नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ।
कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको हो। बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरेको हो। थाइल्यान्ड भ्रमणको दौरान गरेको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
छनोट गरिएका अन्य खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने छ।
संघले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीलाई थाइल्यान्डमा १९ दिन प्रशिक्षणका लागि पठाएको थियो। रासस

प्रतिक्रिया