कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो खेलमा कीर्तिमानी जित दर्ता गरेको छ।
आइसीसी टि–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले कतारसँग ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ दशमलव ५ ओभरमा २७ रन जोड्दा अलआउट भयो। कमजाेर प्रदर्शन गरेको कतारका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कतारलाई सस्तैमा रोक्न कप्तान रुविना क्षेत्री एक्लैले ३ विकेट लिइन्। कसिलो बलिङ गरेकी रुविनाले १ ओभर ५ बलमा १ रन मात्र दिइन्।
कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिए। कविताले २ ओभरमा ६ र सीताले २ ओभरमा १ मेडन राख्दै २ विकेट लिए। २ ओभर बलिङ गरेकी करुणा भण्डारीले १ मेडन राख्दै एक विकेट झारिन्।
नेपालका लागि कविता कुँवरले पहिलो ओभरमा नै २ विकेट लिदै सफलता दिलाएकी थिइन्। कविताले पहिलो ओभरको दोस्रो बलमा कप्तान आयशा र तेस्रो बलमा साँची ढाडवाललाई एलबीडब्लु धरापमा पार्दै पवेलियनको बाटो देखाएकी थिइन्।
सीताले चौथो ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट झारेकी थिइन्।
त्यसअघि दोहाको वेष्ट इण्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेकी इन्दुले सर्वाधिक ५५ रनको योगदान दिइन्। ४७ बलमा ५ चौका मद्दतमा ५५ रन जोडेकी इन्दु रिटायर्ड हर्ट हुँदै पवेलियन फर्किइन्।
दोस्रो विकेटका लागि ओपनर सीता राना मगर र इन्दु वर्माले ८८ रनको कीर्तिमानी साझेदारी गरे। यो महिला टि–२० आई खेलमा बनेको उच्च साझेदारी हो। यसअघि इन्दु र सीताले नै दोस्रो विकेटका लागि गरेको ७० रनको साझेदारी गरेका थिए।
सीताले ३९ रन थपिन्। ३३ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। सरिता मगर २१ रन बनाउँदा रन आउट भइन्। डेब्यु म्याचमा कविता जोशी ८ रनमा नटआउट रहिन्।
नेपालले ओपनर काजल श्रेष्ठलाई ३ रनमा नै गुमाएको थियो। कप्तान रुविना क्षेत्री शुन्य रनमा नै रन आउट भइन्। अप्सरी वेगम शुन्य रनमा नटआउट रहिन्।
कतारका लागि एन्जेलिन मेर र सविजा पनायामले एक एक विकेट लिए।
इन्दुको अर्धशतक
ब्याटर इन्दु वर्माले टि–२० आइईमा किर्तिमानी प्रदर्शन गरेकी छिन्। कतारविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै उनले टि–२० आईमा पहिलो अर्धशतक प्रहार गर्दै यो कीर्तिमान बनाएकी हुन्।
इन्दुले ४५ बलमा ४ चौका मद्दतमा अर्धशतक पुरा गरेकी थिइन्। यसअघि सन् २०१९ मा भएको टि–२० आई मा सीता राना मगरले ईन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्।
कविता र संगीताको डेब्यु
अलराउण्डर कविता जोसीले कतारसँगको टि–२० आई सिरिजबाट राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेकी छन्। पहिलो पटक राष्ट्रिय टोलीमा परेकी कविताले कतारसँगको सिरिजबाट डेब्यु गरेकी हुन्। कतारसँगको सिरिजबाट नै संगीता राईले पनि टि–२० आई मा डेब्यु गरेकी छन्।
Shares

प्रतिक्रिया