूलाई फोर्सफुल्ली राखेप लिएर जानुभयो। क्यानलाई कुनै जानकारी छैन। खेलाडीको हकहितका लागि जानुपर्ने भए मुल संस्था क्यान नै राखेप, मन्त्रालय जान्छ नि! अभिभावक संस्थालाई बाइपास गर्दै खेलाडीहरू राखेप जानु भनेको के हो? यत्रो धेरै राष्ट्रिय खेलाडी लाइन लागेर राखेप गएका छन्। त्यो कम्तीमा क्यानलाई त जानकारी हुनुपर्यो। कोबाट मोटिभेटेड, कसले लगेको थियो? 

खेलाडीहरूले ११ बुँदेमा माग राखेका थिए। ती मागहरू पूरा गर्नु पनि क्यानको दायित्व होइन?
११ बुँदेमा केही पनि छैन। हामीले बोलाएर छलफल पनि गरेका हौँ। उहाँहरू सबै कुरामा सन्तुष्ट हुनुहुन्थ्यो। त्यही एउटा ग्रेडिङमा उहाँहरूको रोइलो थियो। सुधार्नैपर्छ, फेरि चेन्ज हुनुपर्छ, चेन्ज हुनुपर्छ भन्ने। हामीले मापदण्ड पनि सबै उहाँहरूलाई देखाइदियौँ। त्यही पनि उहाँहरू ढिपी गरिरहनुभएको थियो। उहाँहरूले सुधार खोजेको होइन। क्यानलाई सधैँ तल पार्ने, आफ्नो सुप्रिमेसी खोजेका हुन्। जुन विगत वर्ष बानी पर्दै आएको छ। 

खेलाडीहरूमाथि कारबाही भयो र उनीहरूले राष्ट्रिय टोली नै छोडे त्यसको परिणाम के हुन्छ?
निहुँ खोजे के हुन्छ? नेपालमा खेलाडी १०–१२ जनामात्रै हो त? जो निहुँ खोज्छ त्यो आफू सकिन्छ। खेलाडीको काम खेल्ने हो। इमानदारिताका साथ खेल्ने हो। क्यानको काम खेलाउने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .