कतारमा हुने फिफा विश्वकप २०२२ मा इटाली र पोर्चुगलमध्ये एक टोलीले मात्र स्थान बनाउन सक्ने भएको छ। विश्वकप छनोटअन्तर्गत युरोपेली छनोटमा प्रत्यक्ष रुपमा छानिन नसकेका यी दुई टोली प्लेअफको छनोटमा एउटै समूहमा परेका हुन्।
छनोटको समूह सीमा परेका यी दुई टोलीमध्ये एउटाले मात्र विश्वकपका लागि स्थान बनाउन सक्नेछ।
विश्वकप छनोटका लागि आगामी मार्चमा हुने प्लेअफको सेमिफाइनलमा इटालीले नर्थ म्यासिडोनियासँग खेल्नेछ भने पोर्चुगलले टर्कीसँग खेल्नेछ। यी दुई खेलका विजेताबीच हुने खेलले विश्वकपका लागि छानिने टोलीको निधो गर्नेछ।
चारपटकको विश्वकप विजेता टोली सन् २०१८ मा भएको विश्वकपमा पनि छनोट हुन सकेको थिएन। इटालीका प्रशिक्षक रोबर्टो मान्छिनीले आफूहरुले प्ले अफमा पोर्चुगल नपरोस् भन्ने चाहेको बताए।
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको लागि आफ्नो मुलुकलाई विश्वकप जिताउने यो अन्तिम मौकाको रुपमा हेरिएको छ। कतार विश्वकप सुरु हुँदासम्म उनी ३७ वर्षका हुनेछन्। पोर्चुगला प्रशिक्षक फर्नान्डो सान्तोसले अहिले महत्वपूर्ण कुरा इटालीको बारेमा भन्दा पनि टर्कीसँगको खेलबारे सोच्नु रहेको बताएका छन्।
Shares

प्रतिक्रिया